
गोरखाको मनास्लु क्षेत्रमा लगातार वर्षा र भारी हिमपात भएपछि केही आरोही आरोहण नगरी फर्किन थालेका छन्। दुई सातासम्म मौसममा सुधार नआएपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। मनास्लु क्षेत्रमा करिब पाँच फिटसम्म हिमपात भएको छ भने बेस क्याम्पमा तीन फिट र क्याम्प–१, २ र ३ क्षेत्रमा सातदेखि आठ फिटसम्म हिउँ जमेको स्थानीय व्यवसायीले बताएका छन्। मौसम प्रतिकूल भएपछि हालसम्म करिब १० प्रतिशत आरोही फर्किएको बताइएको छ। यस याममा आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि करिब पाँच सय जनाले अनुमति लिएका छन्।

काठमाडौं । चर्चित नायक पल शाह र गायक तथा मोडल रेशम नेप्किङको आकर्षक अभिनय रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ यही शुक्रबार सार्वजनिक हुने भएको छ। भिडियोमा नायक पल शाह र गायक तथा मोडल रेशम नेप्किङसँगै नायिका प्रमिता राजघताने र करुणा तामाङको समेत अभिनय रहेको छ। पल शाह र रेशम नेप्किङको अभिनय तथा प्रस्तुतिलाई लिएर भिडियो सार्वजनिक हुनुअघि नै दर्शकहरूमाझ उत्सुकता बढेको छ। ‘पान मिठो कलकत्ताको’ मा गायक रेशम नेप्किङ र गायिका शान्तारानी परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत सङ्गम पौडेलको रहेको छ भने भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन्। भिडियोको सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्मा, ध्वनि संयोजन एचबीएन किस्मत र पोशाक डिजाइन भ्यालेन्टियोको रहेको छ। नायक पल शाह र गायक तथा मोडल रेशम नेप्किङको अभिनय, आकर्षक प्रस्तुति तथा सुमधुर गीत–संगीतले सजिएको ‘पान मिठो कलकत्ताको’ यही शुक्रबार दर्शक तथा श्रोतामाझ सार्वजनिक हुँदैछ। सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई भिडियो हेरेर माया, साथ र प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गरिएको छ।

आज २०८३ असोज २ गते शुक्रबार चन्द्रमा वृश्चिक राशिमा र ज्येष्ठा नक्षत्रमा रहेको छ। आज जन्म लिने बालबालिकाको राशि वृश्चिक रहनेछ। नेपालमा आज सूर्य उदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ। मेष: काममा उत्साह र आत्मविश्वास बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापार र आर्थिक क्षेत्रमा लाभको सम्भावना छ। परिवारमा खुसीको वातावरण रहनेछ भने प्रेम सम्बन्ध सुखद बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। वृष: मेहनतको उचित मूल्यांकन हुनेछ। व्यापारमा कारोबार बढ्ने र आर्थिक लाभ हुने सम्भावना छ। रोकिएको रकम प्राप्त हुन सक्छ। परिवार तथा प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। ठूलो आर्थिक निर्णय गर्दा व्यवहारिक पक्षलाई ध्यान दिनुहोस्। मिथुन: संवाद र निर्णय क्षमता बलियो हुनेछ। छलफल, भेटघाट तथा सम्झौतासँग सम्बन्धित काम सफल हुन सक्छ। नयाँ सम्पर्कबाट भविष्यमा लाभ मिल्नेछ। परिवार र प्रेम सम्बन्धमा सकारात्मक वातावरण रहनेछ। कर्कट: परिवार र भावनात्मक विषयमा ध्यान जानेछ। घरमा महत्त्वपूर्ण छलफल हुन सक्छ। घरायसी खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोस्। पर्याप्त निद्रा र आराम आवश्यक छ। सिंह: नेतृत्व क्षमता र आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा क्षमता देखाउने अवसर मिल्नेछ। वरिष्ठबाट प्रशंसा वा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ। कन्या: योजनाबद्ध कामले राम्रो परिणाम दिनेछ। हिसाबकिताब, कागजी काम र अध्ययनमा सफलता मिल्नेछ। व्यापार विस्तार तथा बचत बढाउने अवसर प्राप्त हुन सक्छ। कामको चापबीच आरामका लागि समय निकाल्नुहोस्। तुला: सम्बन्ध, सहकार्य र सामाजिक सम्पर्कबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। व्यापारमा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। परिवार र प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। वृश्चिक: साहस र दृढता बढ्नेछ। कठिन जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ योजना बनाउन सकिने भए पनि जोखिमको मूल्यांकन आवश्यक छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् र विवादबाट जोगिनुहोस्। धनु: ज्ञान र अनुभवलाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ। अध्ययन, तालिम तथा नयाँ सीपमा प्रगति हुनेछ। अनुभवी व्यक्तिको मार्गदर्शन उपयोगी बन्नेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ भने परिवारमा शुभ समाचार मिल्न सक्छ। मकर: धैर्य र अनुशासनलाई प्राथमिकता दिनुपर्नेछ। कामको गति केही सुस्त भए पनि निरन्तर प्रयासले परिणाम दिनेछ। खर्च व्यवस्थापन आवश्यक छ। ज्येष्ठ सदस्यको सल्लाह उपयोगी बन्नेछ। थकान हुन सक्ने भएकाले आराममा ध्यान दिनुहोस्। कुम्भ: नयाँ विचार र सम्पर्कले काममा गति ल्याउनेछ। सिर्जनात्मक प्रयासको प्रशंसा हुनेछ। व्यापारमा नयाँ ग्राहक वा सहकार्यको सम्भावना छ। साथीभाइबाट सहयोग मिल्नेछ भने प्रेम जीवनमा नयाँ उत्साह थपिनेछ। मीन: मनमा शान्ति र सकारात्मकता बढ्नेछ। सिर्जनात्मक काम तथा अध्ययनमा एकाग्रता बन्नेछ। रोकिएको काम अघि बढ्ने र पुरानो कारोबारबाट लाभ मिल्ने सम्भावना छ। परिवार तथा प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका अवसरमा देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। यस अवसरमा कालिगढ तथा श्रमिकले कलकारखाना, औजार, मेसिन तथा सवारीसाधनको विधिपूर्वक पूजाआराधना गर्ने गर्छन्। कलकारखाना तथा कार्यस्थललाई सजाएर विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा छ। विश्वकर्माको पूजा गर्दा औजार तथा मेसिन टिकाउ हुने, कामका क्रममा नबिग्रने र राम्रोसँग काम गर्न सकिने धार्मिक विश्वास रहिआएको छ। विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाता तथा सफल वास्तुविद्का रूपमा सम्मान गरिन्छ। धार्मिक मान्यताअनुसार उहाँले द्वापर युगमा भगवान् कृष्णका लागि समुद्रको बीचमा द्वारका निर्माण गर्नुभएको विश्वास छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ पनि विश्वकर्माले नै रचना गरेको मान्यता रहेको छ। विश्वकर्मा पूजासँगै नेपालमा वास्तुशास्त्रको महत्व पनि बढ्दै गएको छ। विशेषगरी घर तथा विभिन्न संरचना निर्माणमा वास्तुशास्त्रको प्रयोग गर्ने चलन बढिरहेको छ।

काठमाडौं / सुर्खेत, साउन १५ — नेपाली मौलिकता, चेली–माइतीबीचको आत्मीय सम्बन्ध र तीज पर्वको सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको नयाँ तीज गीत “माइतीको दैलो बरिलै” आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गीतले पछिल्ला वर्षहरूमा बढ्दो आधुनिक प्रस्तुतिबीच परम्परागत तीजको मौलिक भाका, नेपाली लोकलय र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने प्रयास गरेको कुरा यो गीतका निर्माता भुवन खरालको भनाइ छ। गीतमा चेलीको माइतीप्रतिको माया, बाल्यकालका सम्झनाहरू, माइतीघरको आत्मीय वातावरण, परिवारका सदस्यसँगको सम्बन्ध र तीज पर्वको सामाजिक–सांस्कृतिक पक्षलाई भावनात्मक ढंगले चित्रण गरिएको छ। निर्माताका अनुसार गीतको शब्द–चयन, भाव–अभिव्यक्ति, लोकलयमा आधारित संगीत संयोजन, मौलिक गायन शैली, परम्परागत वाद्यवादनको प्रयोग, छायाङ्कन, सम्पादन, रङ संयोजन, निर्देशन, पहिरन तथा मेकअप, लोकेसन छनोट, कोरियोग्राफी लगायत समग्र दृश्य प्रस्तुतिमा नेपालीपन झल्किने गरी विशेष ध्यान दिइएको छ। भिडियोमा ग्रामीण परिवेश, नेपाली मौलिक पहिरन, तीजका परम्परागत क्रियाकलाप र सांस्कृतिक जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको कुरा यस गीतका गीतकार भानुभक्त रिजालको दाबी छ। गीत निर्माणमा संलग्न सर्जक, कलाकार तथा प्राविधिक टोलीले सामूहिक मेहनत र सिर्जनात्मक समर्पणका कारण गीतले उत्कृष्ट रूप लिन सफल भएको बताएका छन्। निर्माण पक्षले सम्पूर्ण सहयोगी, शुभचिन्तक तथा दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै गीत हेरी, सुनी प्रतिक्रिया दिन र साझा गरी नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा साथ दिन सबैमा अनुरोध गरेको छ। निर्माण पक्षले आगामी दिनमा समेत नेपाली मौलिक कला, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने यस्ता सिर्जनाहरू निरन्तर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

सुर्खेत, साउन ५ । वि.सं. २०८३ साल साउन ५ गते मंगलबार (जुलाई २१, २०२६) का लागि ज्योतिषीय गणनाअनुसार अधिकांश राशिका व्यक्तिहरूका लागि आर्थिक, व्यावसायिक तथा पारिवारिक क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। केही राशिका लागि भने स्वास्थ्य, यात्रा र खर्चमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। आज शुभकार्य तथा यात्राका लागि लाभ बेला (बिहान ८:४७–१०:२८) र अमृत बेला (बिहान १०:२९–१२:०९) उत्तम मानिएको छ। दिउँसो ३:३३ देखि बेलुकी ५:१५ बजेसम्म राहुकाल रहने भएकाले उक्त समयमा शुभकार्य नगर्न शास्त्रीय मान्यता रहेको छ। आजको राशिफल मेष : शेयर बजार, वित्तीय कारोबार र अध्ययनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। वृष : नयाँ काम सुरु गर्न अनुकूल दिन छ। व्यापार विस्तार, लगानी तथा अध्ययनमा राम्रो नतिजा प्राप्त हुने संकेत देखिएको छ। मिथुन : बिहान सवारी चलाउँदा सावधानी आवश्यक छ। दिउँसोपछि शिक्षा, अध्ययन र लामो दूरीको यात्राबाट लाभ मिल्नेछ। कर्कट : पारिवारिक मतभेद, स्वास्थ्य समस्या र घरजग्गा वा सवारी सम्बन्धी काममा सावधानी अपनाउनुपर्ने दिन रहेको छ। सिंह : व्यापार, उद्योग र शेयर बजारबाट लाभ मिल्नेछ। अध्ययन, खेलकुद तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। कन्या : व्यापार र लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँग यात्रा, आर्थिक अभाव हट्ने तथा प्रतिष्ठा बढ्ने योग रहेको छ। तुला : व्यापारमा लाभ, उपहार प्राप्ति र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। बिहानको समयमा यात्रा गर्दा विशेष सतर्क रहनुपर्ने देखिन्छ। वृश्चिक : खर्च बढे पनि उपलब्धिमूलक काम सम्पन्न हुनेछन्। विदेश यात्रा, वैदेशिक व्यापार र लगानीबाट लाभ मिल्ने संकेत छ। धनु : अध्ययन, नयाँ अवसर र आम्दानीका स्रोत विस्तार हुनेछन्। नयाँ सम्पत्ति वा सवारी साधन प्राप्तिको सम्भावना रहेको छ। मकर : कार्यक्षेत्रमा प्रशंसा, सामाजिक प्रतिष्ठा र आर्थिक लाभ मिल्नेछ। अध्ययन तथा प्रेम सम्बन्धमा पनि सकारात्मक समय रहनेछ। कुम्भ : बिहान काममा अवरोध र स्वास्थ्यमा कमजोरी देखिए पनि दिउँसोपछि यात्रा, धार्मिक कार्य तथा अध्ययनका लागि समय अनुकूल रहनेछ। मीन : बिहान व्यापार र अध्ययनमा लाभ मिल्नेछ। तर दिउँसोपछि सवारी साधन, सम्पत्ति तथा पारिवारिक सम्बन्धमा सावधानी अपनाउनुपर्ने देखिन्छ। ज्योतिषशास्त्रमा आधारित राशिफल व्यक्तिगत ग्रहदशा, जन्मकुण्डली र परिस्थितिअनुसार फरक पर्न सक्ने भएकाले यसलाई सामान्य संकेतका रूपमा लिन सुझाव दिइन्छ।

रुसका डानिल मेदभेदेभ दर्शकलाई बलले लागेपछि चीन ओपनबाट अयोग्य घोषित भएका छन्। नोभाक जोकोभिचविरुद्धको सेमिफाइनल खेलका क्रममा मेदभेदेभले रिसको झोंकमा हानेको बल अगाडिको पंक्तिमा बसेका एक दर्शकको अनुहारमा लागेको थियो। जोकोभिचविरुद्ध मेदभेदेभ ७–५, ५–३ ले पछाडि थिए। जोकोभिचले १५-१५ को अवस्थामा कोर्टको पछाडि प्रहार गरेपछि बल कोर्टको पछाडिको भागमा ठोक्किएर मेदभेदेभतर्फ फर्किएको थियो। त्यसक्रममा मेदभेदेभले झोकमा ब्याकह्यान्डले बल हानेका थिए। मेदभेदेभले हानेको बल कोर्टको पछाडिको स्ट्यान्डमा अगाडिको पंक्तिमा बसेका दर्शकलाई लागेको थियो। बल लागेपछि ती दर्शकले अनुहार समातेर झुकेका थिए। उनलाई कोर्टबाट बाहिर लैजाँदा पनि आँखामा हात राखिरहेका थिए। घटनापछि मेदभेदेभले अम्पायर मोहम्मद लहयानी र एटीपीका अधिकारीसँग कुराकानी गरेका थिए। त्यसपछि उनी कोर्टमा फर्किएर जोकोभिचसँग हात मिलाएका थिए। खेलाडीलाई आचारसंहिता उल्लंघनमा ‘डिफल्ट’ गरिएपछि मेदभेदेभको खेल समाप्त भएको हो। घटनापछि मेदभेदेभले दर्शकप्रति माफी माग्दै आफू उनीसँग प्रत्यक्ष सम्पर्क गर्न चाहेको बताएका छन्। उनले ती दर्शकको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले व्यक्तिगत रूपमा माफी माग्न पाए राम्रो हुने बताएका थिए। जोकोभिचले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। सन् २०२० को यूएस ओपनमा यस्तै प्रकारको घटनाका कारण आफू पनि अयोग्य घोषित भएको स्मरण गर्दै जोकोभिचले मेदभेदेभले जानाजानी यस्तो नगरेको आफूलाई विश्वास रहेको बताए। टेनिसमा खेलाडीले आचारसंहिता उल्लंघन गर्दा डिफल्ट हुन सक्छ। बलको दुरुपयोग, शारीरिक वा मौखिक दुर्व्यवहार तथा र्याकेटको दुरुपयोग त्यसअन्तर्गत पर्छन्। सामान्य अवस्थामा लगातार आचारसंहिता उल्लंघनका लागि चेतावनी र पेनाल्टीपछि अयोग्य घोषणा हुन सक्छ। तर गम्भीर उल्लंघनमा खेलाडीलाई तत्कालै खेलबाट हटाउन सकिने व्यवस्था छ। अयोग्य घोषित भएपछि मेदभेदेभले बेइजिङमा हासिल गरेका खेल अंक र पुरस्कार रकम गुमाउनेछन्। ३० वर्षीय मेदभेदेभ यसअघि पनि कोर्टमा आक्रोशित व्यवहारका कारण चर्चामा आएका थिए। गत वर्ष यूएस ओपनमा कोर्टमा फोटोग्राफर प्रवेश गरेपछि उनले आक्रोशपूर्ण व्यवहार गरेका थिए र त्यसका लागि करिब ३१ हजार ५०० पाउन्ड जरिवाना तिरेका थिए। यसै वर्ष मोन्टेकार्लो मास्टर्समा ६-०, ६-० ले पराजित भएपछि उनले र्याकेटसमेत तोडेका थिए र त्यस घटनामा पनि जरिवाना भएको थियो। मेदभेदेभले यसअघि आफ्नो कोर्ट व्यवहार सुधार गर्ने प्रयास गरिरहेको बताएका थिए। उनका अनुसार जित्ने चाहनाले आफूमा धेरै एड्रेनालिन र ऊर्जा आउने र कहिलेकाहीँ त्यो सकारात्मक तथा कहिलेकाहीँ नकारात्मक रूपमा बाहिरिने गर्छ।

काठमाडौं– लगातार वर्षाका कारण क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल २०औँ एसियाली खेलकुदको क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा श्रीलंकासँग हुने तय भएको खेल टससमेत नभई रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। खेल हुन नसकेको अवस्थामा ट्वान्टी–२० वरीयतामा माथि रहेको टोलीलाई विजेता मान्ने नियमअनुसार श्रीलंका सेमिफाइनलमा पुगेको छ। ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छन्। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण नेपाल र जापानबीचको समूहचरणको खेल पनि पूरा हुन सकेको थिएन। नेपालले प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने जापानविरुद्धको खेल वर्षाका कारण १५ ओभरमा छोट्याइएको थियो। उक्त खेलमा नेपालले चार विकेट गुमाएर १४९ रन बनाए पनि त्यसपछि वर्षा भएपछि जापानले ब्याटिङ गर्न पाएन।

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानलाई १५० रनको लक्ष्य दिएको छ। वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा चार विकेट गुमाएर १४९ रन बनायो। नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए। लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र एक चौकासहित ५२ रन बनाए। उनले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्।

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। बिहीबार भएको खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। आइचीस्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जापानसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो। लगातार दोस्रो हारसँगै महिला भलिबलमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ। अब नेपालले वरियताका लागि प्रतिस्पर्धा गर्नेछ। त्यसका लागि नेपालले सामना गर्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो।

विश्वकपको फाइनलमा स्पेनसँग १-० को हार बेहोरेर उपाधि चुम्न नसके पनि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको महानतामाथि कुनै प्रश्न उठेको छैन। मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा अतिरिक्त समयको अन्तिमतिर फेरान टोरेसले गोल गर्दै स्पेनलाई विजयी बनाएपछि अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्ने सपना अधुरै रह्यो। मैदानमा आँसु पुछ्दै आफ्ना समर्थकलाई अभिवादन गरिरहेका मेस्सीको दृश्यले संसारभरका फुटबल प्रेमीलाई भावुक बनाएको छ। यद्यपि, ३९ वर्षीय मेस्सीले यस विश्वकपमा ८ गोल र ४ असिस्ट गर्दै ७ खेलमा १२ गोलमा प्रत्यक्ष योगदान पुर्याएर आफू अझै पनि खेलको सर्वोच्च शिखरमा रहेको प्रमाणित गरेका छन्। उनको यो अविश्वसनीय प्रदर्शन र हारलाई पनि गरिमामय ढंगले स्वीकार गर्ने शैलीले उनलाई केवल एक खेलाडी नभएर विश्व फुटबलको एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई मैदानमा ओर्लिने सबैभन्दा महान् खेलाडी भन्दै सम्मान प्रकट गरेका छन्। मेस्सीको फुटबल यात्राले सधैं धैर्य, संयमता र कहिल्यै हार नमान्ने अदम्य साहसको सन्देश दिन्छ। यस विश्वकपमा उनले अर्जेन्टिनालाई पटक-पटक कठिन स्थितिबाट फाइनलसम्म पुर्याउन खेलेको भूमिका र खेलप्रतिको उनको समर्पण युगौँसम्म फुटबल इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ। खेलको नतिजा जस्तोसुकै भए पनि मेस्सीको विरासत अब केवल ट्रफीमा सीमित छैन, बरु उनले फुटबललाई बाँच्ने जुन तरिका सिकाएका छन्, त्यो नै उनको सबैभन्दा ठूलो सफलता हो।

न्युयोर्क । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाए। पेनाल्टी क्षेत्रभित्र बाउन्स भएको बललाई उनले देब्रे खुट्टाले शक्तिशाली प्रहार गर्दै जाली चुमाएका थिए। खेलको निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै अतिरिक्त समयको दोस्रो हाफको सुरुआतमै गोल निकाल्न सफल भयो। स्पेनले खेलभर बलमा पकड कायम राख्दै अर्जेन्टिनामाथि निरन्तर दबाब सिर्जना गरेको थियो। सन् २०१० पछि पहिलो पटक विश्वकप जितेको स्पेनका लागि यो दोस्रो विश्वकप उपाधि हो। यस संस्करणमा स्पेनले आठ खेलमा केवल एक गोल मात्र व्यहोर्दै विश्वकप इतिहासमा च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ कीर्तिमान पनि बनाएको छ। त्यस्तै, स्पेनको अपराजित यात्राले पनि नयाँ इतिहास रचेको छ। टोली अहिले लगातार ३८ खेल अपराजित रहेको छ, जसमा २९ जित र ९ बराबरी समावेश छन्। यो कुनै पनि युरोपेली राष्ट्रले बनाएको सबैभन्दा लामो अपराजित यात्रा हो। यसअघि इटालीको ३७ खेलको कीर्तिमान स्पेनले नै तोडेको हो। यता, फाइनलमा पराजित भएसँगै सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै बनेको छ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। यस्तै, बिहीबार र शुक्रबार पनि लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी तथा तराई भू–भाग र बागमती, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षाका कारण पहाडी तथा नदी तटीय क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौं । पछिल्लो समय २०–२५ वर्षकै उमेरमा कपाल फुल्ने समस्या बढ्दै गएको छ। तनाव, अस्वस्थ खानपान, जीवनशैली र शरीरमा आवश्यक पोषक तत्त्वको कमीले कपालको प्राकृतिक रङमा असर पर्न सक्छ। कपालको रङ ‘मेलेनिन’ नामक पिग्मेन्टमा निर्भर हुन्छ। शरीरमा आवश्यक पोषक तत्त्वको कमी हुँदा यसको उत्पादनमा असर पर्न सक्छ। यस्तो अवस्थामा खानपानमा सुधार गर्न विशेषज्ञहरूले विभिन्न पोषक तत्त्वयुक्त खानेकुरा समावेश गर्न सुझाव दिने गरेका छन्। कपालको स्वास्थ्यका लागि अमला उपयोगी मानिन्छ। यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ। त्यस्तै, कडीपत्तामा पाइने पोषक तत्त्वले कपालको स्वास्थ्यमा सहयोग पुर्याउन सक्छ। कालो तिलमा आइरन, कपर र जिंक पाइने भएकाले यसलाई पनि कपालका लागि उपयोगी खानेकुराका रूपमा लिइन्छ। बदाम र ओखरमा कपर तथा भिटामिन ई पाइन्छ। पालुङ्गो आइरन, फोलेट र विभिन्न भिटामिनको राम्रो स्रोत हो। त्यस्तै, अण्डामा प्रोटिन र भिटामिन बी–१२ पाइने भएकाले सन्तुलित आहारका रूपमा समावेश गर्न सकिन्छ। खानपानसँगै पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक हुन्छ। दैनिक ७ देखि ८ घण्टा पर्याप्त निद्रा लिनु तथा स्वस्थ जीवनशैली अपनाउनु कपालसहित समग्र स्वास्थ्यका लागि लाभदायक हुन्छ। तर कम उमेरमै अत्यधिक कपाल फुल्ने समस्या देखिएमा केवल खानेकुराकै कारण हो भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। पोषक तत्त्वको कमी वा अन्य स्वास्थ्य कारण हुन सक्ने भएकाले समस्या बढ्दै गएमा चिकित्सक वा छाला तथा कपाल विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ।

बाजुरामा सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण जटिल अवस्थामा पुगेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायाको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी रोकायाको रक्तश्राव नरोकिएपछि आफन्तले उनलाई ९ दिनपछि मात्र जिल्ला अस्पताल बाजुरा ल्याएका थिए। शरीरमा रगतको कमी र अन्य स्वास्थ्य समस्या देखिएपछि सोमबार अस्पतालले उनको अवस्था गम्भीर बन्दै गएको भन्दै थप उपचारका लागि रेफर गरेको थियो। ज्यान जोखिममा परेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। रोकायालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ। समयमै अस्पताल नल्याउँदा ग्रामीण भेगका सुत्केरीहरूले यस्ता गम्भीर जोखीम बेहोर्दै आएका छन्।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको लापरबाहीका कारण पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान सडकपेटीमै सुत्केरी भएकी छन्। मंगलबार राति सुत्केरी बेथा लागेर आएकी बबितालाई रगत परीक्षणका लागि ३२ सय रुपैयाँ लाग्ने भनिएको थियो। तर, श्रीमान् हरेरामसँग दुई हजार मात्र भएकाले पैसा जोहो गर्न बाहिरिँदा बबिताले सडकपेटीमै शिशुलाई जन्म दिइन्। सार्वजनिक सञ्जालमा भिडियो भाइरल भएपछि आमा र शिशुलाई अस्पताल ल्याएर स्वास्थ्य परीक्षण गराइएको छ। यो हृदयविदारक घटनाले सरकारी अस्पतालको सेवा प्रणाली, संवेदनहीनता र विपन्न नागरिकप्रतिको विभेदपूर्ण व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ। पैसाको अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने बाध्यताले निःशुल्क स्वास्थ्य सेवाको सरकारी दाबीलाई समेत व्यङ्ग्य गरेको छ।

काठमाडौं, साउन १९ — राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा दुर्गम क्षेत्रका १०३ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नेपाली सेनामार्फत उद्धार गरिएको हो। मन्त्रालयले हवाई उद्धारलाई व्यवस्थित गर्न हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ। लामो समयसम्म प्रसव व्यथा लाग्ने, अत्यधिक रक्तश्राव हुने, पाठेघर फुट्ने, गर्भमा शिशुको मृत्यु हुनेलगायत जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई उक्त कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गरिने व्यवस्था रहेको छ।

काठमाडौं, भदौ २४ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। सरकारले बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट संकलित रकम कोषमा जम्मा भएको हो।

काठमाडौं, ३२ असार — नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको मूल्यमा हुने उतारचढावका आधारमा नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्यमा पनि १५ रुपैयाँले कमी आएर प्रतितोला चार हजार २७० रुपैयाँ कायम भएको छ। हिजो मङ्गलबार सुन प्रतितोला दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ रुपैयाँमा खरिद-बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो, जहाँ हाल एक औँस सुन तीन हजार ९८६ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा हुने यस्ता सामान्य परिवर्तनले लगानीकर्ता र गरगहनाका उपभोक्ता दुवैलाई प्रभाव पार्ने गर्दछ।

सुर्खेत — कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई चौमासिक अवधि बितिसक्दा पनि बजेट कार्यान्वयनमा उत्साहजनक प्रगति गर्न नसकेको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को आठ महिना (फागुन मसान्त) सकिँदा विकास बजेट खर्चको अवस्था निकै कमजोर रहेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल पुँजीगत बजेटको १९.६४ प्रतिशत अर्थात् ६ अर्ब ४८ करोड १६ लाख ४८ हजार ५६५ रुपैयाँ मात्र खर्च भएको छ। विकास बजेटको २० प्रतिशतसमेत खर्च हुन नसक्दा प्रदेशका अधिकांश विकास निर्माणका काम सुस्त बनेका छन्। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, वर्षको दुई तिहाइ समय सकिँदा पनि करिब २६ अर्ब ५१ करोड रुपैयाँ बजेट अझै खर्च हुन बाँकी रहेको छ, जसले वित्तीय व्यवस्थापन र योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ। यसैबीच, मुख्यमन्त्री यामलाल कँडेल ले कार्यकालको सुरुमै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। उनले मन्त्री र सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्दै समयमै योजना सम्पन्न गर्न निर्देशन दिएका थिए। तर आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वयं मन्त्रीहरूले स्वीकार गरेका छन्। मन्त्रालयगत खर्चमा सुस्तता मन्त्रालयगत रूपमा हेर्दा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको प्रगति अत्यन्तै कमजोर देखिएको छ। ११ अर्बभन्दा बढी बजेट रहेको यस मन्त्रालयले ८ महिनामा करिब १५.६८ प्रतिशत मात्र खर्च गर्न सकेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुल बजेटको १२.८१ प्रतिशत मात्र खर्च गरेको छ भने यसको पुँजीगत खर्च केवल ४.२७ प्रतिशतमा सीमित छ। सामाजिक विकास मन्त्रालयले २५.१८ प्रतिशत खर्च गरे पनि सन्तोषजनक अवस्था छैन। त्यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १७.१६ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २०.२२ प्रतिशत बजेट कार्यान्वयन गरेका छन्। सबैभन्दा कम बजेट भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तुलनात्मक रूपमा ३२.४५ प्रतिशत खर्च गरेको छ। कम बजेट खर्च हुनुका पछाडि कानुनी जटिलता, राजनीतिक तथा सामाजिक आन्दोलन, तथा योजना छनोटमा हुने दबाबलाई मुख्य कारणका रूपमा लिइएको छ। केही सचिवहरूले यी चुनौतीहरूकै कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताएका छन्। ‘असारे विकास’को जोखिम हालको सुस्त गतिले वर्षको अन्त्यसम्म ८० प्रतिशत प्रगति पुर्याउने लक्ष्य भेट्न कठिन देखिएको छ। यसले अन्तिम समयमा हतार–हतार बजेट खर्च गर्ने ‘असारे विकास’को पुरानै प्रवृत्ति दोहोरिने जोखिम बढाएको छ। समयमै बजेट खर्च हुन नसक्दा एकातिर विकास योजना अलपत्र परेका छन् भने अर्कोतर्फ प्रदेशको समग्र आर्थिक गतिविधिमा समेत सुस्तता आएको देखिएको छ।

काठमाडौं — नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार छापावाल सुन तोलामा मूल्य बुधबार १,५०० रुपैयाँले घटेर ३,००,४०० रुपियाँ प्रति तोला कायम भएको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ३,०१,९०० रुपियाँ प्रति तोला रहेको थियो। थप रूपमा, चाँदीको मूल्य पनि दिनहुँको तुलनामा तल झरेको छ। मंगलबार ४,८८५ रुपियाँ प्रति तोला कायम भएको चाँदी बुधबार घटेर ४,८८० रुपियाँ प्रति तोला कायम भएको महासंघले जनाएको छ। सुनचाँदीको मूल्यमा आउँदो दिनमा के पक्ष–प्रतिक्षेप रहनेछ भन्ने बारेमा बजारका विज्ञ र व्यवसायीको आँकलन फरक–फरक रहेको छ। मूल्यमा उतारचढाव अन्तर्राष्ट्रिय बजार तथा मुद्रा सटही दरमा निर्भर रहने गर्छ।

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न दैनिक उपभोग्य वस्तुका उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ। बुधबार जारी प्रेस विज्ञप्तिमा विभागले खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्दै त्यसलाई नियन्त्रण गर्न अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। अस्वाभाविक मूल्यवृद्धि समायोजन गरी उपभोक्तालाई राहत दिनसमेत आग्रह गरिएको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेको छ। यसै क्रममा अन्य सम्बन्धित निकायको सहयोगमा अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता र सेवाप्रदायक फर्महरूमा संयुक्त अनुगमन कार्य जारी रहेको विभागले स्पष्ट पारेको छ।

डोटी, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मंगलबार बिहान ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको हो। ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए। दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेहरू: १. अमर सिजाली मगर (३३ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी २. डम्बर थापा (४६ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी ३. भरत थापा मगर (१८ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी ४. विवस थापा मगर (१८ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी ५. जितबहादुर विक (५२ वर्ष) – जोरायल गा.पा.–१, गोगनपानी ६. रुपलाल विक (३२ वर्ष) – जोरायल गा.पा.–१, धानाकोट ७. अनिषा विक (३२ वर्ष) – जोरायल गा.पा.–१, धानाकोट ८. हर्कबहादुर थापा मगर (३५ वर्ष) – जोरायल गा.पा.–१, सपुरसानी ९. करिश्मा विक (३ वर्ष) – जोरायल गा.पा.–१, भानाकोट (अनिषा विककी छोरी) दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बाँके — बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी २२ वर्षीया युवतीमाथि संवेदनशील अङ्गमा दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापाविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ। ६३ वर्षीय थापालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित पोलिक्लिनिकमा असोज १७ गते स्वास्थ्य परीक्षणका क्रममा जबर्जस्ती संवेदनशील अङ्गमा हात हालेको आरोपमा पीडित पक्षले असोज १८ गते प्रहरीमा किटानी जाहेरी दिएको थियो। घटनापछि पीडितका आफन्त तथा स्थानीयले पोलिक्लिनिकमै पुगेर थापामाथि हातपात गरेका थिए। सो क्रममा भएको कुटपिटको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पीडितको जाहेरी तथा सामाजिक सञ्जालमा सार्वजनिक भिडिओका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार घटनासँगै थापाको उपचारसम्बन्धी योग्यता तथा महिला बिरामीको संवेदनशील परीक्षण गर्दा पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी आचारसंहिताको विषयमा समेत अनुसन्धान भइरहेको छ। जाहेरीमा थापासँग उपचारको इजाजत नभएको र महिला बिरामीको परीक्षण गर्दा आवश्यक महिला संरक्षक वा कुरुवाको उपस्थिति नगराइएको उल्लेख छ। पीडित युवती पेट दुख्ने र सेतो पानी बग्ने समस्या भएपछि उपचारका लागि पोलिक्लिनिक पुगेकी थिइन्। उपचारपछि घर फर्किएकी उनी करिब आधा घण्टापछि अभिभावकसहित पुनः क्लिनिक पुगेकी थिइन्। यसैबीच, पीडित युवतीकी रोजगारदाताले आफूलाई पनि चार वर्षअघि थापाले यस्तै किसिमको दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। आरोपित थापाले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। बिरामीले तल्लो पेट दुख्ने, गानोगोला र सेतो पानी बग्ने समस्या बताएपछि उनकै आग्रहमा शारीरिक परीक्षण मात्र गरेको र आफ्नो कुनै खराब नियत नरहेको उनको दाबी छ। प्रहरीले दुवै पक्षको बयान, सार्वजनिक भिडिओ तथा अन्य प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेका छन्। मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पठाएको छ। घाइतेमध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, ललितपुर, बाँके र सल्यानका यात्रु रहेका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न उक्त सामुदायिक वनमा गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाबारे शुक्रबार बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त भएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थलतर्फ पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। उक्त घटनाबारे हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बसलाई ठक्कर दिएको हो। दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। दुर्घटनामा सल्यान, बाँके, दाङ, मुगु र जाजरकोटका गरी ११ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १५ गते विहान १० बजेको समयमा सुर्मा गाउँपालिका–०२ दोगडीस्थित सडकमा दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परी जिप चालक सुर्मा गाउँपालिका–०४ का अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) तेजबहादुर रावलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुरुन्तै उद्धार कार्य गरेको थियो। दुर्घटना भएका बेला जिपमा चालकसहित जम्मा ३ जना सवार थिए। दुर्घटनामा परि गम्भीर घाइते भएका अन्य दुई जनाको हालसम्म नाम, थर र ठेगाना खुलेको छैन। उनीहरू दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कञ्चनपुर– महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्काएको छ। बुधबार बिहान करिब ८ बजे आएको बाढीले पुलको बीच भागमा रहेको पिलर बगाएपछि पुलको ठूलो हिस्सा नदीमा खसेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फको छैटौँ र दोधारा–चाँदनीतर्फको तेस्रो नम्बरको पिलरमा क्षति पुगेको छ। पिलर भत्किएसँगै पुलको संरचनामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। पुल भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त क्षेत्रबीचको आवतजावत प्रभावित भएको छ। सुरक्षाकर्मीले घटनास्थलको निरीक्षण गरी अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।

विराटनगर– तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–६ सरोचियास्थित एक घरमा सोमबार राति प्रहरी पुगेपछि भाग्ने क्रममा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला सामान्य घाइते भएका थिए। प्रहरीले कोइरालासहित आठ जनालाई नियन्त्रणमा लिएको थियो। हिरासतमा रहेका कोइराला मंगलबार बिहान अचेत अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेका हुन्। भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाले घरको दोस्रो तलाबाट हामफाल्दा दाहिने खुट्टा भाँचिएको छ। उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा समेत रोक लगाइएको छ। ललितपुरको कान्तिलोकपथअन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ। बागमती गाउँपालिका–३ टाकुर्चेमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहितका सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्ग तथा भित्री सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ। अत्यावश्यक सेवाका सवारी भने प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिने जनाइएको छ। त्यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। चितवन तथा आसपासमा बाढी–पहिरोको जोखिमका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पनि सम्पूर्ण सवारी आवागमन बन्द गरिएको छ। धादिङको पृथ्वीराजमार्गमा पनि बाढी–पहिरोको जोखिमका कारण आवागमन रोकिएको छ। बेनिघाट रोराङ–१० पानीधारामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ भने कृष्णभिर, गौमतीखोला, चालिसे र परेवाभिर क्षेत्रमा पहिरोका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल देशभर अधिकांश भू–भागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुनसक्ने जनाइएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थान तथा कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।

काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा पनि वर्षा हुनसक्नेछ। राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना समेत रहेको छ।