
काठमाडौँ । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको होल्डिङ सेन्टरको पहिलो दिन ३६ जना सडक सहयोगापेक्षीको उद्धार गरिएको छ। तिलगंगामा मंगलबारदेखि सुरु भएको यस सेन्टरमा पुर्याइएकामध्ये ६ जना भने पर्खाल नाघेर भागेका छन्। हाल सेन्टरमा २८ जनालाई राखेर उनीहरूको पहिचान गर्ने काम भइरहेको छ। सेन्टरको निरीक्षण गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सडकमा अलपत्र परेका र सहारा नभएका असहायका लागि महानगरले उचित व्यवस्थापन गर्ने बताइन्। उनले काठमाडौँलाई सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियानमा सबै पक्षको समन्वय आवश्यक रहेकोमा जोड दिइन्। यस्तै, कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको सुरक्षा र पूर्वाधारलाई थप व्यवस्थित बनाइने बताए। मानव सेवा आश्रमका उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार उद्धार गरिएकाहरूमा ६ जना महिला र ३० जना पुरुष छन्। तीमध्ये ४ जनामा मानसिक समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन्। उद्धार गरिएकाहरू सोलुखुम्बु, सुर्खेत, खोटाङ लगायत विभिन्न जिल्लाका रहेका छन्, जसमा शारीरिक रूपमा अशक्त र वैशाखीको सहारा लिनेहरू समेत छन्।

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्ने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई टिकटको बिल र म्यानपावर कम्पनीलाई बुझाएको सेवा शुल्कको रसिद पेश गर्नुपर्ने छैन। अध्यागमन विभागले एक सार्वजनिक सूचना जारी गर्दै श्रमिकहरूमा देखिएको अन्योल चिर्दै राहदानी र श्रम स्वीकृति बाहेकका अतिरिक्त बिल वा रसिद आवश्यक नपर्ने स्पष्ट पारेको हो। यसअघि वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू हुने गरी टिकटको बिल र सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेपछि श्रमिकहरूमाझ ठूलो अन्योल र सास्ती सिर्जना भएको थियो, जसलाई अध्यागमनको यो पछिल्लो स्पष्टीकरणले सम्बोधन गरेको छ। गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय र मौजुदा कानुनी व्यवस्थालाई उद्धृत गर्दै विभागले वैदेशिक रोजगारीमा जानेका हकमा श्रम स्वीकृति र राहदानी जस्ता आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाएको छ। त्यस्तै भिजिट भिसामा विदेश जाने नेपालीका हकमा भने कम्तीमा ६ महिनाको वैध राहदानी, गन्तव्यसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पुग्ने व्यवस्था यथावत रहेको छ। विभागले श्रमिकहरूलाई कुनै पनि अनावश्यक कागजी झन्झटमा नपार्न र विमानस्थलको प्रक्रियालाई सरल बनाउनका लागि यो स्पष्टीकरण दिइएको उल्लेख गरेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो निर्णयले विमानस्थलमा श्रमिकहरूलाई दुःख भएको र प्रक्रिया झन्झटिलो बनेको गुनासो बढेपछि अध्यागमन विभागले नागरिकलाई कुनै पनि भ्रममा नपरी निर्धक्कसँग यात्रा गर्न आग्रह गरेको छ। विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले न्यूनतम आवश्यक कागजात बाहेक कुनै पनि प्रकारको भुक्तानी रसिद वा बिल बोक्नु नपर्ने भन्दै हवाई यात्रालाई सहज बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ। यस निर्णयसँगै अब श्रमिकहरूले विमानस्थलमा अनावश्यक सोधपुछ र कागजात संकलनको तनावबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।

काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत ३० गतेभित्र यस्ता सूचना हटाइसक्न स्पष्ट रूपमा भनेको छ। विभागका अनुसार, विभाग आसपास सञ्चालनमा रहेका केही साइबर तथा इन्स्टिच्युटहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता सन्देशमार्फत सेवाग्राहीलाई भ्रममा पारिरहेका छन्। यस्ता सूचना र प्रचारप्रसारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गलत जानकारी पुग्ने जोखिम रहेको विभागको भनाइ छ। विभागले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकाय वा संस्थाबाट यस्तो सेवा प्रदान गरिन्छ भन्ने दाबी भ्रामक हुने विभागले जनाएको छ। यस सम्बन्धमा विभागले सूचना जारी गर्दै भ्रम सिर्जना गर्ने खालका लेखन, विज्ञापन तथा प्रचारप्रसार तुरुन्त बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। निर्देशनको उल्लङ्घन गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

लोक सेवा आयोगको नियमित विज्ञापन र नतिजा प्रकाशनमा ढिलाइ भएको, तथा सार्वजनिक प्रशासनमा राजनीतिकरण र नातावाद बढेको भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लोक सेवा तयारी गरिरहेका विद्यार्थी तथा सचेत नागरिक समाजले मुख्यमन्त्री कार्यालय, प्रदेश लोक सेवा आयोग र जिल्ला प्रशासन कार्यालय सुर्खेतको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई एक ज्ञापनपत्र बुझाउँदै संविधान र कानुनले व्यवस्था गरेका अधिकारहरूको पूर्ण कार्यान्वयन तथा सुशासनको माग गरेका हुन् । ज्ञापनपत्रमा मुख्यगरी ८ वटा विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । लोक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार समयमै विज्ञापन प्रकाशन नगर्दा हजारौं विद्यार्थीको समान अवसरको संवैधानिक अधिकार हनन् भएको र राज्यप्रतिको विश्वास घटेको बताइएको छ । त्यस्तै, परीक्षा सम्पन्न भइसकेपछि पनि लामो समयसम्म नतिजा प्रकाशन नहुँदा विद्यार्थीहरूमा मानसिक र आर्थिक तनाव बढेको भन्दै स्पष्ट समयसीमा तोकेर तत्काल नतिजा सार्वजनिक गर्न माग गरिएको छ । निजामती सेवा ऐनको मर्म विपरीत स्थायी पदपूर्ति गर्नुको सट्टा ‘करार सेवा’का नाममा कर्मचारी भर्ना गर्ने प्रवृत्तिले पारदर्शीता, प्रतिस्पर्धा र प्रशासनिक गुणस्तरलाई कमजोर बनाएको पत्रमा उल्लेख छ । यसैगरी, स्थानीय तह तथा निकायहरूमा राजनीतिक पहुँच र नातावादका आधारमा हुने नियुक्तिले सुशासन ऐनको धज्जी उडाएको विद्यार्थीहरूको ठहर छ । स्वदेशमै अवसर नपाउँदा र प्रशासनिक ढिलासुस्तीका कारण युवा वर्ग विदेश पलायन हुन बाध्य भएको भन्दै समयमै पदपूर्ति गरी युवालाई देशमै टिकाउने नीतिगत पहल गर्न आग्रह गरिएको छ । साथै, ज्ञापनपत्रमा लोक सेवा आयोगको साख गिर्दै गएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । विशेषगरी सुर्खेतलगायतका स्थानमा लोक सेवा तथा अन्य सार्वजनिक कार्यालयमै कार्यरत स्थायी कर्मचारीहरूले विभिन्न प्राइभेट इन्स्टिच्युटहरूमा पढाउने गरेको र यसले परीक्षाको गोपनीयता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै यस्तो कार्यलाई तत्काल नियमन गर्न जोरदार माग गरिएको छ । “आजको युवा केवल रोजगारीको खोजीमा छैन, ऊ संविधानले दिएको अधिकारको कार्यान्वयन खोजिरहेको छ,” ज्ञापनपत्रको अन्त्यमा भनिएको छ । धर्मराज जैसी, दिपक खत्री, विक्रम शाही, नविन सिंह लगायत २८ जना भन्दा बढी विद्यार्थी तथा नागरिक अगुवाहरूले हस्ताक्षर गरेको उक्त पत्रमा यथाशीघ्र ठोस निर्णय र स्पष्ट कार्ययोजनासहित आफ्ना मागहरू कार्यान्वयन नभए शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट थप आन्दोलनका कार्यक्रम अघि बढाउन चेतावनी समेत दिइएको छ ।

गर्मी मौसममा अत्यधिक रुचाइने फल तरबूजको माग बढेसँगै उपभोक्ताहरूले राम्रो र मीठो तरबूज कसरी छनौट गर्ने भन्ने जिज्ञासा पनि बढेको छ। पहिलो नजरमा तरबूजको गुणस्तर छुट्याउन कठिन भए पनि केही सरल उपाय अपनाएर सजिलै पाकेको र स्वादिष्ट फल रोज्न सकिने विज्ञहरूले बताएका छन्। तरबूजको परिपक्वता पहिचान गर्न यसको आवाज महत्वपूर्ण मानिन्छ। हल्का ट्याप गर्दा स्पष्ट र गुञ्जिने आवाज आउने तरबूज प्रायः रसिलो र पाकेको हुने विश्वास गरिन्छ। त्यस्तै, डाँठ (ह्यान्डल) सुक्खा र खैरो देखिएको छ भने फल पाकेको संकेत हो भने हरियो डाँठ भएको तरबूज काँचो हुन सक्छ। आकार र तौल पनि गुणस्तरसँग सम्बन्धित हुन्छ। सामान्यतया ६ देखि १० किलोग्राम तौल भएका तरबूजहरू उपयुक्त मानिन्छन्। साथै, गाढा र हल्का हरियो धर्काबीच स्पष्ट भिन्नता (कन्ट्रास्ट) भएको तरबूज बढी मीठो हुने बताइन्छ। तरबूजको छेउमा देखिने पहेंलो दाग (फिल्ड स्पट) ले पनि यसको परिपक्वता जनाउँछ। गाढा पहेंलो दाग भएको तरबूज जमिनमा राम्रोसँग पाकेको संकेत मानिन्छ। गोलो आकारका तरबूजहरू लाम्चा आकारका भन्दा बढी गुलियो हुने विश्वास पनि प्रचलित छ। यसैबीच, जुहरा पावलोभा ले तरबूज सेवनसँग सम्बन्धित स्वास्थ्य पक्षबारे सचेत गराएकी छन्। उनका अनुसार अहिले नाइट्रेटयुक्त तरबूजको जोखिम कम भए पनि अत्यधिक फ्रुक्टोज सेवनले तौल बढाउने र स्वास्थ्यमा असर पार्ने सम्भावना रहन्छ। उनी सन्तुलित सेवनमा जोड दिँदै एकपटकमा २०० देखि ३०० ग्राम मात्र तरबूज खान सुझाव दिन्छिन्। तरबूजलाई मिठाईका रूपमा सीमित मात्रामा सेवन गर्दा यसको स्वाद र स्वास्थ्य लाभ दुवै लिन सकिने उनको भनाइ छ। यसरी, साना–साना संकेतहरूमा ध्यान दिएर उपभोक्ताले सजिलै मीठो, रसिलो र सुरक्षित तरबूज छनौट गर्न सक्नेछन्।

काठमाण्डौ — आज फेब्रुअरी १४ तारिख, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपालमा पनि मनाइँदै छ। विशेषगरी युवापुस्ताले यस दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन्। पश्चिमी देशहरूबाट सुरु भएको यो दिवस पछिल्ला केही वर्षयता नेपालमा समेत व्यापक रूपमा मनाउन थालिएको हो। आधुनिक प्रविधिको पहुँच विस्तारसँगै शहरबजार मात्र होइन, गाउँघरमा पनि प्रणय दिवसको चर्चा र उत्साह बढ्दो छ। प्रणय दिवसको अवसरमा रातो गुलाफ तथा विभिन्न उपहार आदानप्रदान गर्ने प्रचलन छ। व्यवसायीहरूका अनुसार यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत झन्डै साढे चार लाख स्टिक गुलाफको माग रहने अनुमान गरिएको छ। इतिहासअनुसार भ्यालेन्टाइन डे को सुरुआत सन् २६९ मा इटालीको रोमन साम्राज्यबाट भएको मानिन्छ। प्रेमका लागि बलिदान दिएका सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाउन थालिएको बताइन्छ। Floriculture Association Nepal (फ्यान) का अनुसार कुल मागमध्ये करिब ३० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धान्ने गरेको छ भने बाँकी ७० प्रतिशत आयातमा निर्भर रहनुपरेको छ। फ्यानका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठका अनुसार अपुग परिमाण भारतबाट आयात गरिने गरिएको छ।

चौकुने। चौकुने गाउँपालिकामा बालबालिका सम्बन्धि स्थिति प्रतिवेदन २०८२ विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल बैठक सम्पन्न भएको छ। बालबालिकाको समग्र अवस्था, शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, बालअधिकार संरक्षण तथा बालमैत्री स्थानीय शासनका विषयहरूलाई समेट्दै तयार गरिएको प्रतिवेदनमाथि छलफल गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैठक आयोजना गरिएको हो। चौकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा तथा युनिसेफको आर्थिक सहयोगमा सम्पन्न उक्त बैठकको सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि.क सहभागी रहनुभएको थियो। बैठकमा शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा, स्वास्थ्य शाखा प्रमुख गगन पाण्डे, वडा नं. ८ का वडा अध्यक्ष कमल जि.सी., इलाका प्रहरी कार्यालय गुटुका इन्चार्ज बुद्ध सागर चौधरी ,लगायत शिक्षक , कर्मचारी, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको वर्तमान अवस्थाबारे तयार गरिएको स्थिति प्रतिवेदन प्रस्तुत गर्दै चौकुने गाउँपालिकामा बालबालिकाले भोगिरहेका अवसर र चुनौतीहरूबारे छलफल गरिएको थियो। विशेषगरी बालशिक्षामा पहुँच, विद्यालय बाहिर रहेका बालबालिका, बालविवाह, बालश्रम, पोषण समस्या, स्वास्थ्य सेवामा पहुँच, हिंसा तथा संरक्षणका विषयहरूमा गम्भीर बहस गरिएको थियो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेले बालबालिकाको भविष्य सुरक्षित बनाउनु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। त्यसैगरी सभाध्यक्ष उपाध्यक्ष नर बहादुर बान्तोलाले बालअधिकार सुनिश्चित गर्न पालिकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। बैठकमा सहभागी सरोकारवालाहरूले प्रतिवेदनमा उल्लेखित तथ्यांक र अवस्थालाई आधार मानेर आगामी दिनमा बालमैत्री योजना निर्माण, लक्षित कार्यक्रम सञ्चालन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रमले चौकुने गाउँपालिकामा बालबालिकाको समग्र विकास, अधिकार संरक्षण तथा सुरक्षित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज सम्पन्न हुन लागेको हो। पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका भक्तजनले आज व्रत समापन गर्दैछन्। सोही अवधिदेखि स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा आधारित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्पराको पनि आज अन्त्य गरिँदैछ। विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई भगवतीलाई अर्घ्य दिने विधि रहेको छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ अंश पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई दिने तथा त्यो पनि सम्भव नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा प्रवाह गर्ने चलन छ। आज सय रोटी फलाहार गरी रात्रिमा जाग्राम बस्ने परम्परा छ। जाग्रामका क्रममा देवीको माहात्म्य वाचन–श्रवण गरिन्छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानी भनिएको विश्वास छ। व्रत कथाअनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा विराजमान, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवीका रूपमा वर्णन गरिएको छ। स्वस्थानीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति तथा इच्छित वर–वधू प्राप्त हुने विश्वास प्रचलित छ। इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्रवियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा बनेको कथा स्वस्थानीमा उल्लेख छ। नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिनेछ। रात्रिमा जाग्राम बसेर बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत पूर्ण रूपमा सम्पन्न हुनेछ। यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन गरिँदैछ। शालिनदीमा करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर व्रत गरेका छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा मनाउने गर्दछन्।

सुर्खेत । “फोहोर होइन, ज्ञान बाँडौँ” भन्ने नाराका साथ प्लास्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको प्लास्टिक कैद प्रतियोगिता बिहीबार वीरेन्द्रनगर नगरपालिका–स्थित पर्यटकीय स्थल घण्टाघर पार्कमा सम्पन्न भएको छ। प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा दिगोसोच नेपाल संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाको योजना तथा वातावरण शाखा प्रमुख श्री प्रकाश पौडेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता दिगोसोच नेपाल संस्थाका अध्यक्ष श्री पुष्कर थापाले गर्नुभएको थियो। प्रतियोगितामा नगरभित्रका पाँचवटा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक–एक समूह सहभागी भई आधा लिटर मिनरल वाटरको बोतलमा छरिएका प्लास्टिकजन्य फोहोरलाई लठ्ठीको सहयोगमा बोतलभित्र कैद गर्नुपर्ने व्यवस्था गरिएको थियो। प्रतियोगिताको नतिजाअनुसार नेरा माध्यमिक विद्यालय प्रथम, उषा बालबाटिका दोस्रो र भैरव माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगिताको मूल्याङ्कन सामाजिक अभियन्ता किरण किशोर सापकोटा, दिगोसोच नेपाल संस्थाकी कोषाध्यक्ष श्री सम्झना परियार तथा वातावरण तथा विपद् उपशाखा प्रमुख श्री एमलाल गिरी सम्मिलित निर्णायक मण्डलले गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने उल्लेख गर्दै छरिएका फोहोरलाई एकीकृत गरी सिर्जनात्मक सीप र प्रविधिमार्फत उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। प्रतियोगिताले विद्यार्थीहरू मात्र नभई समाजका सबै उमेर, वर्ग र समुदायलाई प्लास्टिकजन्य फोहोर नजलाएर सुरक्षित रूपमा व्यवस्थापन गर्न प्रेरणा दिएको उहाँहरूको धारणा थियो। कार्यक्रमको अन्त्यमा प्रतियोगितामा प्रयोग गरिएका प्लास्टिक बोतलभित्र कैद गरिएका प्लास्टिक फोहोरबाट दिगोसोच नेपाल संस्थाका एक सदस्यले मुढा निर्माण गरी बजारमा उपलब्ध प्लास्टिक मुढासँग तुलना गर्दै पुनःप्रयोग र पुनःचक्रणबाट आर्थिक तथा वातावरणीय लाभ लिन सकिने व्यावहारिक उदाहरण प्रस्तुत गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्दै दिगोसोच नेपाल संस्थाका अध्यक्ष श्री पुष्कर थापाले प्रतियोगिता नमुनाका रूपमा आयोजना गरिएको भए पनि हरेक नागरिकले फोहोरप्रति घृणा नगरी त्यसको व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्रतियोगिताको उद्देश्य सफलतापूर्वक पूरा भएको उल्लेख गर्दै आगामी दिनमा प्लास्टिकजन्य फोहोरलाई नजलाएर वैज्ञानिक र दिगो तरिकाले व्यवस्थापन गर्ने कार्यमा वीरेन्द्रनगर नगरपालिका प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मिति २०८२/१०/१८ गते आइतबार नगरप्रमुखज्यूको हातबाट प्रमाणपत्र तथा उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र १ जना महिला रहेका छन्। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले मंगलबार चाटर्ड विमानमार्फत उनीहरूलाई अमेरिकाबाट काठमाडौं ल्याइएको जानकारी दिए। आइपुगेपछि उनीहरूलाई आवश्यक सोधपुछ गरी छाडिएको विभागले जनाएको छ। महानिर्देशक तिवारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सम्हालेयता सन् २०२४ जनवरी २० देखि हालसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ५ सय ४३ पुगेको छ। डिपोर्ट भई आएका ८० जनासँग अध्यागमन विभागसँगै नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले पनि सोधपुछ तथा कागजी प्रक्रिया पूरा गरेर छाडेको छ। विभागका अनुसार डिपोर्ट हुनेहरूमा आवश्यक कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपाली नागरिकहरू रहेका छन्।

काठमाडौँ । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा बढीले घटेको छ। अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन्। अघिल्लो वर्ष सन् २०२४ मा १६ लाख ७४ हजार २ सय २५ जना नेपाली विदेश गएका थिए। विभागका अनुसार २०२४ को तुलनामा २०२५ मा विदेश जाने नेपालीको सङ्ख्या १ लाख ५१ हजार २ सय २५ जनाले घटेको हो। अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार सन् २०२५ मा १३ लाख १३ हजार १ सय ९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्। सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण उडान कटौती हुँदा धेरै नेपाली भारतीय विमानस्थल प्रयोग गरी विदेश गएको समाचार सार्वजनिक भएका थिए। यस्तै, नवयुवा आन्दोलनपछि विभिन्न देशले श्रमिक लैजाने सङ्ख्या घटाउँदा पनि विदेशिने नेपालीको सङ्ख्यामा कमी आएको विभागले जनाएको छ।

जाजरकोट — पछिल्लो समय TikTok, Facebook र YouTube जस्ता सामाजिक सञ्जालमा निकै चर्चामा आएका बरेकोटका भ्लगर गणेश सिंह (JRG Vlogs) ले आफ्ना वास्तविक जीवनका संघर्ष र गाउँले परिवेशलाई भ्लगमार्फत प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका छन्। कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बरेकोट गाउँपालिकाको एक दुर्गम क्षेत्रमा जन्मिएका गणेश सिंह सानैदेखि जिद्दी र फरक सोच भएका व्यक्ति हुन्। पढाइ–लेखाइभन्दा बाहिरका विषयमा बढी रुचि राख्ने उनी पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण १८ वर्षको उमेरमै जिम्मेवारी र सपनाको भारी बोकेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य भए। विदेश जाने क्रममा साउसँग १०० रुपैयाँको ५ रुपैयाँ ब्याजदरमा करिब २० लाख रुपैयाँ ऋण लिएर गएका गणेश दलालको ठगीमा परे। उनी ११ महिनासम्म अलपत्र परेपछि बल्लतल्ल नेपाल फर्किन सफल भए। नेपाल फर्किएपछि पनि साउको ऋणले उनलाई सहज जीवन जिउन दिएन। करिब १–२ वर्षसम्म काठमाडौंमा कामको खोजीमा भौतारिँदा कहिले सडकमै खाएर सुत्नुपर्यो भने कहिले साथीहरूको कोठामा आश्रय लिनुपर्यो। बाल्यकालदेखि नै भ्लगर बन्ने ठूलो सपना बोकेका गणेश केही समयपछि गाउँ फर्किए। गाउँमा बेरोजगारी र ऋणको चापबीच उनले नगरेको काम छैन भन्ने उनी स्वयं बताउँछन्। यही संघर्षबीच उनले भान्जाको मोबाइल प्रयोग गरेर भिडियो बनाउँदै भ्लग यात्रा सुरु गरे। सुरुमा आफ्नै गाउँका दार्शनिक पात्रदेखि गाउँकै रमित उपनामले चिनिने खरायोसमेत भ्लगमा समेट्दै आएका गणेशले पछि गाउँकै स्थानीय भाषामा “बोई” र “बाई” शीर्षकका भिडियो सार्वजनिक गर्न थाले। यी भिडियोहरू दर्शकमाझ अत्यन्त लोकप्रिय बने र “बोई” पात्रलाई दर्शकले विशेष माया दिन थाले। मानिसका आ–आफ्ना सोच र दृष्टिकोण भए पनि गणेश सिंह आफू नखाई अरूको भलो चाहने व्यक्ति भएको गाउँले बताउँछन्। उनले भ्लगमा देखिने “बोई” पात्रलाई कहिले कपडा, कहिले सोलार बत्ती, कहिले आर्थिक सहयोग त कहिले खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गर्दै आएका छन्। हाल गणेश सिंहको YouTube च्यानल JRG Vlogs समेत सञ्चालनमा छ, जहाँ उनी ग्रामीण जीवन, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर सामग्री प्रस्तुत गर्दै आएका छन्। साधारण गाउँबाट सुरु भएको उनको यो यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले प्रकृति, पितृ तथा इष्टदेवप्रति कृतज्ञता व्यक्त गर्दै उधौली पर्व देशभर मनाइरहेको छ। सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएकाले विभिन्न स्थानमा उधौली विशेष कार्यक्रमहरू आयोजना हुँदैछन्। किराँत समुदायभित्रका विभिन्न समूहले उधौलीलाई फरक–फरक नामले पुकारे पनि यसको मूल भावना एउटै छ—प्रकृतिले दिएको अन्नबालीका लागि धन्यवाद व्यक्त गर्ने। याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उधौली सकेला’ तथा लिम्बूहरूले ‘चासोक तङ्नाम’ का नामले यो पर्व मनाउँछन्। लिम्बू समुदायले तीन दिनअघि नै चासोक तङ्नाम सुरु गरिसकेको थियो। किरात संस्कृतिका अनुसन्धानकर्ता कीर्तिकुमार दुमी राईका अनुसार किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, पितृलाई सम्झने र नयाँ बाली खाने अनुमति माग्ने परम्परालाई उधौलीका रूपमा मनाउने गर्छ। यसैगरी बाली लगाउने समयमा ‘उँभौली’ पर्व मनाइने चलन छ, जहाँ राम्रो खेतीपातीका लागि प्रार्थना गरिन्छ। उधौली पर्वको अवसरमा बिहानैदेखि किराँत पुरुष तथा महिलाहरू जातीय वेशभूषामा सज़िएर च्याब्रुङ बाजाका तालमा धान नाच गर्दै भूमिपूजाका लागि धार्मिक स्थलमा पुग्ने गर्छन्। ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक तीर्थस्थल मानिने भएकाले आज त्यहाँ विशेष भीड छ। लिम्बूहरूले युमासामाङ–थेवासामाङलाई इष्टदेव मानेर पूजा गर्छन् भने किराँत समुदायले तागेरा निङ्वाफुमाङलाई स्वरूपहीन अदृश्य शक्तिको रूपमा पुज्ने गर्छ। पूजापछि चण्डीनाच, च्याब्रुङ नाच, ढोलनाचलगायत परम्परागत नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ। खेलकुद प्रतियोगिता र सामूहिक उत्सवले पर्वलाई अझ उत्साहपूर्ण बनाउँछ। उँभौलीमा गर्मी चढ्दै जाँदा लेकतिर जाने र उधौलीमा जाडो बढेपछि तल झर्ने प्राचीन प्रचलनलाई वातावरणअनुकूल जीवनशैलीको प्रतीकका रूपमा समेत लिने गरिएको अनुसन्धानकर्ता राईको भनाइ छ। उधौली खेतीपाती राम्रो भएकोमा धन्यवाद दिने र समृद्धिको कामना गर्ने पर्वका रूपमा मनाइन्छ। आज मनाइने उधौली, खस आर्य समुदायको धान्य पूर्णिमा र नेवार समुदायको ‘यः मरि पुन्हि’ अर्थात् ‘योमरी पूर्णिमा’ सबैको मूल भाव एउटै—नयाँ अन्नबालीका लागि धन्यवाद र देवप्रति अर्पण। विगतमा कटौती गरिएको बिदालाई पुनः प्रदान गर्दै सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिका अन्तरगत प्रभाावित पर्ने वडा न: ३ र ४ मा रहेका सामुदायिक वन समूह, सरकारी वन, ब्यक्तिगत वन, आवास, बगैँचा तथा ऐलानी घरजग्गा भएका प्रत्यक्ष प्रभावितहरुलाइ बोलाएर सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको बेतन–दोधारा ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रमका सभाअध्यक्ष आदेश कुमार जि सी र चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख अतिथिमा सम्पन्न भएको छ । कम्पनीले कर्णाली नदी कोरिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने २ हजार ६४७ मेगावाट विद्युत् प्रसारण गर्न बेतन सबस्टेसनदेखि दोधारा सबस्टेसनसम्म ३६.७१ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । कार्यक्रम ४०० के भी प्रसारण लाईन वन अधिकृत करन र्गुधामीले संचालन गर्नु भएको थियो । सो क्रममा वातावरणीय प्रभावका बिषयमा वातावरण अधिकृत सुदेश जोशीले प्रष्ट्याउनु भएको थियो । त्यसै गरि आयोजना प्रमुख आदेश कुमार जी सीले उठेका प्रश्नहरुको उत्तर दिने काम र आयोजनाको वारेमा बताउनु भएको थियो । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा न २ का वडा अध्यक्ष मायाराम जैशी ,वडा न ३ का वडा अध्यक्ष गणेश कुमार राना ,वडा न ४ का वडा अध्यक्ष टोप बहादुर बि सी लगायत विभिन्न सामुदायिक वनका अध्यक्ष , युवा तथा सरोकारवालाले आआफ्ना मुआब्जाका बारेमा प्रश्न गर्नु भएको थियो ।

कर्णाली । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्। मंगलवार सुर्खेत वीरेन्द्रनगरमा ‘जाउँ है बेगनास पोखरा प्रवर्द्धन कार्यक्रम’ लिएर आएका होटेल एण्ड रेस्टुरेन्ट एशोसिएशन लेखनाथ पोखरा कास्कीको भ्रमण टोलीसँगको छलफलमा मन्त्री अधिकारीले कर्णाली र गण्डकी दुवै प्रदेशमा पर्यटकीय दृष्टिले अपार सम्भावना रहेको बताए। उनले भने, “पूर्वाधारका हिसाबले कर्णाली केही कमजोर देखिए पनि यहाँ धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका अनेक सम्भावना छन्। यी सम्पदाहरूको प्रचार–प्रसार र प्रवर्द्धनमा सरकार गम्भीर रूपमा लागेको छ।” मन्त्री अधिकारीले बेगनास पोखरा र कर्णालीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य र प्रचारात्मक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार मध्यपहाडी लोकमार्गले अब कर्णाली र गण्डकी प्रदेशलाई जोडेर पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गर्नेछ। छलफलमा कर्णाली प्रदेश पर्यटन बोर्डका सदस्य तथा व्यवसायी पदमबहादुर शाहीले पर्यटन क्षेत्रले रोजगारी सिर्जना गर्नका साथै आम्दानी र राज्यको राजस्व वृद्धि गर्न योगदान पुर्याउने बताए। उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र राज्यबीचको सहकार्य अपरिहार्य भएको उल्लेख गरे। होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथ पोखरा कास्कीका अध्यक्ष वीरभद्र कँडेलले पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा गरिएको यो भ्रमण अवलोकनले कर्णाली र बेगनासबीचको सम्बन्ध सुदृढ हुने र दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। उनका अनुसार हाल एशोसिएशनले बुटवल, बर्दिया र सुर्खेतको भ्रमणसमेत गरिरहेको छ। कार्यक्रममा उद्योग मन्त्रालयका निमित्त सचिव सुनिता केसी र वन निर्देशनालय सुर्खेतका निर्देशकले कर्णाली सरकारले लिएको पर्यटन नीति, गुरुयोजना, हालसम्म भएका प्रवर्द्धनका गतिविधि र आगामी रणनीति तथा लक्ष्यबारे प्रस्तुति दिएका थिए।