
रुसका डानिल मेदभेदेभ दर्शकलाई बलले लागेपछि चीन ओपनबाट अयोग्य घोषित भएका छन्। नोभाक जोकोभिचविरुद्धको सेमिफाइनल खेलका क्रममा मेदभेदेभले रिसको झोंकमा हानेको बल अगाडिको पंक्तिमा बसेका एक दर्शकको अनुहारमा लागेको थियो। जोकोभिचविरुद्ध मेदभेदेभ ७–५, ५–३ ले पछाडि थिए। जोकोभिचले १५-१५ को अवस्थामा कोर्टको पछाडि प्रहार गरेपछि बल कोर्टको पछाडिको भागमा ठोक्किएर मेदभेदेभतर्फ फर्किएको थियो। त्यसक्रममा मेदभेदेभले झोकमा ब्याकह्यान्डले बल हानेका थिए। मेदभेदेभले हानेको बल कोर्टको पछाडिको स्ट्यान्डमा अगाडिको पंक्तिमा बसेका दर्शकलाई लागेको थियो। बल लागेपछि ती दर्शकले अनुहार समातेर झुकेका थिए। उनलाई कोर्टबाट बाहिर लैजाँदा पनि आँखामा हात राखिरहेका थिए। घटनापछि मेदभेदेभले अम्पायर मोहम्मद लहयानी र एटीपीका अधिकारीसँग कुराकानी गरेका थिए। त्यसपछि उनी कोर्टमा फर्किएर जोकोभिचसँग हात मिलाएका थिए। खेलाडीलाई आचारसंहिता उल्लंघनमा ‘डिफल्ट’ गरिएपछि मेदभेदेभको खेल समाप्त भएको हो। घटनापछि मेदभेदेभले दर्शकप्रति माफी माग्दै आफू उनीसँग प्रत्यक्ष सम्पर्क गर्न चाहेको बताएका छन्। उनले ती दर्शकको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले व्यक्तिगत रूपमा माफी माग्न पाए राम्रो हुने बताएका थिए। जोकोभिचले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। सन् २०२० को यूएस ओपनमा यस्तै प्रकारको घटनाका कारण आफू पनि अयोग्य घोषित भएको स्मरण गर्दै जोकोभिचले मेदभेदेभले जानाजानी यस्तो नगरेको आफूलाई विश्वास रहेको बताए। टेनिसमा खेलाडीले आचारसंहिता उल्लंघन गर्दा डिफल्ट हुन सक्छ। बलको दुरुपयोग, शारीरिक वा मौखिक दुर्व्यवहार तथा र्याकेटको दुरुपयोग त्यसअन्तर्गत पर्छन्। सामान्य अवस्थामा लगातार आचारसंहिता उल्लंघनका लागि चेतावनी र पेनाल्टीपछि अयोग्य घोषणा हुन सक्छ। तर गम्भीर उल्लंघनमा खेलाडीलाई तत्कालै खेलबाट हटाउन सकिने व्यवस्था छ। अयोग्य घोषित भएपछि मेदभेदेभले बेइजिङमा हासिल गरेका खेल अंक र पुरस्कार रकम गुमाउनेछन्। ३० वर्षीय मेदभेदेभ यसअघि पनि कोर्टमा आक्रोशित व्यवहारका कारण चर्चामा आएका थिए। गत वर्ष यूएस ओपनमा कोर्टमा फोटोग्राफर प्रवेश गरेपछि उनले आक्रोशपूर्ण व्यवहार गरेका थिए र त्यसका लागि करिब ३१ हजार ५०० पाउन्ड जरिवाना तिरेका थिए। यसै वर्ष मोन्टेकार्लो मास्टर्समा ६-०, ६-० ले पराजित भएपछि उनले र्याकेटसमेत तोडेका थिए र त्यस घटनामा पनि जरिवाना भएको थियो। मेदभेदेभले यसअघि आफ्नो कोर्ट व्यवहार सुधार गर्ने प्रयास गरिरहेको बताएका थिए। उनका अनुसार जित्ने चाहनाले आफूमा धेरै एड्रेनालिन र ऊर्जा आउने र कहिलेकाहीँ त्यो सकारात्मक तथा कहिलेकाहीँ नकारात्मक रूपमा बाहिरिने गर्छ।

काठमाडौं– लगातार वर्षाका कारण क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल २०औँ एसियाली खेलकुदको क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा श्रीलंकासँग हुने तय भएको खेल टससमेत नभई रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। खेल हुन नसकेको अवस्थामा ट्वान्टी–२० वरीयतामा माथि रहेको टोलीलाई विजेता मान्ने नियमअनुसार श्रीलंका सेमिफाइनलमा पुगेको छ। ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छन्। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण नेपाल र जापानबीचको समूहचरणको खेल पनि पूरा हुन सकेको थिएन। नेपालले प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने जापानविरुद्धको खेल वर्षाका कारण १५ ओभरमा छोट्याइएको थियो। उक्त खेलमा नेपालले चार विकेट गुमाएर १४९ रन बनाए पनि त्यसपछि वर्षा भएपछि जापानले ब्याटिङ गर्न पाएन।

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानलाई १५० रनको लक्ष्य दिएको छ। वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा चार विकेट गुमाएर १४९ रन बनायो। नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए। लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र एक चौकासहित ५२ रन बनाए। उनले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्।

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। बिहीबार भएको खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। आइचीस्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जापानसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो। लगातार दोस्रो हारसँगै महिला भलिबलमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ। अब नेपालले वरियताका लागि प्रतिस्पर्धा गर्नेछ। त्यसका लागि नेपालले सामना गर्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो।

विश्वकपको फाइनलमा स्पेनसँग १-० को हार बेहोरेर उपाधि चुम्न नसके पनि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको महानतामाथि कुनै प्रश्न उठेको छैन। मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा अतिरिक्त समयको अन्तिमतिर फेरान टोरेसले गोल गर्दै स्पेनलाई विजयी बनाएपछि अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्ने सपना अधुरै रह्यो। मैदानमा आँसु पुछ्दै आफ्ना समर्थकलाई अभिवादन गरिरहेका मेस्सीको दृश्यले संसारभरका फुटबल प्रेमीलाई भावुक बनाएको छ। यद्यपि, ३९ वर्षीय मेस्सीले यस विश्वकपमा ८ गोल र ४ असिस्ट गर्दै ७ खेलमा १२ गोलमा प्रत्यक्ष योगदान पुर्याएर आफू अझै पनि खेलको सर्वोच्च शिखरमा रहेको प्रमाणित गरेका छन्। उनको यो अविश्वसनीय प्रदर्शन र हारलाई पनि गरिमामय ढंगले स्वीकार गर्ने शैलीले उनलाई केवल एक खेलाडी नभएर विश्व फुटबलको एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई मैदानमा ओर्लिने सबैभन्दा महान् खेलाडी भन्दै सम्मान प्रकट गरेका छन्। मेस्सीको फुटबल यात्राले सधैं धैर्य, संयमता र कहिल्यै हार नमान्ने अदम्य साहसको सन्देश दिन्छ। यस विश्वकपमा उनले अर्जेन्टिनालाई पटक-पटक कठिन स्थितिबाट फाइनलसम्म पुर्याउन खेलेको भूमिका र खेलप्रतिको उनको समर्पण युगौँसम्म फुटबल इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ। खेलको नतिजा जस्तोसुकै भए पनि मेस्सीको विरासत अब केवल ट्रफीमा सीमित छैन, बरु उनले फुटबललाई बाँच्ने जुन तरिका सिकाएका छन्, त्यो नै उनको सबैभन्दा ठूलो सफलता हो।

न्युयोर्क । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाए। पेनाल्टी क्षेत्रभित्र बाउन्स भएको बललाई उनले देब्रे खुट्टाले शक्तिशाली प्रहार गर्दै जाली चुमाएका थिए। खेलको निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै अतिरिक्त समयको दोस्रो हाफको सुरुआतमै गोल निकाल्न सफल भयो। स्पेनले खेलभर बलमा पकड कायम राख्दै अर्जेन्टिनामाथि निरन्तर दबाब सिर्जना गरेको थियो। सन् २०१० पछि पहिलो पटक विश्वकप जितेको स्पेनका लागि यो दोस्रो विश्वकप उपाधि हो। यस संस्करणमा स्पेनले आठ खेलमा केवल एक गोल मात्र व्यहोर्दै विश्वकप इतिहासमा च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ कीर्तिमान पनि बनाएको छ। त्यस्तै, स्पेनको अपराजित यात्राले पनि नयाँ इतिहास रचेको छ। टोली अहिले लगातार ३८ खेल अपराजित रहेको छ, जसमा २९ जित र ९ बराबरी समावेश छन्। यो कुनै पनि युरोपेली राष्ट्रले बनाएको सबैभन्दा लामो अपराजित यात्रा हो। यसअघि इटालीको ३७ खेलको कीर्तिमान स्पेनले नै तोडेको हो। यता, फाइनलमा पराजित भएसँगै सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै बनेको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक भिडन्तमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा सम्पन्न खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टीमा स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले उत्कृष्ट प्रहार गर्दै जित सुनिश्चित गरे। यस रोमाञ्चक जितसँगै विश्वकपको अन्तिम १६ का खेलहरू सम्पन्न भएका छन्, जसले प्रतियोगितालाई अब उपाधिको नजिक पुर्याएको छ।

फुटबल जगतका महानायक क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम लागेको छ। अमेरिकाको डलासमा सोमबार राति सम्पन्न फिफा विश्वकपको राउन्ड अफ-१६ को रोमाञ्चक भिडन्तमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। खेलको अन्तिम समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई १६ वर्षपछि प्रतियोगिताको अन्तिम आठमा पुर्यायो भने पोर्चुगिज टोलीको उपाधि सपना अधुरै रह्यो। हारपछि मैदानमै भावुक देखिएका ४१ वर्षीय रोनाल्डोले आँसुका साथ आफ्नो अन्तिम विश्वकपबाट बिदाइ लिएका छन्। उनले आफूले सक्दो प्रयास गरेको बताउँदै यस विश्वकप आफ्नो करियरको अन्तिम संस्करण भएको औपचारिक पुष्टि गरेका छन्। सन् २००६ देखि २०२६ सम्मका लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै एक्लो खेलाडीको कीर्तिमान बनाएका रोनाल्डोले खेलजीवनभर कमाएको विरासत र गौरवमय रेकर्डका कारण यो क्षण विश्वभरका फुटबल प्रशंसकका लागि हृदयविदारक बनेको छ। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि यो हारसँगै टोलीको एक युग समाप्त भएको बताउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड ३२ को रोमाञ्चक भिडन्तमा क्रोएसियालाई २(१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। टोरन्टोमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। तर, ६८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। खेलको अन्तिम समयमा गोन्कालो रामोसले गरेको निर्णायक गोलले पोर्चुगलको जित सुनिश्चित गर्यो। यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो, जसले उनको उत्कृष्ट फर्मलाई प्रमाणित गरेको छ। पोर्चुगलको यो जितसँगै विश्वकपको नकआउट चरणको यात्रा थप रोचक बनेको छ।

काठमाडौँ । फिफा विश्वकप फुटबलबाट नेदरल्यान्ड्स बाहिरिएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन् ।यससँगै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग उनको दोस्रो कार्यकाल पनि समाप्त भएको छ । ६३ वर्षीय कोम्यानले आफ्नो वर्तमान सम्झौता सकिएपछि जिम्मेवारीमा नबस्ने निर्णयबारे नेदरल्यान्ड्स फुटबल सङ्घलाई जानकारी गराएका हुन् । उनको राजीनामाको घोषणा नेदरल्यान्ड्स विश्वकपको अन्तिम ३२ बाट बाहिरिएको केही घण्टापछि आएको हो । नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उपाधि जित्ने अपेक्षामा रहेको टोलीको यात्रा प्रारम्भिक नकआउट चरणमै टुंगिएपछि कोम्यानले पद छाड्ने निर्णय गरेका हुन् ।