
कञ्चनपुर– महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्काएको छ। बुधबार बिहान करिब ८ बजे आएको बाढीले पुलको बीच भागमा रहेको पिलर बगाएपछि पुलको ठूलो हिस्सा नदीमा खसेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फको छैटौँ र दोधारा–चाँदनीतर्फको तेस्रो नम्बरको पिलरमा क्षति पुगेको छ। पिलर भत्किएसँगै पुलको संरचनामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। पुल भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त क्षेत्रबीचको आवतजावत प्रभावित भएको छ। सुरक्षाकर्मीले घटनास्थलको निरीक्षण गरी अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।

विराटनगर– तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–६ सरोचियास्थित एक घरमा सोमबार राति प्रहरी पुगेपछि भाग्ने क्रममा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला सामान्य घाइते भएका थिए। प्रहरीले कोइरालासहित आठ जनालाई नियन्त्रणमा लिएको थियो। हिरासतमा रहेका कोइराला मंगलबार बिहान अचेत अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेका हुन्। भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाले घरको दोस्रो तलाबाट हामफाल्दा दाहिने खुट्टा भाँचिएको छ। उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा समेत रोक लगाइएको छ। ललितपुरको कान्तिलोकपथअन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ। बागमती गाउँपालिका–३ टाकुर्चेमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहितका सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्ग तथा भित्री सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ। अत्यावश्यक सेवाका सवारी भने प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिने जनाइएको छ। त्यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। चितवन तथा आसपासमा बाढी–पहिरोको जोखिमका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पनि सम्पूर्ण सवारी आवागमन बन्द गरिएको छ। धादिङको पृथ्वीराजमार्गमा पनि बाढी–पहिरोको जोखिमका कारण आवागमन रोकिएको छ। बेनिघाट रोराङ–१० पानीधारामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ भने कृष्णभिर, गौमतीखोला, चालिसे र परेवाभिर क्षेत्रमा पहिरोका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल देशभर अधिकांश भू–भागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुनसक्ने जनाइएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थान तथा कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।

काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा पनि वर्षा हुनसक्नेछ। राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना समेत रहेको छ।

काठमाडौं। देशभर भइरहेको अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा विशेषगरी दुर्गम, पहाडी तथा हिमाली क्षेत्रतर्फका आन्तरिक हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भोजपुर, फाप्लु तथा विभिन्न हिमाली क्षेत्रका उडान प्रभावित भएका छन्। यति एयरलाइन्सको माउन्टेन फ्लाइट, सीता एयरको लुक्ला उडान, बुद्ध एयर र श्री एयरलाइन्सका माउन्टेन फ्लाइट तथा नेपाल एयरलाइन्सको भोजपुर उडान रद्द भएका छन्। त्यस्तै पोखरा र भरतपुरतर्फका उडानमा पनि ढिलाइ भएको विमानस्थलले जनाएको छ। लुक्ला र फाप्लुतर्फका उडानसमेत मौसमका कारण प्रभावित छन्। काठमाडौंलाई देशका विभिन्न स्थानसँग जोड्ने ट्रंक रुटका उडान भने ढिलाइ भए पनि सञ्चालनमा रहेका छन्। प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड लागेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ भने हालसम्म मौसमका कारण कुनै उल्लेखनीय अवरोध देखिएको छैन। बिहानदेखि १० वटा अन्तर्राष्ट्रिय जहाज अवतरण र ९ वटा उडान सम्पन्न भएका छन्।

काठमाडौं। देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने जनाइएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने तथा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ । भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकाय, अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक औषधि, उपकरण, जनशक्ति तथा अन्य अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको हो। विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउन तथा सार्वजनिक बिदाका दिनमा समेत सम्पर्कमा रहने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ। त्यस्तै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखी विपद्को समयमा स्वास्थ्यसम्बन्धी सूचना र समन्वयलाई प्रभावकारी बनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

काठमाडौं। देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले बुधबार कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति कोशीका केही स्थानसहित बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने जनाइएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

चितवन, भदौ २३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को भत्काउने काम तीव्र पारिएको छ। सोमबारदेखि आंशिक रूपमा सवारीसाधन रोकेर ढिस्को हटाउन सुरु गरिएकोमा मंगलबारदेखि ‘ब्याक ह्याम्बर’ प्रयोग गरिएको छ। डिभिजन सडक कार्यालय चितवनका अनुसार ढिस्को हटाउन मंगलबारदेखि ६ वटा ब्याक ह्याम्बर परिचालन गरिएको छ। आवश्यकताअनुसार थप उपकरण परिचालन गर्ने तयारीसमेत गरिएको छ। प्राविधिक तथा मजदुरहरू पेटीको सहायताले भिरमा झुन्डिएर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन्। गत वर्ष असोजमा ठूलो पहिरो खसेर १०४ घण्टा सडक अवरुद्ध भएपछि उक्त क्षेत्रलाई उच्च जोखिमका रूपमा लिइएको हो। नारायणगढतर्फको करिब १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइको भित्तोमा पहिरो रोकथामका लागि ढुंगा–माटो हटाएर ‘नेलिङ’ प्रविधिबाट रड तथा जाली लगाउने तयारी गरिएको छ। पहिरो नियन्त्रणको कामका लागि १० महिनामा सम्पन्न गर्ने गरी २२ करोड २१ लाख रुपैयाँमा बोलपत्र आह्वान गरिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा ४३ स्थान पहिरोको जोखिममा रहेकामा आठ स्थानलाई उच्च जोखिमका रूपमा पहिचान गरिएको छ।