
कर्णाली प्रदेशमा आयोजित प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सुर्खेत र सल्यानका खेलाडीहरूले आफ्नो वर्चस्व कायम गर्दै उपाधि चुमेका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सुर्खेत, कालिकोट, जाजरकोट, दैलेख ,सल्यान, रूकुम पश्मि सहित ६ जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। राष्ट्रिय रेफ्रीहरू अमर विष्ट र भरत केसीको निर्णायक टोलीले व्यवस्थापन गरेको यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको पुरुषतर्फ सुर्खेतका पुष्कर थापाले प्रथम र आस्विन पोखरेलले द्वितीय स्थान सुरक्षित गरे भने सुर्खेतकै प्रज्वल श्रेष्ठ र सल्यानका रचित थापा संयुक्त रूपमा तृतीय भए। त्यसैगरी महिलातर्फ सुर्खेतकी अञ्जना थापा मगर च्याम्पियन बन्दा सल्यानकी समिक्षा उदास द्वितीय तथा सल्यानकै आकृति वि.क. र सदिक्षा राई संयुक्त रूपमा तृतीय हुन सफल भए। समापन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले विजेताहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा कर्णालीमा टेबल टेनिस खेलको विकास र व्यावसायिक विस्तारका लागि परिषद्ले विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।

सुर्खेत, २०८३ (जुलाई ५) "स्वास्थ्यका लागि खेलकुद, राष्ट्का लागि खेलकुद" भन्ने मूल नाराका साथ सुर्खेतमा पहिलो कर्णाली खुल्ला राष्ट्रिय कराते प्रतियोगिता २०२६ सुरु भएको छ। नेपाल गोजु-र्यु कराते-डो संघ र राष्ट्रिय गोजु-र्यु कराते-डो संघको संयुक्त आयोजनामा यो प्रतियोगिता सञ्चालन भइरहेको हो। आज जुलाई ५ र ६ सम्म चल्ने यस प्रतियोगितालाई सफल बनाउन आयोजक समितिका अध्यक्ष प्रकाश खड्का ले मुख्य नेतृत्व गरिरहनुभएको छ। कर्णाली प्रदेशमा कराते खेलको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको व्यवस्थापन र संयोजनमा अध्यक्ष खड्का सक्रियताका साथ खटिनुभएको छ। प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी ले गर्नुभएको हो। देशभरका कराते खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगिताले कर्णालीको खेलकुदलाई नयाँ उचाइ दिने विश्वास आयोजक समितिले लिएको छ।

काठमाडौं, जेठ २४ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानको सामना गरिरहेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा जारी खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो। समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा भइरहेको छ। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेलमा प्रभावशाली जित दर्ता गरेको थियो। पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियामाथि १६७ रनको शानदार जित निकालेको थियो। लगातार उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाल ओमानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको छ।

काठमाडौं । एसियन गेम्स क्वालिफायरअन्तर्गतको निर्णायक खेलमा नेपालले मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्दै समूह विजेताका रूपमा आगामी एसियन गेम्समा स्थान सुरक्षित गरेको छ। नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा सीमित भएपछि नेपाल सहज विजयी बनेको हो। मलेसियाका कप्तान सय्यद अजीजले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन जोडे भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न असफल रहे। नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। त्यसैगरी करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान एक–एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १४ चौका र ८ छक्का प्रहार गरेका थिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो। आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दै टोलीको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए। मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने कप्तान सय्यद अजीज र विजय उन्नीले समान २–२ विकेट हात पारे। यस जितसँगै नेपाल समूह विजेता बन्दै एसियन गेम्सका लागि छनोट हुन सफल भएको छ। पराजित भए पनि मलेसियाले पनि प्रतियोगितामार्फत एसियन गेम्समा स्थान सुरक्षित गरेको छ।

चीनको लेशानमा हालै सम्पन्न ‘कराते वान प्रिमियर लिग २०२६’ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेकी नेपालकी एरिका गुरुङले विश्व वरीयतामा ऐतिहासिक सफलता प्राप्त गरेकी छिन्। विश्व कराते महासंघ (डब्लुकेएफ) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार एरिका महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा विश्वकै दोस्रो स्थानमा उक्लिएकी हुन्। यसअघि ११औं स्थानमा रहेकी एरिकाले प्रिमियर लिगमा लगातार प्रभावशाली प्रदर्शन गर्दै नौ स्थानको छलाङ मार्न सफल भएकी छिन्, जुन नेपाली कराते इतिहासमा अहिलेसम्मकै ठुलो उपलब्धि हो। चीनमा भएको फाइनल भिडन्तमा एरिका विश्व नम्बर एक खेलाडी कजाकस्तानकी सोफिया बेरुल्तसेभासँग २–१ को झिनो अन्तरले पराजित भएकी थिइन्। कडा प्रतिस्पर्धामा पराजित भए पनि प्राप्त अंकका आधारमा उनले इङ्ल्यान्डकी रोशेल वाल्टर्सलाई पछि पार्दै दोस्रो स्थान सुरक्षित गरेकी हुन्। हाल शीर्ष स्थानमा रहेकी सोफियाको २९७० अंक छ भने दोस्रो स्थानमा रहेकी एरिकाले १५०० अंक प्राप्त गरेकी छिन्। त्यस्तै तेस्रो स्थानमा झरेकी रोशेलको १२०० अंक रहेको छ। यसै वर्ष मात्र कराते वान प्रिमियर लिगमा लगातार दुईवटा रजत पदक जितेकी एरिकाले आफूलाई विश्वकै शीर्ष खेलाडीको रूपमा स्थापित गरिसकेकी छिन्। सेमिफाइनलसम्मका प्रतिस्पर्धीलाई सहजै पाखा लगाउँदै फाइनलसम्मको यात्रा तय गरेकी उनले नेपाली खेलकुदलाई विश्व मञ्चमा नयाँ उचाइ दिएकी छिन्। अबको मुख्य लक्ष्य विश्व नम्बर एक खेलाडी बन्ने रहेको बताउने एरिकाको यो सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको बलियो उपस्थिति रहने संकेत गरेको छ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कँडेल ले निर्माणाधीन प्रदेश रङ्गशालाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई ध्यानमा राख्दै निर्माण कार्यमा ढिलाइ नगर्न जोड दिएका हुन्। मुख्यमन्त्री कँडेलले रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको उल्लेख गर्दै बाँकी काममा कुनै बहाना स्वीकार्य नहुने स्पष्ट पारे। उनले निर्माण व्यवसायी तथा सम्बन्धित निकायलाई समन्वय गर्दै तोकिएको कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिए। “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले बताए। उनले निर्माण कार्यको प्रभावकारी अनुगमन, समन्वय र जिम्मेवार निकायको सक्रिय भूमिकामा विशेष जोड दिएका छन्। रङ्गशाला सम्पन्न भएपछि कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे। मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि योजना आवश्यक रहेको बताउँदै खेलाडीको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, पूर्वाधार निर्माण तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिनुपर्ने बताए। त्यसैगरी, उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका काम समयमै सुनिश्चित गर्न निर्देशन दिएका छन्। कर्णालीका विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणका लागि स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे। बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधीन रङ्गशालाको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। सहभागीहरूले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई तीव्रता दिन सकिने धारणा व्यक्त गरेका थिए।

जुम्ला । कर्णाली क्षेत्रको चर्चित जुम्ला–रारा अल्ट्रा म्याराथन को सातौँ संस्करण आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता जुम्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिएका छन्। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने बताइएको छ। कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ। सहभागी हुनका लागि सूचना प्रकाशित गरिसकिएको छ। प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर, दश किलोमिटर र ५१ किलोमिटर दूरीका दौड समावेश गरिएका छन्। पाँच किलोमिटर दौडमा कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक सर्वसाधारण सहभागी हुन सक्नेछन्, जसका लागि ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दश किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ। त्यस्तै ५१ किलोमिटर अल्ट्रा म्याराथनतर्फ स्थानीय धावकका लागि ३ हजार रुपैयाँ र अन्य धावकका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। पुरस्कारतर्फ पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिनेछ। दश किलोमिटरतर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ दिइनेछ। ५१ किलोमिटर अल्ट्रा म्याराथनतर्फ प्रथम हुने धावकलाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार तथा चौथो र पाँचौँ हुनेलाई समान २०–२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

दैलेख — कर्णालीका प्रतिभाशाली तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रबिन बयक लाई खेलकुदमार्फत गाउँपालिका र कर्णाली प्रदेशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै महाबु गाउँपालिका, दैलेख ले नगद रु ५०,००० सहित सम्मान गरेको छ। सानैदेखि कडा मेहनत, अनुशासन र लगनशीलताका साथ तेक्वान्दो खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका बयक युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन्। खेलप्रतिको समर्पण र उत्कृष्ट उपलब्धिले गाउँपालिका मात्र नभई समग्र कर्णाली प्रदेशकै गौरव बढाएको उल्लेख गर्दै गाउँपालिकाले सम्मान–पत्रसहित नगद पुरस्कार प्रदान गरेको हो। यस सम्मानले खेलाडी बयकलाई आगामी दिनमा अझ उत्साहका साथ देश र प्रदेशको नाम उच्च बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। उहाँलाई प्राप्त भएको यस महत्वपूर्ण सम्मानका लागि हार्दिक बधाई तथा आगामी खेल यात्रा अझ सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। शिर्षक मात्रै परिवर्तन गर

काठमाडौं — नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले Kun Khmer World Championship मा स्वर्ण पदक जितेका छन्। कम्बोडियामा सम्पन्न प्रतियोगितामा नेपालले दुई स्वर्ण र दुई कांस्य पदक हात पारेको छ। महिला ४८ केजी सेमी–प्रोफेसनलतर्फ सुष्मा चौधरीले घरेलु खेलाडी रिथी रितालाई पराजित गर्दै स्वर्ण जितिन्। टोलीका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवाँथाई संघ का अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सुष्माले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि सुरक्षित गरेकी हुन्। यस्तै, यु–१५ पुरुष ४५ केजी तौलसमूहमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउँदै स्वर्ण पदक जिते। पुरुष ५७ केजीमा सन्दीप तामाङ र ६० केजीमा मुकेश लुइटेल खत्रीले कांस्य पदक जित्दै नेपाललाई थप सफलता दिलाए। प्रतियोगितामा नेपाली खेलाडीहरूले सशक्त प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा उँचो बनाएका छन्।

मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपालले यसपटकको टी–२० विश्वकप यात्रा सुरु गर्न लागेको हो। नेपाल यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिकामा सम्पन्न विश्वकपमा सहभागी भएको थियो। तर दुवै संस्करणमा समूह चरण पार गर्न भने सकेको थिएन। आजको खेलमार्फत मिस्ट्री स्पिनर शेर मल्लले आईसीसी टी–२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन्। विश्वकपजस्तो ठूलो प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गर्नु शेर मल्लका लागि विशेष उपलब्धि मानिएको छ। कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने। फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड। टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। यस समूहमा नेपालसहित इङ्ल्यान्ड, वेस्ट इण्डिज, स्कटल्यान्ड र इटाली छन्। नेपालले विश्वकपको पहिलो खेलमै बलियो इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै आत्मविश्वासका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य लिएको छ।

भारतीय तीव्र गतिका बलर हर्षित राणा घुँडाको चोटका कारण ‘आईसीसी मेन्स टी–२० विश्वकप २०२६’ बाट बाहिरिएका छन्। फेब्रुअरी ४ मा दक्षिण अफ्रिकाविरुद्धको अभ्यास खेलका क्रममा घाइते भएका राणालाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मेडिकल टोलीले खेल्न अनुपयुक्त (अनफिट) घोषणा गरेको हो। चोटका कारण राणाको स्थानमा अनुभवी बलर मोहम्मद सिराजलाई भारतीय टोलीमा समावेश गरिएको छ। बीसीसीआईले आधिकारिक रूपमा टोलीमा परिवर्तनको पुष्टि गरेको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको यो विश्वकप आज (फेब्रुअरी ७) बाट सुरु भई मार्च ८ सम्म चल्नेछ। भारतले प्रतियोगिताको आफ्नो पहिलो खेल आजै मुम्बईस्थित वानखेडे स्टेडियममा अमेरिकाविरुद्ध खेल्दैछ। सूर्य कुमार यादव (कप्तान), अभिषेक शर्मा, संजु सामसन (विकेटकिपर), ईशान किशन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उप–कप्तान), रिंकु सिंह, जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिंगटन सुन्दर र मोहम्मद सिराज रहेका छन्।

काठमाडौँ। आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहीबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ। यसअघि नेपालले पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। विश्वकपको तयारी स्वरूप आयोजना गरिएका यी वार्मअप खेलपछि नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै टी–२० विश्वकपको औपचारिक सुरुआत गर्नेछ।

सुर्खेत । नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्ने भएको छ । भावनात्मक सम्बन्धको विकास, सामाजिक एकता तथा राष्ट्र पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापित रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले ‘पिस एण्ड युनिटी रन’ प्रतियोगिता आयोजना गर्न लागेको हो । उत्तर पश्चिम पृतनाले यसवर्ष महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । उत्तर–पश्चिम पृतना हेडक्वार्टर नेमारेको आयोजनामा हुने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिने छ । पृतनाका उपरथि दिपेशजंग शाहका अनुसार सामाजिक एकता तथा राष्ट्रको पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापित रहेको खेलक्षेत्रको विकाससँगै नागरिक र सैनिकको सम्बन्ध प्रगाढ गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । पृतनापति शाहले भने, ‘बलियो एकता, सुरक्षित राष्ट्र नाराका साथ पाँच किलोमिटर पैदल यात्रादेखि १० किलोमिटरसम्मको समावेश गरिएको छ ।’ पाँच किलोमिटर दौडमा सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाली सेनाका इच्छुक सकल दर्जा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र भूतपूर्व सुरक्षाकर्मीहरू सहभागी हुनेछन् ।१० किलोमिटरतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महिला पुरुष दौड हुने भएको छ । ५ किलोमिटर दौडमा सैनिक आवासीय महाविद्यालय, इम्प्यानेलड विद्यालयहरु तथा एनसीसी तालिम सञ्चालन भइरहेका कक्षा ८ देखि १२ सम्मका छात्राहरु सहभागिता हुने छन् । खुल्ला पुरुष र खुल्ला महिला दौडको प्रतियोगितामा करिब ८ सय सहभागिता रहने अपेक्षा सेनाले गरेको छ । विभिन्न दौडमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई नगर पुरस्कार र प्रमाणपत्र पाउने छन् ।

काठमाडौं। आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकपअघि अन्तिम तयारीका रूपमा नेपालले चेन्नईमा दुई वटा ‘वार्म–अप’ खेल खेल्नेछ । नेपालले पहिलो अभ्यास खेल आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा हुनेछ । नेपाल र यूएईबीच यसअघि पनि प्रतिस्पर्धात्मक खेलहरू हुँदै आएका छन् । यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै अभ्यास खेल विश्वकपका खेलहरू आयोजना हुने एमए चिदम्बरम मैदानमै हुने भएकाले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ । नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेका छन् । यससँगै भारतीय मैदानमा नेपाली समर्थकको उल्लेख्य उपस्थिति र उत्साह देखिने अपेक्षा गरिएको छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ का विश्वकप खेलिसकेको छ । यो तेस्रो सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ । विश्वकप खेल्ने नेपाली टोली कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् । यस विश्वकपमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान रहेका छन् । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

काठमाडौं — महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा आज नेपालले आफ्नो चौथो तथा निर्णायक खेल खेल्दैछ। आज नेपाल र स्कटल्यान्डबीच हुने खेल नेपालका लागि सुपर सिक्समा पुग्ने दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ। नेपाल र स्कटल्यान्डबीच यो पहिलो पटक प्रतियोगितात्मक खेल हुन लागेको हो। यसअघि अभ्यास खेल खेले पनि आधिकारिक प्रतियोगितामा दुवै टोली आमनेसामने भएका छैनन्। दुवै टोलीका लागि आजको खेल सुपर सिक्समा पुग्न निर्णायक मानिएको छ। हालसम्म नेपालले तीन खेल खेल्दा जिम्बावेमाथि जित हात पार्दै २ अंक जोडेको छ। नेपालले पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले हार व्यहोरेको थियो। नेदरल्यान्ड्सविरुद्ध १४१ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम समयमा चुकेको नेपालले जित नजिक पुगेर पनि अवसर गुमाएको थियो। तर शनिबार पूर्ण राष्ट्र जिम्बावेमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जीवित बनेको छ। उक्त खेलमा पूजा महतो र कप्तान इन्दु बर्माले मध्यक्रम सम्हाल्दै टोलीलाई जित दिलाएका थिए। नेपाललाई सुपर सिक्समा पुग्न स्कटल्यान्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्नेछ। स्कटल्यान्डलाई पराजित गरेमा पनि अन्य खेलहरूको नतिजा र रनरेटले नेपालको भविष्य तय गर्नेछ। नेपाललाई पराजित गर्न सकेमा स्कटल्यान्डको सुपर सिक्स यात्रा भने सुनिश्चित हुनेछ। समूह ‘बी’ बाट आयरल्यान्ड तीनै खेल जित्दै सुपर सिक्समा पुगिसकेको छ। स्कटल्यान्ड र थाइल्यान्डले समान २–२ जित हात पार्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। जिम्बावे सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजै समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको अवस्थामा नेपाल, स्कटल्यान्ड र थाइल्यान्डको समान ४ अंक हुनेछ। यस्तो अवस्थामा रनरेटका आधारमा दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। पहिलो पटक महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपालले जिम्बावेमाथि जित हात पार्दै ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ। स्कटल्यान्ड भने सन् २०२४ को महिला टी–२० विश्वकप खेलिसकेको अनुभवी टोली हो।