
नवलपरासीको गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६:५० बजे दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उपचारका लागि भरतपुरतर्फ पठाइएको छ।
लु २ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटका धनमान हमाल र गैँडाकोटका लीला थापाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
त्यसैगरी, अर्को बस लु २ ख ६०३६ का घाइतेहरूमध्ये बस चालक सन्तोष बहादुर गुरुङसहित आत्रिया पौडेल, माधवा ज्ञावाली, शकर बयलकोटी, सिता ज्ञावाली, जस्विन ज्ञवाली र दिभा रानाभाटको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
सोही बसमा सवार अन्य घाइतेहरू मोहन भैया साह, निशा तिवारी, ऐट्रेन भट्ट, निमलाल खड्का, अमृता खड्का, मनोज गुरुङ, हुमा गुरुङ, प्रेम बहादुर रानाभाट र मिरा आचार्यको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



