
काठमाडौँ । फिफा विश्वकप फुटबलबाट नेदरल्यान्ड्स बाहिरिएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन् ।यससँगै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग उनको दोस्रो कार्यकाल पनि समाप्त भएको छ । ६३ वर्षीय कोम्यानले आफ्नो वर्तमान सम्झौता सकिएपछि जिम्मेवारीमा नबस्ने निर्णयबारे नेदरल्यान्ड्स फुटबल सङ्घलाई जानकारी गराएका हुन् । उनको राजीनामाको घोषणा नेदरल्यान्ड्स विश्वकपको अन्तिम ३२ बाट बाहिरिएको केही घण्टापछि आएको हो । नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उपाधि जित्ने अपेक्षामा रहेको टोलीको यात्रा प्रारम्भिक नकआउट चरणमै टुंगिएपछि कोम्यानले पद छाड्ने निर्णय गरेका हुन् ।

South Korea विश्वकपबाट समूह चरणमै बाहिरिएपछि देशभर निराशा र आक्रोश चुलिएको छ। समर्थकहरू, सञ्चारमाध्यम र राजनीतिक नेतृत्वबाट तीव्र आलोचना भएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक Hong Myung-boले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रशिक्षक हङले पत्रकार सम्मेलनमार्फत टोलीको निराशाजनक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै समर्थकसँग माफी मागेका छन्। उनले विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै पद छाड्ने निर्णय सुनाएका हुन्। विश्वकपअघि नकआउट चरण पुग्ने अपेक्षा गरिएको दक्षिण कोरिया समूह चरणमै बाहिरिएपछि समर्थकहरू निकै असन्तुष्ट बनेका छन्। सामाजिक सञ्जालमा टोलीको प्रदर्शन, रणनीति र फुटबल संघको व्यवस्थापनमाथि व्यापक आलोचना भइरहेको छ। केही समर्थकहरूले खेलाडीहरूको स्वागत कार्यक्रमसमेत बहिष्कार गर्नुपर्ने आवाज उठाएका छन्। यसबीच Lee Jae-myungले पनि टोलीको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल कार्यक्रम र प्रशिक्षक नियुक्ति प्रक्रियाबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले इरानको सामना गर्ने भएको छ। नेपाल र इरानबीचको खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ। यसअघि आजै दिउँसो साढे २ बजे पहिलो सेमिफाइनलमा भारत र काजकिस्तान भिड्नेछन्। समूह चरणमा पुल ‘ए’ मा रहेको नेपाल दुई खेलमा जित निकाल्दै ७ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। इरान भने पुल ‘बी’ मा लगातार तीनै खेल जित्दै अन्तिम चारमा पुगेको हो। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्। नेपाल समूह चरणमा भारत, किर्गिस्तान र माल्दिभ्ससँग एउटै समूहमा रहेको थियो। प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। टोलीमा उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्।

काठमाडौँ – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को फिफा विश्वकप फुटबलमा सहभागिता नजनाउने बताएका छन्। मन्त्री डोन्यामालीका अनुसार प्रतियोगिताको सह–आयोजक अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई आक्रमण गरेपछि इरानले विश्वकपमा भाग लिन नसक्ने अवस्था सिर्जना भएको हो। आफ्ना खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै विश्वकपमा सहभागिता जनाउन नसकिने उनले बताएका छन्। उनको उक्त भनाइबारे इरानी फुटबल सङ्घ तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। ४८ टोली सहभागी हुने सन् २०२६ को विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने तालिका रहेको छ। प्रतियोगितामा इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग रहेको छ। यसैबीच अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप बढेको बताइएको छ।

आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्व विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको विश्वकपको उद्घाटन खेल आइतबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ। विश्वकपका सबै खेलहरू नेपालले मुम्बईको वानखेडे रंगशालामै खेल्नेछ। नेपालका लागि आजको खेल विशेष महत्त्वपूर्ण मानिएको छ, किनभने अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेको हो। नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपबाट पहिलोपटक विश्वकप यात्रा सुरु गरेको थियो। दोस्रोपटक विश्वकप खेल्न नेपालले १० वर्ष कुर्नुपरेको हो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो पहिचान बलियो बनाएको थियो। दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो। यसअघि दुई पटक विश्वकप खेलेको नेपाल समूह चरण पार गर्न भने सकेको छैन। यो विश्वकप पनि नेपालले कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा खेल्दैछ। सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाल विश्वकपमा समूह ‘सी’ मा रहेको छ। यस समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले विश्वकप खेल्ने अवसर पाएको हो। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्। नेपालले आज इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्न लागेको छ। पहिलो खेल नै विश्व विजेता टोलीविरुद्ध भएकाले यो खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक र चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।

मेलबर्न। अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा स्पेनका चौथो वरीयताका कार्लोस अल्कारेजले पुरुष एकल उपाधि आफ्नो नाम गरेका छन्। आइतबार भएको फाइनलमा उनले शीर्ष वरीयताका सर्बियाली नोभाक जोकोभिचलाई ३–१ को सेटमा पराजित गरे। पहिलो सेट ६–२ ले जोकोभिचले जिते पनि, अल्कारेजले बाँकी सेटहरू ६–२, ६–३ र ७–५ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरे। हारसँगै जोकोभिचले २४ ग्रान्डस्लाम पुरुष एकल उपाधिमा आफ्नो कीर्तिमान बनाउने अवसर गुमाए। हाल उनी २४ ग्रान्डस्लाम जितेका छन्, जसले पुरुषतर्फ सबैभन्दा धेरै उपाधि जित्ने रेकर्डमा आफ्नो स्थान बनाउनुपर्ने थियो। पुरुषतर्फ स्पेनका राफेल नाडालले २२ र स्विजरल्याण्डका रोजर फेडेररले २० ग्रान्डस्लाम जितेका छन्। महिला एकलतर्फ अमेरिकाकी सेरेना विलियम्स २३ र मार्गरेट कोर्ट २४ ग्रान्डस्लाम उपाधिसहित शीर्ष स्थानमा छन्।

काठमाडौँ। मोरक्को र सेनेगल जारी अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न क्वाटरफाइनल खेलमा मोरक्कोले क्यामरुनलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले एक–एक गोल गरे। सेमिफाइनलमा मोरक्कोले अल्जेरिया र नाइजेरियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अर्को क्वाटरफाइनल खेलमा सेनेगलले मालीलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सेनेगलका लागि लिमान एनडियेले गरेको गोल नै निर्णायक बन्यो। खेलको पहिलो हाफको अन्त्यतिर मालीका यभ्स बिसोउमाले रातो कार्ड पाएपछि माली १० खेलाडीमा सीमित भएको थियो। अब सेनेगलले सेमिफाइनलमा इजिप्ट र आइभरी कोष्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ – बंगलादेश सरकारले देशभित्र इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारणमा प्रतिबन्ध लगाएको छ। बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना जारी नहुँदासम्म आईपीएलको कुनै पनि खेल प्रसारण नगर्न आदेश दिएको हो। बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट हटाइएपछि उत्पन्न विवादका बीच सरकारले यस्तो निर्णय गरेको हो। मुस्ताफिजुरलाई टोलीबाट निकालिएको विषयलाई लिएर बंगलादेशमा तीव्र प्रतिक्रिया देखिएको छ। यसअघि युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुर रहमानमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै सूचना तथा प्रसारण सल्लाहकारलाई आगामी आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक कदम चाल्न आग्रह गरेका थिए। उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्र लेख्दै आगामी टी–२० क्रिकेट विश्वकपमा बंगलादेशका खेलहरू भारतको सट्टा श्रीलंकामा सार्न अनुरोध गर्न निर्देशनसमेत दिएका छन्। यसैबीच, बंगलादेश क्रिकेट बोर्डले २०२६ को टी–२० विश्वकप खेल्न बंगलादेश टोली भारत भ्रमण नगर्ने निर्णय गरेको जनाएको छ। सरकार र क्रिकेट बोर्डका पछिल्ला निर्णयहरूले बंगलादेश–भारत क्रिकेट सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ।

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका प्रान्तमा भएको पाकिस्तानी आक्रमणमा कबीर, सिब्घतुल्लाह र हारुन नामका तीन खेलाडीले ज्यान गुमाएका छन्। एसीबीले शुक्रबार साँझ भएको सो आक्रमणको निन्दा गर्दै आगामी नोभेम्बरमा पाकिस्तानसँग खेलिन लागेको त्रिकोणीय टी-२० सिरिजमा भाग नलिने निर्णय गरेको छ। बोर्डले सामाजिक सञ्जालमार्फत तीनै खेलाडीका तस्बिर सार्वजनिक गर्दै भनेको छ, “यी खेलाडीहरूलाई पाकिस्तानबाट गरिएको लक्षित आक्रमणमा ज्यान गुमाउनुपर्यो। यो खेल र मानवताको विरोधमा गरिएको अमानवीय कार्य हो।” बोर्डका अनुसार सो घटनामा खेलाडीहरूसहित अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ। एसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रा प्रिय खेलाडीहरूप्रति सम्मानस्वरूप र यस दुखद घटनाप्रति विरोध जनाउँदै, अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानसँग नोभेम्बरको अन्त्यमा हुने त्रिकोणीय टी-२० सिरिजबाट फिर्ता लिने निर्णय गरेको छ।” उक्त सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा आयोजना हुने तय भएको थियो। यस घटनाबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

नयाँ दिल्ली । आगामी एसिया कपमा भारत र पाकिस्तानबीच तीन पटकसम्म खेल हुने संभावना देखिएको छ। भारत सरकारले बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न कुनै प्रतिबन्ध नरहेको स्पष्ट पारेको छ। भारतको खेलकुद मन्त्रालयका अनुसार द्विपक्षीय शृङ्खलामा भने अडान यथावत रहनेछ। भारतीय टोलीले पाकिस्तानमा प्रत्यक्ष खेल्न नजाने र पाकिस्तानलाई पनि भारतमा खेल्न अनुमति नदिने निर्णय कायम रहनेछ। तर, बहुराष्ट्रिय प्रतियोगितामा भने दुबै देशका टोलीले भाग लिन पाउनेछन्। यस पटक एसिया कपको आयोजना भारतले गर्ने भए पनि पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा सारिएको छ। प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु हुँदैछ। भारतीय टोलीले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा युएईविरुद्ध खेल्नेछ। भारत र पाकिस्तानबीच पहिलो भिडन्त सेप्टेम्बर १४ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। सुपर–४ चरणमा दुवै टोली पुगे सेप्टेम्बर २१ मा दोस्रो पटक भेट हुने सम्भावना छ। यदि दुवै टोली फाइनलमा प्रवेश गरे भने तेस्रो खेल पनि सेप्टेम्बर २८ मा हुने सम्भावना रहेको छ।

साउन ३०। अस्ट्रेलियाको डार्बिनमा शुक्रबारदेखि सुरु भएको टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आफ्नो पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) विरुद्ध खेलिरहेको छ। टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको पहिलो खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसहित लोकेश बम, रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, सन्दीप लामिछाने र साहब आलम मैदानमा उत्रिएका छन्। सिरिजमा अस्ट्रेलियाको बिग ब्यासका एकेडेमी टोलीहरू, पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ टोलीसमेत सहभागी छन्। नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ। यो भ्रमण आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोटको तयारीको हिस्सा हो। सिरिजपछि नेपालले अस्ट्रेलियामा थप एक साता अभ्यास गर्नेछ र क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई तथा साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई गरी चार वटा टी-२० खेल खेल्नेछ। त्यसपछि ३० अगस्टमा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल हुने कार्यक्रम छ। अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ। एसिया–ईस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोली सहभागी हुनेछन् र शीर्ष तीन टोलीले आगामी वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्। नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, साहब आलम।

घरेलु टोली बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सात विकेटको सहज जित हासिल गरेको छ । आइतबार मिरपुरमा सम्पन्न खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा मात्र ११० रनमा समेटियो । ओपनर फखर जमानले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। बंगलादेशका बलरहरू प्रभावशाली देखिए तक्सिन अहमेदले ३ विकेट लिँदा २२ रन खर्चिए भने मुस्ताफिजुर रहमानले २ विकेट लिँदा केवल ६ रन मात्रै दिए। लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशले १५.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा ११२ रन जोड्दै सहज जित दर्ता गर्यो। जितको आधार ओपनर प्रभेज हुसेन रहे, जसले ३९ बलमा ३ चौका र ५ छक्का सहित ५६ रनको उत्कृष्ट पारी खेले । यस जितसँगै तीन खेलको टी–२० शृंखलामा बंगलादेशले १–० को अग्रता लिएको छ।

एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत समूह एफमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। फिफा वरियतामा नेपाल १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा रहेको छ। हालसम्म नेपालले मलेसियासँग खेलेका सातै खेलमा पराजय व्यहोरेको छ। अन्तिम पटक सन् २०१९ मा नेपाल २-० ले पराजित भएको थियो भने सन् १९८३ मा ७-० को फराकिलो हार बेहोरेको थियो।

युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगललाई पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। गएराति सम्पन्न खेलमा डेनमार्कले पोर्चुगललाई १-० गोल अन्तरले हराएको हो। खेलको ७८औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै निर्णायक बन्यो। गोल गरेपछि होजलुन्डले आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोकै अगाडि उनको चर्चित सेलिब्रेसन गर्दै उत्सव मनाएका थिए। खेलको २४औं मिनेटमा डेनमार्कका क्रिस्टियन इरिक्सनले पेनाल्टी मिस गरेका थिए, जसका कारण खेलको सुरुवाती लय डेनमार्कका लागि चुनौतीपूर्ण बनेको थियो। अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा पोर्चुगलको घरेलु मैदानमा खेलिनेछ। अन्य क्वाटरफाइनल खेलहरूमा, नेदरल्याण्ड्स र स्पेनले २-२ गोलको बराबरी खेलेका छन् भने जर्मनीले इटालीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पहिलो सेमिफाइनल खेल आज भारत र अस्ट्रेलियाबीच हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराह्न २:४५ बजेबाट सुरु हुनेछ । भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने अस्ट्रेलिया समूह ‘बी’ को उपविजेता रहँदै सेमिफाइनलसम्म आइपुगेको हो । दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन्, जसले गर्दा यो खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । भारत र अस्ट्रेलियाबीच अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा सधैं रोचक रहँदै आएको छ । सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको थियो । यस सेमिफाइनल खेल भारतका लागि पुनः बदला लिने अवसर हुन सक्छ । एकदिवसीय क्रिकेटमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १५१ खेल भएका छन्, जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल आफ्नो पक्षमा पारेको छ । १० खेल भने नतिजाविहीन भएका छन् । यी तथ्यांकले अस्ट्रेलियाको मजबुत स्थितिलाई देखाए पनि भारत हाल उत्कृष्ट लयमा रहेको छ । त्यस्तै, दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदैछ । यस प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ, जसमा पहिलो सेमिफाइनल विजेता र दोस्रो सेमिफाइनल विजेता उपाधिका लागि भिड्नेछन् । आजको खेलमा कुन टोली विजयी बन्नेछ भन्ने कुराले क्रिकेटप्रेमीहरूमा उत्साह थपेको छ ।