
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तर पाइएका चार ब्रान्डका इन्स्ट्यान्ट चाउचाउका निश्चित ब्याच तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न निर्देशन दिएको छ।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिद्वारा उत्पादित चार ब्रान्डका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत न्यूनस्तरको भेटिएका हुन्।
बजारबाट फिर्ता गर्न आदेश दिइएका उत्पादनमा गोलमोल ब्रान्डको २५ ग्राम इन्स्ट्यान्ट नुडल्स, वाईवाई ब्रान्डको ६० ग्राम इन्स्ट्यान्ट नुडल्स, प्रिमियम पिरो ब्रान्डको २५ ग्राम इन्स्ट्यान्ट नुडल्स र मामा ब्रान्डको ६० ग्राम इन्स्ट्यान्ट नुडल्स रहेका छन्।
विभागका अनुसार गोलमोल ब्रान्डको ब्याच नम्बर बी/बीएम२ सी, उत्पादन मिति २०८३ वैशाख ११ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको चाउचाउ फिर्ता गर्न भनिएको छ।
त्यसैगरी, वाईवाई ब्रान्डको ब्याच नम्बर बी/बीएम१–एक्स–२०२६–०५–१४, उत्पादन मिति २०२६ मे १४ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउ पनि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ।
प्रिमियम पिरो ब्रान्डको ब्याच नम्बर बी/बीएम२ सी, उत्पादन मिति २०८३ वैशाख २८ तथा १२ महिनाको उपभोग अवधि उल्लेख भएको २५ ग्रामको चाउचाउ पनि फिर्ता गर्नुपर्ने सूचीमा परेको विभागले जनाएको छ।
यस्तै, मामा ब्रान्डको ब्याच नम्बर बी/बीएम१–एक्स–२०२६–०५–१३, उत्पादन मिति २०२६ मे १३ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउसमेत बिक्री–वितरण रोक्न तथा बजारबाट फिर्ता गर्न आदेश दिइएको छ।
विभागका अनुसार परीक्षण गरिएका यी नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तरका पाइएका हुन्।
सोही ऐनको दफा ३८ को उपदफा (२) बमोजिम सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा उपदफा (४) बमोजिम ती उत्पादनको बिक्री–वितरण नगर्न र नगराउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।



