
काठमाडौं, साउन ३ – मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका चार प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर यसको प्रभाव देखिएको छ।
हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका धेरै स्थान तथा पहाडी भूभागका अधिकांश स्थान र तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी र सुदूरपश्चिमका पहाडी भूभागका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र र तराईका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले अति भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, भूक्षय, नदी तथा खोलामा आकस्मिक बहाव वृद्धि र शहरी डुबानको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।



