
स्वास्थ्य तथा खाद्य स्वास्थ्यमन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताएकी छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले यस चुनौतीको सामना गर्न र जनस्वास्थ्यमा आवश्यक सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले नागरिकका लागि स्वच्छ खानपानको सुनिश्चितता गराउनु नै सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गरेकी छन् । यसका साथै सरकारले खाद्य स्वच्छतालाई थप सुदृढ बनाउनका लागि ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ । मन्त्री मेहताले आगामी दिनमा खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई तीव्रताका साथ अघि बढाइने जानकारीसमेत दिएकी छन् । खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कायम राख्नु सरकारको जिम्मेवारी भएको उनले बताइन् । यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरूरी रहेको उनको भनाइ छ । यस्ता असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने मन्त्री मेहताले उल्लेख गरिन् । मन्त्री मेहताले यस विशेष दिवसका अवसरमा खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सबै सरोकारवालाहरूलाई स्वच्छ खानपानको महत्त्व आत्मसात गर्न आग्रह गरेकी छन् । उनले सबै क्षेत्रलाई आ-आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत व्यक्त गरिन् । आइतबार नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यान्न समस्याको पहिचान’ भन्ने मूल नाराका साथ यो दिवस भव्य रूपमा मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष विश्वभर ६० करोड मानिस दूषित खानाका कारण बिरामी पर्ने गरेका छन् भने चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ ।

काठमाडौं । थाइराइड मानव शरीरको घाँटीको बीच भागमा रहेको पुतली आकारको एक महत्त्वपूर्ण ग्रन्थी हो। यसले शरीरका विभिन्न जैविक क्रियाकलापलाई नियन्त्रण गर्ने टी–थ्री (T3) र टी–फोर (T4) हर्मोन उत्पादन गर्छ। यी हर्मोनको मात्रा असन्तुलित हुँदा थाइराइडसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्। एन्डोक्राइनोलोजिस्ट डा. दीपक मल्लका अनुसार थाइराइड ग्रन्थी आफैं सक्रिय हुँदैन। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट निस्कने टीएसएच (TSH) हर्मोनले थाइराइडलाई सक्रिय बनाएर टी–थ्री र टी–फोर उत्पादन गराउँछ। यी हर्मोनले शरीरको ऊर्जा उत्पादन, तापक्रम नियन्त्रण, मुटुको गति तथा अन्य महत्वपूर्ण कार्य सञ्चालन गर्छन्। किन हुन्छ थाइराइडको समस्या? थाइराइड रोगको मुख्य कारणमध्ये ‘अटो इम्युन’ समस्या प्रमुख मानिन्छ। शरीरमा उत्पन्न हुने केही एन्टिबडीहरूले थाइराइड ग्रन्थीलाई असर गर्दा हर्मोनको उत्पादन असामान्य रूपमा बढ्न वा घट्न सक्छ। थाइराइड ग्रन्थीमा असर परेपछि दुई प्रकारका समस्या देखिन्छन्– हाइपोथाइराइडिज्म (हर्मोन कम उत्पादन हुने) र हाइपरथाइराइडिज्म (हर्मोन बढी उत्पादन हुने)। थाइराइडका लक्षण हाइपोथाइराइडिज्म भएका व्यक्तिमा शरीर सुस्त हुने, अनावश्यक रूपमा तौल बढ्ने, छाला सुख्खा हुने, कब्जियत हुने तथा महिलामा गर्भधारण गर्न कठिनाइ हुनेजस्ता लक्षण देखिन सक्छन्। त्यसैगरी, हाइपरथाइराइडिज्म भएका व्यक्तिमा धेरै खाना खाँदा पनि तौल घट्दै जाने, हातखुट्टा पसिना आउने, मुटुको धड्कन बढ्ने, आँखा बाहिर निस्किएजस्तो देखिने तथा गलगाँड आउने समस्या हुन सक्छ। महिलामा किन बढी देखिन्छ? डा. मल्लका अनुसार थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ। तर पुरुषको तुलनामा महिलामा यसको समस्या धेरै देखिन्छ। उनका अनुसार महिलाको शरीर हर्मोनको मामिलामा बढी संवेदनशील हुने भएकाले थाइराइड हर्मोनमा सानो परिवर्तन हुँदा पनि असर देखिन थाल्छ। पुरुषमा हर्मोनको मात्रा केही तलमाथि हुँदा खासै प्रभाव नपरे पनि महिलामा सानो असन्तुलनले समेत स्वास्थ्य समस्या निम्त्याउन सक्छ। अन्य रोगसँग सम्बन्ध थाइराइडको प्रत्यक्ष सम्बन्ध मधुमेह वा अन्य नसर्ने रोगसँग नभए पनि थाइराइड भएका व्यक्तिमा मधुमेह हुने सम्भावना बढी रहने चिकित्सकहरूको भनाइ छ। विशेषगरी हाइपोथाइराइडिज्मका कारण मोटोपन बढ्न सक्ने भएकाले त्यसले मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल बढाउने जोखिम बढाउँछ। खानपानमा के सावधानी अपनाउने? थाइराइड रोग खानेकुराका कारण मात्र हुने समस्या होइन। समाजमा बन्दाकोबी, काउली लगायतका तरकारी खान नहुने भन्ने धारणा भए पनि चिकित्सकहरू त्यसलाई गलत मान्छन्। उनीहरूका अनुसार यस्ता खानेकुरा सीमित मात्रामा सेवन गर्न सकिन्छ। यद्यपि, समुद्री खानेकुरामा आयोडिनको मात्रा बढी हुने भएकाले केही अवस्थामा चिकित्सकको सल्लाहअनुसार सेवनमा सावधानी अपनाउन सकिन्छ। साथै, चिल्लो पदार्थ कम खाने, नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने बानी आवश्यक रहेको डा. मल्ल बताउँछन्। गर्भावस्थामा विशेष ध्यान चिकित्सकहरूका अनुसार प्रत्येक गर्भवती महिलाले थाइराइड परीक्षण गराउनुपर्छ। विशेषगरी पहिलेदेखि थाइराइडको समस्या भएकाहरूले थप सतर्कता अपनाउनुपर्ने हुन्छ। हाइपोथाइराइडिज्म भएका गर्भवतीले चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन। औषधि छाड्दा गर्भपतनको जोखिम बढ्न सक्छ। शिशु जन्मिएपछि ७२ घण्टाभित्र थाइराइड परीक्षण गराउन पनि चिकित्सकहरूले सुझाव दिएका छन्। थाइराइडको उपचार सम्भव छ? डा. मल्लका अनुसार थाइराइडको प्रभावकारी उपचार उपलब्ध छ। हर्मोन कम भए आवश्यक हर्मोन दिइन्छ भने बढी भए उत्पादन नियन्त्रण गर्ने औषधि प्रयोग गरिन्छ। उनले चिकित्सकको सल्लाहबिना थाइराइडको औषधि सेवन नगर्न आग्रह गर्दै नियमित परीक्षण र उपचारबाट अधिकांश बिरामीले सामान्य जीवनयापन गर्न सक्ने बताए। (इन्डोक्राइनोलोजिस्ट डा मल्ल वीर अस्पतालमा कार्यरत छन्।)

सुर्खेत, जेठ १९ — कर्णाली प्रदेश अस्पतालसहित वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन्। वीरेन्द्रनगर नगरपालिकाले आवश्यक रगत व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै यस सम्बन्धमा मंगलबार वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतबीच सम्झौता भएको हो। नगरप्रमुख मोहनमाया ढकालका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमै नि:शुल्क रगत उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको थियो। सोही कार्यक्रम कार्यान्वयन गर्न रेडक्रससँग सम्झौता गरिएको उनले बताइन्। सम्झौताअनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंकमार्फत बिरामीलाई आवश्यक रगत नि:शुल्क उपलब्ध गराइनेछ। उक्त कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तर सञ्चालन गर्ने समझदारी भएको जनाइएको छ। कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापाले नगरपालिकाको यो पहलले आर्थिक अभावका कारण रगत व्यवस्थापनमा समस्या भोगिरहेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। स्थानीय तह र रेडक्रसको सहकार्यमा सुरु गरिएको यो कार्यक्रमले स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ।

काठमाडौं । आधुनिक जीवनशैलीसँगै शारीरिक निष्क्रियता तीव्र रूपमा बढ्दै गएको छ। लामो समयसम्म बस्ने बानी, मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग र यातायातका साधनमा बढ्दो निर्भरताका कारण मानिसहरूको दैनिक शारीरिक गतिविधि घटिरहेको छ। यसको प्रत्यक्ष असर मुटुरोग, मधुमेह, मोटोपना तथा मानसिक तनावजस्ता दीर्घकालीन स्वास्थ्य समस्यामा देखिन थालेको छ। यही सन्दर्भमा हालै सार्वजनिक भएका अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनहरूले आशावादी सन्देश दिएका छन्। अध्ययनअनुसार दिनको केवल ५ मिनेट शारीरिक व्यायामले पनि स्वास्थ्य सुधार र दीर्घायु जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ। युरोप र अमेरिकाका विभिन्न अनुसन्धान संस्थाहरूले संयुक्त रूपमा गरेको अध्ययनमा करिब १ लाख ३५ हजारभन्दा बढी वयस्कहरूको दैनिक शारीरिक गतिविधि लामो समयसम्म विशेष उपकरणमार्फत अनुगमन गरिएको थियो। अध्ययनको निष्कर्षअनुसार दिनमा केवल ५ मिनेट छिटो हिँड्ने वा मध्यम स्तरको शारीरिक व्यायाम गर्ने व्यक्तिहरूमा समग्र मृत्यु जोखिम कम हुने सम्भावना देखिएको छ। साथै, दैनिक बस्ने समय ३० मिनेटले घटाउँदा पनि स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको पाइएको छ। विशेषगरी कम शारीरिक सक्रियता भएका व्यक्तिहरूमा सानो परिवर्तनले समेत ठूलो स्वास्थ्य लाभ दिन सक्ने अध्ययनले देखाएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार लामो समयसम्म बसिरहने बानीले रक्तसञ्चार सुस्त बनाउने, शरीरको चयापचय प्रक्रिया घटाउने, बोसो जम्ने सम्भावना बढाउने तथा मधुमेह र मुटुरोगको जोखिम बढाउने गर्दछ। तर दैनिक ५ मिनेट मात्र शारीरिक व्यायाम गर्दा पनि शरीरमा सकारात्मक परिवर्तन सुरु हुन्छ। यसले मुटुको धड्कन सक्रिय बनाउने, रक्तसञ्चार सुधार गर्ने, अक्सिजनको आपूर्ति बढाउने, ऊर्जा स्तर वृद्धि गर्ने तथा थकान कम गर्न सहयोग पुर्याउँछ। मानसिक स्वास्थ्यमा पनि यसको सकारात्मक प्रभाव देखिएको छ। नियमित सानो व्यायामले तनाव कम गर्ने, मनलाई हल्का बनाउने, ध्यान केन्द्रित गर्ने क्षमता वृद्धि गर्ने तथा निद्राको गुणस्तर सुधार गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। दैनिक जीवनमा ५ मिनेटको व्यायामलाई सहज रूपमा अपनाउन सकिन्छ। छिटो हिँड्ने, सिँढी प्रयोग गर्ने, फोनमा कुरा गर्दा हिँड्ने वा प्रत्येक एक घण्टामा केही समय उठेर हिँड्ने जस्ता सामान्य अभ्यासले पनि पर्याप्त लाभ दिन सक्छ। प्राकृतिक चिकित्सकहरूका अनुसार शरीरलाई निरन्तर चलायमान राख्नु नै स्वास्थ्यको आधार हो। शारीरिक गतिविधिले रक्तसञ्चार, पाचन प्रणाली तथा प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन मद्दत गर्छ। त्यसैले “गतिशीलता नै औषधि हो” भन्ने अवधारणालाई प्राकृतिक चिकित्सामा विशेष महत्व दिइन्छ। अध्ययनहरूको निष्कर्षले दैनिक ५ मिनेटको शारीरिक व्यायामले पनि स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुर्याउन सक्ने पुष्टि गरेको छ। सानो तर निरन्तर शारीरिक सक्रियता दीर्घायु, मानसिक सन्तुलन र समग्र स्वास्थ्य सुधारको सरल, व्यवहारिक तथा प्रभावकारी उपायका रूपमा रहेको विज्ञहरू बताउँछन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक देखिएका केही खाद्य उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागका अनुसार एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याक न्याक क्रायकर’ ब्रान्डका बिस्कुट अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएपछि बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो। बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त बिस्कुटमा सरकारले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा नभएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) बमोजिम सम्बन्धित कम्पनीलाई उक्त ब्याच नम्बरका उत्पादन तत्काल बजारबाट फिर्ता लिन तथा अर्को सूचना जारी नभएसम्म बिक्री वितरण नगर्न निर्देशन दिइएको विभागले उल्लेख गरेको छ। यसैगरी, यशोधा फुड्स प्रालि द्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ पनि गुणस्तरहीन रहेको ठहर गर्दै विभागले ती उत्पादनसमेत तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले उपभोक्तालाई यस्ता उत्पादन खरिद तथा उपभोग गर्दा सतर्क रहन आग्रह गरेको छ।

जुम्ला। जुम्लामा गम्भीर अवस्थाका एक बिरामीको सफल न्युरो सर्जरी गरिएको छ। पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहरा छतबाट खसेर घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा भर्ना गरिएको थियो। अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा रहेका थिए र तत्काल भेन्टिलेटरमा राखिएको थियो। न्युरो सर्जन अभावका कारण अन्यत्र रेफर गर्ने तयारी भइरहेका बेला प्रतिकूल मौसमले हवाई उद्धार सम्भव हुन सकेन। यसबीच डा. निलम खड्का जुम्लामै रहेको जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि र आफन्तको अनुरोधमा उनी गुठिचौरस्थित ध्यानस्थलबाट अस्पताल पुगेर शल्यक्रिया गरेका थिए। उनकै नेतृत्वमा चिकित्सक टोलीले करिब ६ घण्टा लगाएर बिरामीको टाउकोमा जमेको रगत निकाल्न सफल भएको हो। शल्यक्रियापछि बिरामीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। स्थानीयले सीमित स्रोत–साधनका बाबजुद सफल उपचार सम्भव भएको भन्दै खुशी व्यक्त गरेका छन् भने कर्णालीमा नियमित न्युरो सर्जन सेवा सञ्चालन गर्नुपर्ने माग समेत गरेका छन्।

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक सहयोग उपलब्ध गराउँदै स्वास्थ्य चौकीमा पानी संकलन तथा भण्डारणका लागि ट्यांकी जडान गरेको हो। यस सहयोगले स्वास्थ्य चौकीमा दैनिक रूपमा हुने असहजतालाई कम गर्दै सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास गरिएको छ। वन उपभोक्ता समूहका अध्यक्ष श्री मिन बहादुर राना मगर, कोषाध्यक्ष श्री सशिराम थापा मगर, सचिव श्री पम्फा कुमारी सुनाखरी लगायत सम्पूर्ण उपभोक्ताहरूको सक्रिय योगदान उल्लेखनीय रहेको छ। स्थानीय स्तरमै समस्या समाधान गर्ने उद्देश्यसहित गरिएको यस कार्यले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनहरूमा यस्ता सहकार्यलाई निरन्तरता दिँदै समुदायमै समाधान गर्न सकिने कामका लागि माथिल्लो निकाय धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिएको छ। स्थानीय समुदाय र सरोकारवालाको सहकार्यले मात्र दिगो विकास सम्भव हुने भन्दै यस्ता प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

काठमाडौं — दैनिक १० हजार पाइला हिँड्नुपर्छ भन्ने प्रचलित मान्यता वैज्ञानिक रूपमा अनिवार्य नभएको एक नयाँ अनुसन्धानले देखाएको छ। बरु दिनमा करिब ७ हजार पाइला हिँड्दा पनि स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुग्ने निष्कर्ष निकालिएको छ। स्वास्थ्यसम्बन्धी जर्नल ल्यान्सेट पब्लिक हेल्थ मा प्रकाशित अध्ययनअनुसार ७ हजार पाइला हिँड्दा क्यान्सर, डिमेन्सिया तथा गम्भीर मुटु रोगहरूको जोखिम घट्ने उल्लेख गरिएको छ। अनुसन्धानले मानिसहरूलाई आफ्नो दैनिक गतिविधि बढाउन र स्वास्थ्यप्रति सचेत हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ। अनुसन्धान टोलीकी प्रमुख डा. मेलोडी डिङका अनुसार १० हजार पाइला हिँड्ने धारणा वैज्ञानिक आधारभन्दा बढी पुरानो विश्वासमा आधारित छ। उनका अनुसार यो अवधारणा सन् १९६० को दशकमा जापानमा भएको एक मार्केटिङ अभियानबाट सुरु भएको थियो, जुन पछि फिटनेस ट्र्याकर र एपहरूमार्फत व्यापक रूपमा प्रचलित बन्यो। उक्त अध्ययनमा विश्वभरका १ लाख ६० हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य र दैनिक गतिविधिको विश्लेषण गरिएको थियो। नतिजाअनुसार दिनमा २ हजार पाइला मात्र हिँड्नेहरूको तुलनामा ७ हजार पाइला हिँड्नेहरूमा मुटु रोगको जोखिम २५ प्रतिशत, क्यान्सर ६ प्रतिशत, डिमेन्सिया ३८ प्रतिशत र डिप्रेसन २२ प्रतिशतले कम देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार ४ हजार पाइला हिँड्दा पनि स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन्छ। यद्यपि ७ हजार पाइला पछि धेरैजसो फाइदाहरू स्थिर हुने भए पनि अझ बढी हिँड्दा मुटु स्वास्थ्यमा थप लाभ पुग्न सक्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने वयस्कहरूले हप्तामा कम्तीमा १५० मिनेट मध्यम वा ७५ मिनेट कडा शारीरिक गतिविधि गर्नुपर्ने सिफारिस गरेको छ। विशेषज्ञहरूका अनुसार सबैका लागि एउटै लक्ष्य उपयुक्त नहुने भएकाले व्यक्तिगत क्षमता अनुसार सक्रिय रहनु महत्वपूर्ण हुन्छ। ब्रुनेल विश्वविद्यालय, लन्डनका डा. डेनियल बेली र पोर्ट्समाउथ विश्वविद्यालयका डा. एन्ड्रयू स्कटका अनुसार १० हजार पाइला अनिवार्य लक्ष्य नभई ५ हजारदेखि ७ हजार पाइला अधिकांशका लागि व्यवहारिक र लाभदायक लक्ष्य हुन सक्छ। विशेषज्ञहरूले दैनिक जीवनमा निरन्तर सक्रिय रहनु नै स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण रहेकोमा जोड दिएका छन्।

मान्म (कालीकोट), चैत ८ — कालीकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि अवरुद्ध रहेको सेवा पुनः सुरु भएसँगै स्थानीय बासिन्दाले जिल्लामै विशेषज्ञ उपचार पाउने भएका छन्। जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले प्रदान गर्दै आएको विशेषज्ञ सेवा विगत करिब १० महिनादेखि विभिन्न कारणले नियमित हुन सकेको थिएन। यसअघि प्रतिष्ठानले प्रत्येक महिनाको पहिलो र अन्तिम शुक्रबार अस्पतालमार्फत विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको थियो। चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै बिरामीलाई सहज पहुँचमा उपचार सेवा उपलब्ध हुने विश्वास गरिएको छ। जिल्ला अस्पतालका सूचना अधिकारी कटक महतका अनुसार विशेषज्ञ चिकित्सक परिचालन गरी सेवा पुनः सञ्चालन गरिनु सकारात्मक उपलब्धि भएको बताए। “विशेषज्ञ सेवा पुनः सुरु गरिदिएकामा हामी प्रतिष्ठानप्रति आभारी छौँ,” उनले भने, “अब नियमित रूपमा सेवा विस्तार गरिनेछ।” सेवा पुनः सञ्चालनसँगै स्थानीय नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता कम हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा जिल्लामै सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

काठमाडौं । विश्वभर प्रयोग हुने कपाल विस्तार (हेयर एक्सटेन्सन)मा स्तन क्यान्सर, हार्मोन असन्तुलन तथा प्रजनन समस्यासँग सम्बन्धित खतरनाक रसायनहरू फेला परेको एक नयाँ अध्ययनले देखाएको छ। जर्नल अफ द अमेरिकन केमिकल सोसाइटी मा प्रकाशित उक्त अनुसन्धानलाई अहिलेसम्मकै ठूलो अध्ययनका रूपमा दाबी गरिएको छ। अध्ययनमा विग, ब्रेडिङ, बुनाइ तथा क्लिप–इनजस्ता ४३ प्रकारका कपाल नमूनाको परीक्षण गरिएको थियो। अनुसन्धानमा ती नमूनाहरूमा करिब १७० प्रकारका रसायन भेटिएको उल्लेख गरिएको छ, जसमध्ये ४८ वटा अन्तर्राष्ट्रिय रूपमा खतरनाक सूचीमा सूचीकृत छन्। तीमध्ये ३६ नमूनामा स्तन क्यान्सरसँग सम्बन्धित १७ प्रकारका रसायन फेला परेका छन्। अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. एलिसिया फ्र्याङ्कलिन का अनुसार कपाल एक्सटेन्सन लामो समयसम्म छालासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले यसको जोखिम अझ बढ्ने गर्दछ। उनका अनुसार यस्ता सामग्रीहरू हप्तौँदेखि महिनौँसम्म टाउको, घाँटी र शरीरसँग सम्पर्कमा रहँदा दीर्घकालीन असर देखिन सक्छ। अनुसन्धानले करिब १० प्रतिशत नमूनामा अर्गानोटिन यौगिकसमेत फेला पारेको जनाएको छ, जुन प्रायः ज्वाला–प्रतिरोधी प्लास्टिक बनाउन प्रयोग गरिन्छ। साथै फिनोल र थ्यालेटजस्ता रसायनहरूले हार्मोन प्रणालीमा अवरोध पुर्याउने तथा प्रजनन क्षमतामा असर गर्ने देखिएको छ। चिन्ताजनक रूपमा ‘मानव कपाल’ वा ‘कुमारी कपाल’ भनेर बेचिने उत्पादनहरू पनि सुरक्षित नहुन सक्ने अध्ययनले संकेत गरेको छ। केही अवस्थामा यस्ता उत्पादनमा कृत्रिम कपालभन्दा बढी खतरनाक रसायनसमेत फेला परेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार कपाललाई चम्किलो, टिकाउ र सजिलै व्यवस्थापनयोग्य बनाउन प्रशोधनका क्रममा विभिन्न रसायन प्रयोग गरिन्छ। ती रसायनहरू कम मात्रामा भए पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छन्। यस्तै, कपाल एक्सटेन्सन तताउँदा विषाक्त ग्यास निस्कन सक्ने र सासमार्फत शरीरमा प्रवेश गर्न सक्ने चेतावनी दिइएको छ। छालाको सम्पर्कबाट समेत यस्ता रसायन शरीरमा प्रवेश गर्न सक्ने हुँदा प्रयोगकर्ता मात्र नभई कपाल स्टाइलिस्टसमेत जोखिममा पर्न सक्ने बताइएको छ। अध्ययनले कपाल एक्सटेन्सन प्रयोगपछि चिलाउने, रातोपन, सुन्निने तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुनासोसमेत आएको जनाएको छ। ४३ नमूनामध्ये केवल दुई नमूनामा मात्र खतरनाक रसायन नपाइएको उल्लेख गरिएको छ। विशेषज्ञहरूका अनुसार कपाल एक्सटेन्सनलाई प्रायः कस्मेटिक उत्पादनको श्रेणीमा नराखिने भएकाले यसको नियमन र सुरक्षा परीक्षण कमजोर रहेको छ। विश्वव्यापी रूपमा यसको बजार तीव्र रूपमा विस्तार भइरहेको भए पनि उपभोक्ता सुरक्षामा पर्याप्त ध्यान नदिइएको अध्ययनले औंल्याएको छ।

कर्णाली प्रदेशको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा लामो समयदेखि अवरुद्ध हुँदा बिरामीहरू समस्यामा परेका छन्। अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा ठप्प भएको हो। एक्सरे सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष रूपमा प्रभावित भएका छन्। दैनिक हुने चोटपटक, दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ। जुम्ला जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू सामान्य चोटपटक, हाडजोर्नी समस्या, छाती तथा फोक्सोसम्बन्धी रोगको परीक्षणका लागि एक्सरे सेवामा निर्भर रहने गर्छन्। तर अस्पतालमै सेवा उपलब्ध नभएपछि उनीहरू निजी मेडिकल तथा क्लिनिकहरू धाउन बाध्य भएका छन्। स्थानीय नागरिकहरूले अस्पताल प्रशासनले समस्या समाधानतर्फ पर्याप्त गम्भीरता नदेखाएको गुनासो गरेका छन्। एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको भए पनि मर्मत तथा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस पहल नगरिएको उनीहरूको आरोप छ। स्थानीयवासी तथा बिरामीका आफन्तहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले अस्पताल प्रशासनलाई सेवा यथाशीघ्र सुचारु गर्न आग्रह गरेका छन्।

क्षयरोग (टिबी) एक सरुवा रोग हो, जसले विशेषगरी फोक्सोलाई असर गर्ने गर्दछ। यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ। संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा, विशेष गरी हावा मार्फत खोक्दा वा हाच्छ्युँ गर्दा, यो रोग सर्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। स्वास्थ्यकर्मीका अनुसार दुई हप्ताभन्दा बढी समय लगातार खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु, कमजोरी महसुस हुनु तथा तौल घट्नु क्षयरोगका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव दिइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजारभन्दा बढी नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्। हाल देशभर नयाँ र पुराना गरी करिब १ लाख १७ हजार बिरामी रहेको अनुमान गरिएको छ। गत आर्थिक वर्षमा भने १ लाख ५५ हजार ३ सयभन्दा बढी बिरामी पहिचान भई राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपचारमा रहेका छन्। क्षयरोग प्रिभिलेन्स सर्वेक्षणअनुसार नेपालमा करिब ९ प्रतिशत बिरामीको निदान निजी स्वास्थ्य संस्थाबाट हुने गरेको छ भने लगभग १५ प्रतिशत बिरामीले निजी स्वास्थ्य संस्थाबाट उपचार गराउने गरेका छन्। यस्ता बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। नेपालमा क्षयरोगका कारण मृत्यु हुने दर विश्वको औसतभन्दा उच्च रहेको देखिन्छ। विश्वमा औसतमा १५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरे पनि नेपालमा करिब २५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सन् २०१६ सम्ममा मात्र करिब ६ हजार बिरामीको क्षयरोगका कारण मृत्यु भएको थियो। देशभर सन् २००१ देखि प्रत्यक्ष निगरानीमा औषधि सेवन गराइने डट्स प्रणाली लागू भए पनि बिरामीको पहिचान, परीक्षण तथा उपचार व्यवस्थापनमा अझै चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। क्षयरोगका प्रमुख लक्षण क्षयरोग लागेपछि सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुनु, कमजोरी बढ्नु, रुघाखोकी लागिरहनु तथा ज्वरो आउनु जस्ता समस्या देखिन्छन्। लगातार दुई हप्ताभन्दा बढी खोकी लागिरहनु, राति धेरै पसिना आउनु, खान मन नलाग्नु, तौल घट्नु तथा खकारमा रगत देखिनु यसका गम्भीर संकेत हुन्। यस्तो अवस्थामा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ। रोकथाम र नियन्त्रणका उपाय स्वास्थ्य विज्ञहरूका अनुसार क्षयरोग रोकथामका लागि सूर्ति तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, अत्यधिक मदिरा र लागुपदार्थ प्रयोग नगर्ने, शिशुलाई जन्मेपछि समयमै बीसीजी खोप लगाउने तथा दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने हुन्छ। त्यस्तै चिकित्सकको सल्लाहअनुसार ६ देखि ८ महिनासम्म नियमित रूपमा निःशुल्क औषधि सेवन गर्नु, उपचार अवधिभर स्वास्थ्य परीक्षण गरिरहनु तथा पौष्टिक आहार सेवन गर्नु पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। हरेक वर्ष मार्च २४ मा विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइने गरिन्छ। नेपालमा पनि “संकेत समयको, क्षयरोगको अन्त्य” भन्ने मूल नारासहित विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। स्वास्थ्य अधिकारीहरूले क्षयरोग नियन्त्रणका लागि समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताएका छन्।

काठमाडौं । हाम्रो शरीर स–साना कोषिकाहरू मिलेर बनेको हुन्छ। शरीरको विकास र मर्मतका क्रममा कोषिकाहरू निश्चित नियन्त्रणमा विभाजित हुन्छन्। तर जब कोषिकाहरू अनियन्त्रित रूपमा बढ्न वा विभाजित हुन थाल्छन्, त्यही अवस्थालाई क्यान्सर भनिन्छ। टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भित्री वा बाहिरी अंगमा क्यान्सर हुन सक्छ। विश्वभर तथा नेपालमा पनि क्यान्सरका बिरामीको संख्या बढ्दो क्रममा रहेको छ। ग्लोबोकेन २०२० को तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन्। पुरुषहरूमा फोक्सोको क्यान्सर तथा महिलाहरूमा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ। पछिल्लो समय मिर्गौलाको क्यान्सरका बिरामीसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन्। के हो मिर्गौला क्यान्सर ? मिर्गौला (Kidney) हाम्रो शरीरको महत्वपूर्ण अंग हो, जसले रगत फिल्टर गर्ने, फोहोर पदार्थ हटाउने र तरल पदार्थ सन्तुलनमा राख्ने काम गर्छ। मिर्गौलाका कोषिकाहरू आवश्यकभन्दा बढी वा अनियन्त्रित रूपमा विभाजित हुन थालेमा मिर्गौला क्यान्सर हुन्छ। चिकित्सकीय भाषामा यसलाई Renal cell carcinoma पनि भनिन्छ, जुन मिर्गौला क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो। अन्य क्यान्सरझैँ मिर्गौला क्यान्सरका पनि विभिन्न चरण (स्टेज) हुन्छन्। पहिलो, दोस्रो र तेस्रो चरण: क्यान्सर मिर्गौलाभित्र सीमित हुन्छ वा वरिपरि मात्र फैलिएको हुन्छ। शल्यक्रिया (अपरेशन) गरेर उपचार सम्भव हुन्छ। चौथो चरण: क्यान्सरका कोषिकाहरू शरीरका अन्य भागमा फैलिसकेको हुन्छ। यस्तो अवस्थामा शल्यक्रियामात्र पर्याप्त हुँदैन। चौथो चरणमा अन्य क्यान्सरमा जस्तै केमोथेरापी प्रयोग गरिए पनि मिर्गौला क्यान्सरमा प्रायः ‘टार्गेटेड थेरापी’ वा ‘इम्युनोथेरापी’ जस्ता उपचार विधि अपनाइन्छ। मिर्गौला क्यान्सर किन हुन्छ ? विशेषज्ञका अनुसार निम्न कारणहरू जोखिम कारक मानिन्छन् : अस्वस्थकर खानपान अव्यवस्थित जीवनशैली धुम्रपान तथा मद्यपान मोटोपना उच्च रक्तचाप वंशाणुगत कारण केही रसायन (जस्तै जुत्ता–चप्पल कारखानामा प्रयोग हुने पदार्थ) सँग लामो सम्पर्क लक्षणहरू मिर्गौला क्यान्सर प्रारम्भिक अवस्थामा प्रायः स्पष्ट लक्षण नदेखिन सक्छ। तर रोग बढ्दै जाँदा निम्न लक्षण देखिन सक्छन् : कम्मर वा पेटको एकातिर दुखाइ पिसाबमा रगत देखिनु अनावश्यक तौल घट्नु लामो समयसम्म ज्वरो आउनु अत्यधिक थकान लगातार खोकी (यदि अन्य अंगमा फैलिएको छ भने) विश्वस्तरमा मिर्गौला क्यान्सर प्रायः ९ वा १० औँ स्थानमा पर्ने क्यान्सरमध्ये एक हो। नेपालमा पनि यसको अवस्था करिब यस्तै रहेको छ। अन्य क्यान्सरको तुलनामा कम देखिने भएकाले समुदाय स्तरमा यसबारे जनचेतना अझै पर्याप्त छैन।

सर्खेत। चौकुने गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि नसर्ने रोग स्क्रिनिङ अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोसेक नेपालको सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता चौकुने गाउँपालिकाका सामाजिक विकास संयोजक कमल जि सी ले गर्नुभएको थियो भने प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने तथा विशेष अतिथि चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य इकाइका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। सो अवसरमा सोसेक नेपाल का प्रतिनिधि हस्त बहादुर नेपाली र पार्वती बडुवाल ले नसर्ने रोगको जोखिम, पहिचान तथा समुदायस्तरमा स्क्रिनिङ अभियान प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय ले अभियानको उद्देश्य तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन जनक बि क ले गर्नुभएको थियो। अभिमुखिकरण कार्यक्रमले उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा अन्य नसर्ने रोगहरूको समयमै पहिचान र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

काठमाडौँ । बदलिँदो जीवनशैली, एकल परिवारको बढ्दो प्रवृत्ति र प्रविधिमा निर्भरता बढेसँगै वृद्धवृद्धामा एक्लोपनको समस्या गहिरिँदै गएको छ। यस्तो अवस्थामा परिवारभित्र सक्रिय सहभागिता, विशेषगरी नाति–नातिनासँग समय बिताउँदा वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने एक अध्ययनले देखाएको छ। हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानका अनुसार नाति–नातिनाको हेरचाह गर्ने वृद्धवृद्धाको स्मरणशक्ति र मौखिक क्षमता तुलनात्मक रूपमा राम्रो पाइएको छ। बच्चाहरूसँगको नियमित अन्तरक्रियाले वृद्धहरूको दिमाग सक्रिय राख्न मद्दत गर्ने र बुढेसकालमा देखिने मानसिक क्षमताको गिरावटलाई सुस्त बनाउने अध्ययनको निष्कर्ष छ। फ्लाभिया चेरेचेसको मुख्य लेखन रहेको उक्त अध्ययन प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल साइकोलोजी एण्ड एजिङ मा प्रकाशित भएको हो। अध्ययनमा ५० वर्षभन्दा माथिका २ हजार ८८७ हजुरबा–हजुरआमालाई समावेश गरिएको थियो, जसको औसत उमेर करिब ६७ वर्ष रहेको थियो। अनुसन्धानकर्ताहरूले सन् २०१६ देखि २०२२ सम्म संकलित तथ्यांक र विभिन्न मानसिक परीक्षणको विश्लेषण गरेका थिए। अनुसन्धानका क्रममा स्मृति, भाषा प्रयोग र मौखिक सीपजस्ता पक्षमा विशेष ध्यान दिइएको थियो। नतिजाअनुसार नाति–नातिनाको हेरचाह गर्ने वृद्धवृद्धाले यी सबै परीक्षणमा राम्रो प्रदर्शन गरेका थिए। बालबालिकाको हेरचाहमा संलग्न नभएका वृद्धवृद्धाको मानसिक क्षमता भने तुलनात्मक रूपमा कमजोर देखिएको अध्ययनले जनाएको छ। अध्ययनको अर्को महत्वपूर्ण पक्ष के देखिएको छ भने मानसिक लाभ हेरचाहको आवृत्तिमा निर्भर थिएन। दैनिक वा कहिलेकाहीँ—जसरी भए पनि बालबालिकासँग खेल्ने, पढाउने वा सामान्य निगरानीमा संलग्न हुँदा मानसिक फाइदा लगभग समान रहेको पाइएको छ। मुख्य कुरा सक्रिय भूमिकामा सहभागिता रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार बच्चाहरूसँग संवाद, उनीहरूको जिज्ञासाको जवाफ, कथा सुनाउने र खेलकुदजस्ता गतिविधिले वृद्धहरूको सोच्ने क्षमता, प्रतिक्रिया र भाषिक प्रयोगलाई सक्रिय बनाइराख्छ। यसका साथै नाति–नातिनाको हेरचाहले वृद्धवृद्धामा उद्देश्य र जिम्मेवारीको भावना जागृत गराउने, एक्लोपन कम गर्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने पनि अध्ययनले देखाएको छ। विशेषज्ञहरूका अनुसार उमेरसँगै मानसिक क्षमतामा केही ह्रास आउनु स्वाभाविक भए पनि सक्रिय जीवनशैली र पारिवारिक सहभागिताले यसको असर उल्लेखनीय रूपमा कम गर्न सकिन्छ। परिवारभित्र नयाँ पुस्तासँगको सम्बन्ध वृद्धवृद्धाका लागि मानसिक र भावनात्मक रूपमा लाभदायक हुने अध्ययनले स्पष्ट पारेको छ।