
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा सम्पन्न खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टीमा स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले उत्कृष्ट प्रहार गर्दै जित सुनिश्चित गरे। यस रोमाञ्चक जितसँगै विश्वकपको अन्तिम १६ का खेलहरू सम्पन्न भएका छन्, जसले प्रतियोगितालाई अब उपाधिको नजिक पुर्याएको छ।

फुटबल जगतका महानायक क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम लागेको छ। अमेरिकाको डलासमा सोमबार राति सम्पन्न फिफा विश्वकपको राउन्ड अफ-१६ को रोमाञ्चक भिडन्तमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। खेलको अन्तिम समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई १६ वर्षपछि प्रतियोगिताको अन्तिम आठमा पुर्यायो भने पोर्चुगिज टोलीको उपाधि सपना अधुरै रह्यो। हारपछि मैदानमै भावुक देखिएका ४१ वर्षीय रोनाल्डोले आँसुका साथ आफ्नो अन्तिम विश्वकपबाट बिदाइ लिएका छन्। उनले आफूले सक्दो प्रयास गरेको बताउँदै यस विश्वकप आफ्नो करियरको अन्तिम संस्करण भएको औपचारिक पुष्टि गरेका छन्। सन् २००६ देखि २०२६ सम्मका लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै एक्लो खेलाडीको कीर्तिमान बनाएका रोनाल्डोले खेलजीवनभर कमाएको विरासत र गौरवमय रेकर्डका कारण यो क्षण विश्वभरका फुटबल प्रशंसकका लागि हृदयविदारक बनेको छ। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि यो हारसँगै टोलीको एक युग समाप्त भएको बताउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

कर्णाली। कर्णाली प्रदेश रङ्गशालामा पहिलोपटक नेपाली फुटबलका पुराना हस्तीहरू एकसाथ मैदानमा उत्रिने भएका छन्। आगामी शनिबार 'नेपाल लेजेन्ड्स' र 'कर्णाली लेजेन्ड्स'बीच हुन लागेको रोमाञ्चक मैत्रीपूर्ण फुटबल प्रतियोगिताले खेलप्रेमीमा उत्साह थपेको छ। ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने यो खेलमा एन्फाका पूर्वअध्यक्ष गणेश थापासहित उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा र हरि खड्का जस्ता दिग्गज खेलाडीहरूको सहभागिता रहने एकेडेमीका अध्यक्ष शशी केसीले पत्रकार सम्मेलन गरेर जानकारी दिए । स्थानीय खेलाडीहरूको मनोबल बढाउन र प्रदेशमा खेल संस्कृतिको विकास गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी र ललित बसेललगायतले प्रतिस्पर्धा गर्नेछन्। कर्णालीको खेल इतिहासमै पहिलोपटक पूर्वराष्ट्रिय खेलाडीहरूले एउटै मैदानमा पसिना बगाउने भएकाले यो खेललाई विशेष चासोका साथ हेरिएको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड ३२ को रोमाञ्चक भिडन्तमा क्रोएसियालाई २(१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। टोरन्टोमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर, ६८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। खेलको अन्तिम समयमा गोन्कालो रामोसले गरेको निर्णायक गोलले पोर्चुगलको जित सुनिश्चित गर्यो। यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो, जसले उनको उत्कृष्ट फर्मलाई प्रमाणित गरेको छ। पोर्चुगलको यो जितसँगै विश्वकपको नकआउट चरणको यात्रा थप रोचक बनेको छ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हुनुभन्दा तीन वर्षअघि नै अन्नपूर्णको शिखर चुमिएको थियो। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो हिमाल’ समेत भनिन्छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको यो हिमाल ८ हजार ९१ मिटर अग्लो छ। यस हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। नेपालको पर्यटन क्षेत्र र पर्वतारोहणको इतिहासमा यो दिनलाई विशेष मानिन्छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा आज विविध कार्यक्रम आयोजना गरिएको छ। दिवसका अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकतर्फको आधार शिविरमा दौड प्रतियोगिता आयोजना गरेको छ। त्यस्तै, नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा पनि अन्नपूर्ण आरोहण दिवस मनाइँदै छ। पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म ५ सय ३६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्। यस वर्षको वसन्तयाममा हिमाल चढ्नका लागि ४ वटा समूहका २७ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण भने अद्यावधिक भइरहेको विभागकी शाखा अधिकृत शर्मीला बञ्जाडेले जानकारी दिइन्। आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा २० जना धावक सहभागी छन्। दौडमा प्रथम हुनेले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन जनाले १०–१० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा यो प्रतियोगिता भएको हो। दौड सकिएपछि नारच्याङमा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित सोमबारदेखि सुरु भएको दिवसको समापन गरिने वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

सुर्खेत। “स्वस्थ शरीर र सभ्य समाज” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ सालको शुभअवसरमा दोभान असल शासन युवा क्लबले “दोभान खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३” आयोजना गर्ने भएको छ। कार्यक्रम २०८३ साल वैशाख १ गते चौकुने गाउँपालिका–६, झकमकेमा सञ्चालन हुने भएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहने आयोजकले जनाएको छ। स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको उक्त प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यससँगै गाउँघरमा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले हुड्केनाच पञ्चेबाजा, देउडा, मारुनी नाच, गीत तथा गजल जस्ता मौलिक सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिनेछन्। त्यसैगरी, “हाम्रो चौकुने, प्यारो चौकुने” शीर्षकमा निबन्ध लेखन तथा लागुऔषध विरुद्ध जनचेतनामूलक नाटक समेत कार्यक्रममा आकर्षणका रूपमा रहनेछन्। क्लबका अध्यक्ष लक्ष्मण विष्टका अनुसार महोत्सवले युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउँदै सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको बताएका छन् । कार्यक्रमको आयोजना दोभान असल शासन युवा क्लबले गरेको हो भने सह–आयोजनामा वडा नं. ६ को वडा कार्यालय रहेको छ। आर्थिक सहयोग चौकुने गाउँपालिकाले गरेको जनाइएको छ। सम्पर्कका लागि अध्यक्ष लक्ष्मण विष्ट (९८६४७९२१५१), उपाध्यक्ष भरत कुमार बयक (९७६२४३९३५५), सचिव अर्जुन थापा (९७६५८००८८१), कोषाध्यक्ष पार्वती ढकाल (९८६६१६९४९०) लगायत सदस्यहरूसँग सम्पर्क गर्न सकिने क्लबले जनाएको छ।

काठमाडौँ – आज घोडेजात्रा पर्व काठमाडौँ उपत्यकाभर धुमधामका साथ मनाइँदैछ। हरेक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने यस पर्वका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ। परम्पराअनुसार टुँडिखेल क्षेत्रमा बसोबास गर्ने गुरुमापा नामक राक्षसले बालबालिकालाई दुःख दिने विश्वास रहिआएको छ। सोही विश्वासका आधारमा घोडा कुदाएर उसको आत्मालाई कुल्ची दबाउने परम्परा रहिआएको हो। साथै आज राति उक्त स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि रहेको छ। यस पर्वको मुख्य आकर्षणका रूपमा नेपाली सेना ले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, युद्धकला तथा विभिन्न शारीरिक अभ्यासहरूको भव्य प्रदर्शन गर्दै आएको छ, जसले सर्वसाधारणको ध्यान आकर्षित गर्ने गर्दछ। यस्तै, ललितपुर मा पनि परम्परागत रूपमा ‘कानो घोडा’ दौडाएर घोडेजात्रा मनाउने गरिन्छ। पाटन क्षेत्रको यस जात्रामा स्थानीय गुठियारले घोडा चढी विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ। मल्लकालीन राजा शिवसिंह मल्ल ले यस परम्पराको सुरुवात गरेको विश्वास गरिन्छ। यसैबीच, तारकेश्वर नगरपालिका मा यस वर्ष पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव आयोजना गरिएको छ। नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा हुने महोत्सवमार्फत धर्म, संस्कृति र स्थानीय इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको जनाइएको छ। नगर प्रमुख कृष्णहरि महर्जन का अनुसार टुँडिखेलमा हुने कार्यक्रम हेर्न नपाउने सर्वसाधारणका लागि यो महोत्सव विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। घोडेजात्रा पर्वले नेपाली सांस्कृतिक परम्परा, आस्था र ऐतिहासिक विश्वासलाई जीवित राख्दै आएको एक महत्वपूर्ण पर्वका रूपमा चिनिन्छ।

नविन पि.एम, सल्यान। बनगाड कुपिण्डे नगरपालिका मा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार देखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रभाकर माध्यमिक विद्यालय देवस्थल मा गरिएको हो। नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा नगर खेलकुद विकास समिति अध्यक्ष रिमबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिता फागुन २ गतेसम्म तीन दिन सञ्चालन हुने नगर खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगितामा ८ सामुदायिक तथा २ संस्थागत (बोर्डिङ) गरी १० विद्यालयको सहभागिता रहेको छ। विभिन्न विधामा विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, १२ वटै वडाका वडाध्यक्षहरू, जिल्ला खेलकुद समितिका अध्यक्ष खड्क आचार्य, शिक्षक, विद्यार्थी खेलाडी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि हुने अपेक्षा गरेको जनाएको छ।

सुर्खेत। चेतना विध्या निकेतन को आयोजनामा खेलकुद सप्ताह पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार अायाेजित कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका १२ का वडा अध्यक्ष चूडामणि चपाईको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन कर्णाली प्रदेशका बरिष्ठ उपाध्यक्ष वेदप्रकाश ढकाल, प्याब्सन जिल्ला अध्यक्ष छत्रबहादुर बडुवाल, बौद्धिक एजुकेशन एकेडेमीका सञ्चालक कर्णबहादुर खत्री, ढाबकोलेरी सामुदायिक वनका अध्यक्ष गोविन्द पौडेल तथा पूर्व विद्यार्थी जेनित बिस्टको उपस्थिति रहेको थियो। साथै, करिब ७०० जना विधार्थी, अभिभावकहरू तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक हुमलाल भट्टराईले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन उपप्रधानाध्यापक लक्ष्मी रानाभाट तथा शिक्षक प्रचण्ड चन्दले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै पुरस्कार वितरण गरिएको थियो। वक्ताहरूले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै अनुशासित र सक्षम जनशक्ति उत्पादनमा यस्ता कार्यक्रमहरूको महत्व रहेको धारणा व्यक्त गर्नुभएको थियो।

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी छन्। जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले प्रहार गरेको बल चियर लिडर शर्मिला विकको अनुहारमा लागेपछि उनी गम्भीर रूपमा घाइते भएकी हुन्। बल लाग्नेबित्तिकै उनी रगताम्मे भएकी थिइन्। घाइते विकलाई तत्काल उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उनको अनुहारमा चोट लागेको छ र थप उपचार भइरहेको छ।

(एजेन्सी) – नेपाली क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको छ। नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै युनिटी कप टी–२० शृङ्खला एक खेल अगावै जितेको छ। गएराति संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रनको योगदान गरे। एकिम अगष्टले १७ तथा अमिर जांगोले १६ रन जोडे। नेपालका बलरमध्ये आदिल आलमले शानदार प्रदर्शन गर्दै ४ विकेट लिए। त्यस्तै, कुशल भुर्तेलले ३ विकेट झारे भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रन प्रहार गरे। सन्दीप जोराले आक्रमक ब्याटिङ गर्दै ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रन बनाए। मोहम्मद आदिल आलमले थप ११ रन जोडे। वेस्ट इन्डिजका बलरमध्ये कप्तान अकिल होसेन र कायल मायर्सले समान २–२ विकेट लिए भने जेडिया ब्लेड्सले १ विकेट हात पारे। पहिलो खेलमै वेस्ट इन्डिजलाई पराजित गरिसकेको नेपालले लगातार दोस्रो जितसँगै शृङ्खलाको उपाधि सुनिश्चित गरेको हो। यस ऐतिहासिक उपलब्धिसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नयाँ सफलता पाएको छ।

कालिकोट — पचाल झरना गाउँपालिकामा पर्याप्त भौतिक पूर्वाधारको अभावले खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ भएको छ। खेलमैदान नसमथर, न मापदण्डअनुसार भएकाले स्थानीय स्तरका प्रतियोगिताहरू विद्यालयको असुरक्षित मैदानमा सञ्चालन गर्न बाध्य हुने अवस्था छ। हालै दशैंको अवसरमा गाउँपालिका वडा नं ८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको मैदानमा ‘प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता’ आयोजना गरिएको छ। पालिकाभरका ९ टोली सहभागी भएको प्रतियोगिता विद्यालयकै साँघुरो मैदानमा खेलाइएको छ। मैदान न मापदण्डअनुसार छ, न त सुरक्षित, जसका कारण नियमअनुसार १५ खेलाडी (सब्स्टिच्युटसहित) दर्ता गर्नुपर्नेमा खेलाडीहरूलाई ६/६ जनाको टिम बनाएर खेल्न बाध्य पारिएको छ। गाउँपालिकाले करिब १०० मिटर लामो र ३५ मिटर चौडा एक खेलमैदान निर्माण गरे पनि त्यो अझै प्रयोगयोग्य छैन। मैदान ढुंगाम्याटो मात्रै भएको र अन्य संरचना नबनाइएकाले त्यहाँ कुनै खेल प्रतियोगिता सञ्चालन हुन सकेको छैन। गाउँपालिकाभित्र अन्य वडामा पनि खेलमैदान निर्माणका कामहरू सुरु भए पनि अधिकांश अधुरै छन्। पूर्वाधारको कमीले खेल गतिविधि असुरक्षित र असुविधाजनक वातावरणमा सञ्चालन गर्नुपरेको स्थानीयको गुनासो छ। फुटबल र फुटसलजस्ता खेल त विरलै आयोजना हुने गरेका छन् भने अन्य खेलकुद गतिविधिहरू पनि आधारभूत संरचना अभावकै कारण प्रभावित छन्। खेलकुद विकासका लागि आवश्यक मैदान, समथर स्थल, दर्शकदीर्घा, शौचालय, बत्ती र सुरक्षात्मक व्यवस्थासहितका पूर्वाधार तत्कालै निर्माण गर्नुपर्ने माग स्थानीय क्लब तथा सरोकारवालाले उठाएका छन्। अब सरकार र सम्बन्धित निकायले गाउँस्तरमै खेल पूर्वाधारको विकासमा ध्यान नदिएसम्म खेलाडीहरूको क्षमता दविइरहने चेतावनी सरोकारवालाले दिएका छन्।

लन्डन। सुर्खेतका प्रतिभाशाली बक्सर बाबु मल्ल ठकुरीले लन्डनमा आयोजित एक प्रतिष्ठित खुला बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका छन । द ह्वाइट कलर फाइट क्लब लन्डनको आयोजनामा सम्पन्न प्रतियोगिताको ८० के.जी. तौल समूहमा उनले यो ऐतिहासिक सफलता हासिल गरेका हुन । प्रतियोगिताको फाइनलमा ठकुरीले स्कटल्याण्डका प्रतिस्पर्धी जियान हर्नान्डेजलाई पहिलो राउन्डमै पराजित गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा पारेका थिए । सन् २०२३ देखि बेलायतको लन्डनमा रहेर व्यावसायिक प्रशिक्षण लिइरहेएका ठकुरीको यो जित उनको निरन्तरको लगनशीलता, कठोर परिश्रम र अदम्य आत्मविश्वासको प्रतिफल हो । उनको मेहनत र अनुशासनले आज यो गौरवपूर्ण क्षण सम्भव भएको छ । सुर्खेतको यरीचोक निवासी ठकुरीको यस सफलताले बेलायतमा रहेका नेपाली समुदायमा खुसीको लहर छाएको छ । सुर्खेत जिल्ला समाज युकेले एक विज्ञप्ति जारी गर्दै ठकुरीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। समाजले उहाँको यो उपलब्धिले राष्ट्रको नाम उज्ज्वल बनाएको र आगामी दिनमा अझ ठूला सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ । बाबु मल्ल ठकुरीको यो जितले नेपाली खेलकुदमा, विशेष गरी बक्सिङमा, नयाँ सम्भावना र उत्साह थपेको छ । आगामी दिनमा उनले अझ उचाइका सफलता हासिल गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा थप बक्सिङकाे क्षेत्रमा नाम कमाउने छन भन्ने विश्वास लिइएको सुर्खेत जिल्ला समाज युकेले जनाएकाे छ ।

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एक अत्यन्तै रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूले चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बेंग्लुरूले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २१३ रनको विशाल स्कोर बनायो। ओपनर जेकब बेथेलले ५५ र विराट कोहलीले ६२ रनको उत्कृष्ट योगदान दिए। अन्तिमतिर रोमारियो शेफर्डले केवल १४ बलमा नट आउट ५३ रन बनाउँदै टिमलाई बलियो अवस्थामा पुर्याए। जवाफमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्स २११ रनमै समेटियो। अन्तिम ओभरमा चेन्नईलाई ६ रन चाहिएको थियो तर यश दयालको कसीएको बलिङ र महेन्द्रसिंह धोनीको विकेट पतनले चेन्नईलाई दबाबमा पार्यो। शिबम दुबेले एक छक्का हाने पनि अन्तिम तीन बलमा आवश्यक रन पूरा गर्न नसक्दा चेन्नई पराजित भयो। चेन्नईका लागि रविन्द्र जडेजाले नट आउट ७७ रनको लडाकू पारी खेले भने आयुश महात्रेले ९४ रन बनाएका थिए। तर अन्य ब्याटर खासै चम्कन सकेनन्। बेंग्लुरूका लागि लुंगी एन्गिडीले तीन विकेट लिए भने क्रुनाल पाण्डे र यश दयालले एक/एक विकेट झारे। यो जितसँगै बेंग्लुरूले ११ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थान कब्जा गरेको छ। अर्कोतर्फ चेन्नईले समान खेलबाट केवल ४ अंक मात्र जोड्न सकेको छ र तालिकाको पुछारमा पुगेको छ। उसले हालसम्म जम्मा दुई खेल मात्र जितेको छ। अद्भुत ब्याटिङ, कडा बलिङ र अन्तिम ओभरको रोमाञ्चक ड्रामाले यो खेललाई सिजनको एक यादगार क्षण बनायो।

काठमाडौं । लगातार छैटौँ जित हासिल गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अंक तालिकाको शीर्ष स्थानमा छ। बिहीबार जयपुरमा भएको खेलमा मुम्बईले घरेलु टोली राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै प्लेअफ स्थान पक्का गरेको छ, भने राजस्थान प्रतियोगिताबाट बाहिरिएको छ। जयपुरमा सन् २०१२ यता पहिलो पटक जित निकाल्दै मुम्बईले २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेट गुमाएर २१७ रन बनायो। मुम्बईका ओपनर रेन रिकेल्टनले ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए र रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। रोहितले ३६ बलमा ५३ रन जोडे। सूर्यकुमार यादव र हार्दिक पाण्ड्या दुबै जना २ रनले अर्धशतकबाट चुके। उनीहरूले समान रूपमा २३ बलमा ४८–४८ रन बनाएर टोलीको योगफल मजबुत बनाए। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानको इनिङ १६.१ ओभरमा ११७ रनमै सीमित भयो। जोफ्रा आर्चरले ३० रन बनाएपनि अन्य खेलाडी खासै चम्कन सकेनन्। मुम्बईका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे — करण शर्माले ३ विकेट (४ ओभरमा २३ रन), ट्रेन्ड बोल्टले ३ विकेट (२.१ ओभरमा २८ रन), र जसप्रित बुमराहले २ विकेट (४ ओभरमा १५ रन) लिए। यो जितसँगै मुम्बई १४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। अर्कोतर्फ राजस्थानले ११ खेलमा ३ जित र ८ हार ब्यहोरेको छ। अब उसले बाँकी ३ खेल जित्दा पनि प्लेअफ सम्भावना समाप्त भएको छ।