
एन्टिबायोटिकको अनावश्यक प्रयोगका कारण प्रतिजैविक प्रतिरोधको समस्या बढ्दै गएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अत्यधिक तथा अपर्याप्त प्रयोगका एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोग व्यवस्थित र नियमन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल थालेका छन् । रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल थालेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु भएको छ । छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन् । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन् । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइनमार्फत छलफलमा सहभागिता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) पनि छलफलमा सहभागी छन् । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) पनि प्रधानमन्त्रीसँगको छलफलमा छन् । प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–३ का सागर रेग्मी र पारस थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

बाढीले बगाएर ल्याएका गहना भेटेर फिर्ता नगर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारका रामबहादुर तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढीले विदुर नगरपालिका-१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घरबाट बगाएर ल्याएका गहना भेटाएका थिए । बाढीले बगाएर ल्याएका गहना भेटेर फिर्ता नगर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले सूचना नै जारी गरेर बाढीले बगाएर ल्याएका धनमाल फिर्ता गर्न भने पनि उनले सो गहना आफैँ राखेका थिए । पछि तामाङले ती गहना लुकाइछिपाई राखेको सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो । पक्राउ परेका तामाङको साथबाट प्रहरीले पहेँलो धातुका बाला ३ टुक्रा, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मंगलशुत्र र चाँदीकोजस्तो देखिने दुई जोर पाउजु बरामद गरेको छ । हाल तामाङमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका-६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । दुर्घटना लगत्तै प्रनाउ घिमिरेको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर प्रधानमन्त्री कार्यालय (पीएमओ)को नक्कली परिचयपत्र बनाएको आरोपमा एकजना पक्राउ परेका छन्। घटना भारतको मुम्बईस्थित वान्ड्रे-कुर्ला कम्प्लेक्स (बीकेसी)को जियो वर्ल्ड प्लाजामा भएको हो। पक्राउ परेका २४ वर्षीय रोहन पारिखले आफूलाई पीएमओको अधिकारी बताउँदै सुरक्षाकर्मीलाई धम्क्याएको आरोप छ। उनले च्याटजीपीटीजस्ता एआई उपकरणको सहयोगमा नक्कली पीएमओ परिचयपत्र र पत्र तयार पारेको प्रहरीले बताएको छ। शुक्रबार बान्द्राको एस्प्लेनेड अदालतमा प्रहरीले रोहनको मोबाइल हेर्दा पीएमओ पत्रको मस्यौदा तयार गरेको प्रमाण भेटिएको बताएको छ। प्रहरीले रोहनले सन् २०२५ देखि सामाजिक हैसियत बढाउन नक्कली कागजात बनाउँदै आएको दाबी गरेको छ। प्रहरी हिरासत सकिएपछि रोहन र उनका साथमा रहेका ४९ वर्षीय पूर्व सैनिक दिलीप कुण्डेलाई अदालतमा पेश गरिएको थियो। प्रहरीले दिलीपको साथबाट लाइसेन्स प्राप्त रिभल्भरसमेत बरामद गरेको छ। अदालतले दुवैलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूको जमानत निवेदनमाथि सेप्टेम्बर १७ मा सुनुवाइ हुनेछ। प्रहरीले एआईबाट बनाइएका नक्कली कागजात अन्य ठाउँमा पनि प्रयोग भए नभएकोबारे अनुसन्धान गरिरहेको जनाएको छ।

कैलाली । कैलालीका विभिन्न स्थानबाट भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका करिब ७५ हजार ८ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट शुक्रबार खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका चिनी, चना, पानीपुरी, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ।

नवलपरासीको गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६:५० बजे दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। लु २ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटका धनमान हमाल र गैँडाकोटका लीला थापाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। त्यसैगरी, अर्को बस लु २ ख ६०३६ का घाइतेहरूमध्ये बस चालक सन्तोष बहादुर गुरुङसहित आत्रिया पौडेल, माधवा ज्ञावाली, शकर बयलकोटी, सिता ज्ञावाली, जस्विन ज्ञवाली र दिभा रानाभाटको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। सोही बसमा सवार अन्य घाइतेहरू मोहन भैया साह, निशा तिवारी, ऐट्रेन भट्ट, निमलाल खड्का, अमृता खड्का, मनोज गुरुङ, हुमा गुरुङ, प्रेम बहादुर रानाभाट र मिरा आचार्यको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको लापरबाहीका कारण पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान सडकपेटीमै सुत्केरी भएकी छन्। मंगलबार राति सुत्केरी बेथा लागेर आएकी बबितालाई रगत परीक्षणका लागि ३२ सय रुपैयाँ लाग्ने भनिएको थियो। तर, श्रीमान् हरेरामसँग दुई हजार मात्र भएकाले पैसा जोहो गर्न बाहिरिँदा बबिताले सडकपेटीमै शिशुलाई जन्म दिइन्। सार्वजनिक सञ्जालमा भिडियो भाइरल भएपछि आमा र शिशुलाई अस्पताल ल्याएर स्वास्थ्य परीक्षण गराइएको छ। यो हृदयविदारक घटनाले सरकारी अस्पतालको सेवा प्रणाली, संवेदनहीनता र विपन्न नागरिकप्रतिको विभेदपूर्ण व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ। पैसाको अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने बाध्यताले निःशुल्क स्वास्थ्य सेवाको सरकारी दाबीलाई समेत व्यङ्ग्य गरेको छ।

बाँके । जेन–जी आन्दोलनका क्रममा बाँकेका दुई बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका ३४० कैदी तथा बालबन्दीमध्ये १७१ जना पक्राउ परेका छन्। गत वर्ष भदौ २३ र २४ गते राति फरार भएकामध्ये अझै १६९ जना सम्पर्कविहीन रहेको जनाइएको छ। जयन्दु बालसुधारगृहबाट फरार ११५ जनामध्ये ६८, नौबस्ता बालसुधारगृहबाट फरार ७८ जनामध्ये ४७ र नौबस्ता क्षेत्रीय कारागारबाट फरार १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन्। बाँकी फरार रहेकाको खोजी कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।