
सुर्खेत। देश बाढी तथा प्राकृतिक विपद्का कारण पीडामा रहेका बेला पीडित नागरिकको दुःखमा मलम लगाउने उद्देश्यले सुर्खेतकाे सिद्धपाइला यातायात प्रा.लि. ले राहत तथा देश पुनःनिर्माणका लागि रु. ५६ हजार १५६ सहयोग गरेको छ। बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउनुका साथै देश पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका तर्फबाट उक्त रकम सहयोग गरिएको हो। सिद्धपाइला यातायात प्रा.लि.का अध्यक्ष श्री दिपेन सिंह ठकुरीका अनुसार संस्थागत सहयोगसँगै प्रा.लि.का पदाधिकारीहरूले व्यक्तिगत तर्फबाट समेत छुट्टाछुट्टै सहयोग गरिसकेका छन्। विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको साथमा उभिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको यस सहयोगले राहत तथा पुनःनिर्माण अभियानमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

सुर्खेत, भदौ २४ । वीरेन्द्रनगर–१२ स्थित चेतना विद्या निकेतनले बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवारले प्याब्सन (PABSON) राहत कोषमार्फत बुधबार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विद्यालयका प्रिन्सिपल हुमलाल भट्टाराईका अनुसार विपद्मा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फबाट सहयोग गरिएको हो। विद्यालयले विपद्का बेला पीडितको सहयोगमा हातेमालो गर्नु सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

वीरेन्द्रनगर, सुर्खेत । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि वीरेन्द्रनगर–४ स्थित चन्द्रसूर्य एकेडेमीले एक लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक दिवसको १३औँ दिनका अवसरमा विद्यार्थी, शिक्षक–कर्मचारी, विद्यालय प्रशासन तथा अभिभावक सुरेश गिरीकी सुपुत्री निश्मा गिरीको तर्फबाट उक्त रकम संकलन गरेको हो। संकलित रकम संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनको ‘प्याब्सन रिलिफ फन्ड’को बैंक खातामा जम्मा गरिएको विद्यालयले जनाएको छ। उक्त रकम प्याब्सनमार्फत आगामी भदौ २५ गते एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ। विद्यालयका प्रिन्सिपल यामराज गिरी र अध्यक्ष युद्धप्रसाद कोइरालाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा विपत्तिको यस घडीमा एकजुट भई बाढीपहिरोपीडितको सहयोगमा जुट्न सबैमा अपिल गरिएको छ।

दिलिप कडेल, सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकाको पश्चिमी भेगका बिजौरा, बेतान, लगाम लगायतका बस्तीमा वर्षौंदेखि मोबाइल नेटवर्कको समस्या कायमै रहँदा स्थानीय नागरिकले सास्ती खेप्दै आएका छन्। सामान्य फोन गर्नेदेखि इन्टरनेट चलाउने, अनलाइन सेवा लिनेदेखि आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भइरहेको स्थानीयको गुनासो रहेको छ। दूरसञ्चारका टावर जताततै भएपनि त्यसबाट अपेक्षाअनुसार सेवा नपाएको स्थानीयको गुनासो रहेको छ। कतिपय स्थानमा नेटवर्क अत्यन्त कमजोर हुने, कहिलेकाहीँ पूरै हराउने तथा मौसम खराब हुँदा सेवा पूर्ण रूपमा अवरुद्ध हुने समस्या बारम्बार दोहोरिने गरेको उनीहरू बताउँछन्। चौकुने २ लगामका स्थानीय लाल बहादुर थापाका अनुसार लगाम र बेतान क्षेत्रमा करिब एक वर्षदेखि मोबाइल फोनसमेत राम्ररी नलाग्ने समस्या कायम छ। यस्तो अवस्थामा बिरामी पर्दा, आपतकालीन सेवा लिनुपर्दा, वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्नुपर्दा तथा दैनिक सञ्चारमा नागरिकले ठूलो सास्ती खेप्दै आएका छन्। हरेक निर्वाचनमा विकास र सहज सेवा–सुविधाको प्रतिबद्धता जनाउँदै निर्वाचित भएका जनप्रतिनिधिहरूलाई यस समस्याबारे जानकारी छ कि छैन भन्ने प्रश्नसमेत स्थानीयले उठाउन थालेका छन्। यदि जानकारी छ भने समस्या समाधानका लागि प्रभावकारी पहल किन हुन सकेन भन्ने जिज्ञासा उनीहरूको छ। स्थानीयको माग छ—अब आश्वासन होइन, सम्बन्धित निकायसँग समन्वय गरी तत्काल नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरियोस्। डिजिटल नेपाल र सुशासनको लक्ष्य लिएको सरकारले दुर्गम बस्तीका नागरिकलाई भरपर्दो सञ्चार सेवाबाट वञ्चित हुन नदिन आवश्यक बजेट, प्राविधिक जनशक्ति र पूर्वाधार विस्तारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। लगाम, बेतान र आसपासका बासिन्दाको एउटै प्रश्न छ—'हाम्रो गाउँमा राम्रो नेटवर्क कहिले पुग्छ?' स्थानीयका थापाका अनुसार विद्यार्थीको अनलाइन अध्ययन, सरकारी अनलाइन सेवा, बैंकिङ कारोबार, स्वास्थ्यसम्बन्धी सूचना आदानप्रदान तथा वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्नसमेत निकै कठिन हुने गरेको छ। आपतकालीन अवस्थामा एम्बुलेन्स, प्रहरी वा स्वास्थ्य संस्थासँग सम्पर्क गर्न नसक्दा जोखिमसमेत बढ्ने गरेको छ। संविधानले सञ्चार पहुँचलाई नागरिकको आधारभूत अधिकारसँग जोडेको भए पनि चौकुनेको पश्चिमी क्षेत्रका बासिन्दाले अझै गुणस्तरीय मोबाइल सेवा पाउन नसकेको गुनासो गरेका छन्। ग्रामीण क्षेत्रमा पनि समान रूपमा सञ्चार सेवा विस्तार गर्ने सरकारी नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । चौकुने गाउँपालिकाका जनप्रतिनिधिले पनि सम्बन्धित निकायसँग पटक–पटक समन्वय गरिरहेको जनाउँदै समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताएका छन्। डिजिटल नेपाल निर्माणको लक्ष्य लिएको सरकारले दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारलाई प्राथमिकता दिएको बताउँदै आएको छ। तर चौकुने गाउँपालिकाको बिजौरा, बेतान, लगाम लगायतका बस्तीमा अझै भरपर्दो मोबाइल सेवा नपुग्दा विकास, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनजस्ता आधारभूत क्षेत्रमा समेत प्रत्यक्ष असर परेको छ ।

सुर्खेत, साउन ७ । कर्णाली कारागारमा कैदीबन्दीलाई अध्ययनतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालित पुस्तक अभियानका लागि पत्रकार तथा लेखक विराट अनुपमले आठ दर्जन पुस्तक सहयोग गरेका छन्। अनुपमले साहित्य, कथा, कविता, जेलजीवन, राजनीतिक विचार, व्यावसायिक सीप, उत्प्रेरणा तथा सकारात्मक सोचसम्बन्धी पुस्तक उपलब्ध गराएका हुन्। अभियानका संयोजक तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी जयराज सापकोटाले पुस्तकले कैदीबन्दीलाई सकारात्मक सोच विकास गर्न, आत्मपरिवर्तन गर्न र कारागारबाट निस्किएपछि पुनः अपराधतर्फ नफर्किन प्रेरणा दिने बताए। अभियानका उपसंयोजक तथा पत्रकार ज्योति कटुवालका अनुसार २०७५ चैत २३ देखि सञ्चालनमा रहेको पुस्तक अभियानमार्फत कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा हालसम्म ४० हजारभन्दा बढी पुस्तक हस्तान्तरण गरिएको छ। कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले पुस्तक अभियान सुरु भएयता कैदीबन्दीको व्यवहारमा सकारात्मक परिवर्तन आएको र कारागारभित्र हुने दैनिक झैझगडा समेत घटेको बताइन्।