
सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–३ का सागर रेग्मी र पारस थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । चार जना गम्भीर घाइते छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिपमा ११ जना सवार रहेको र जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको उनले बताए । घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

सुर्खेत । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सुर्खेतकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। भाद्र २७ गते बिहान लेकवेशी नगरपालिका–१० झुप्रास्थित सडकमा भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते बुढालाई उपचारका लागि नेपालगन्ज लगिएको थियो। उनको भाद्र २८ गते बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक लेकवेशी नगरपालिका–९ का १७ वर्षीय मनोज आचार्य र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

नवलपरासीको गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६:५० बजे दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। लु २ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटका धनमान हमाल र गैँडाकोटका लीला थापाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। त्यसैगरी, अर्को बस लु २ ख ६०३६ का घाइतेहरूमध्ये बस चालक सन्तोष बहादुर गुरुङसहित आत्रिया पौडेल, माधवा ज्ञावाली, शकर बयलकोटी, सिता ज्ञावाली, जस्विन ज्ञवाली र दिभा रानाभाटको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। सोही बसमा सवार अन्य घाइतेहरू मोहन भैया साह, निशा तिवारी, ऐट्रेन भट्ट, निमलाल खड्का, अमृता खड्का, मनोज गुरुङ, हुमा गुरुङ, प्रेम बहादुर रानाभाट र मिरा आचार्यको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सल्यानमा शनिबार बिहान ८ बजे बोलेरो जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार गम्भीर घाइते हुनेमा त्रिवेणी गाउँपालिका ५ सिम्खका वर्ष २९ का तारक बोहरा,२४ का भूपाल पुन, ५० का डिल्लीबहादुर वली, ४२ की लालमती बुढाथोकी र अन्य दुई जना रहेका छन् । दुई जनाको नाम खुलेको छैन । सबैको उ$fर गरेर लुहाम पठाइएकोमा दुईजनालाई जिल्ला अस्पताल सल्यान ल्याएको, तीन जनालाई लुहामको पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि दाङ लागिएको र एकजनाको लुहामको पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी गराए । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जिप सडकदेखि २ सय मिटर तल खसेको छ । जीपमा चालकसहित ६ जना सवार थिए ।

सुर्खेत, २० श्रावण — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटला चोक नजिक भित्री सडकमा दुई अटो एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। सोमबार राति करिब ११ बजे पिपिराबाट नेवारेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १२२४ नम्बरको अटो ठोक्किएका हुन्। दुर्घटनामा वीरेन्द्रनगर–१३ का करिब २० वर्षीय गगन ठाडा घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्को अटोमा सवार दुई जना सामान्य घाइते भए पनि उपचार नगराई गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ। प्रहरीले एक अटो चालक धनवीर गाहामगरसहित दुवै अटोलाई नियन्त्रणमा लिएको छ। अर्को अटोका चालक भने दुर्घटनापछि फरार रहेकाले खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेत, साउन १८— सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–२ स्थित उत्तरगंगा मन्दिर नजिक सोमबार बिहान करिब ५:४५ बजे मूलपानी चोकबाट फलाटेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४८७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक कालिकोटको महावै गाउँपालिका–४ घर भई हाल वीरेन्द्रनगर–१० रहलपुर बस्ने २४ वर्षीय समीर सिंह गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि कर्णाली प्रदेश अस्पताल, कालागाउँमा रेफर गरिएको छ। अस्पतालमा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी सहायक निरीक्षक शिव मैनालीको नेतृत्वमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुर्खेत, साउन १४ । सुर्खेतको वीरेन्द्रनगरमा अटोको ठक्करबाट गम्भीर घाइते भएका एक पैदल यात्रीको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ निवासी ६० वर्षीय रत्नबहादुर विक रहेका छन्। गत असार २४ गते बिहान करिब १० बजे वीरेन्द्रनगर–११ स्थित धुलियाबिट नजिकको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ स १०९४ नम्बरको अटोले उनलाई ठक्कर दिएको थियो। अटो सोही स्थानका २३ वर्षीय राजु सुनारले चलाएका थिए। दुर्घटनामा विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उद्धार गरी कर्णाली केयर अस्पताल सुर्खेत पुर्याइएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोही दिन नेपालगञ्ज नर्सिङ होम रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि असार २६ गते भारतको लखनउस्थित सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा साउन १४ गते बिहान ४ बजे विकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रदेश अस्पताल कालागाउँ, सुर्खेतको शवगृहमा ल्याइएको छ। दुर्घटनामा संलग्न अटो र चालक राजु सुनारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुर्खेत, साउन १२ – सुर्खेतको लेकबेशी नगरपालिकामा मंगलबार बिहान यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ख ५४० नम्बरको मुस्ताङ जिप बिहान करिब १० बजे लेकबेशी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकन्डरा क्षेत्रमा उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक मोहन चन्दको नेतृत्वमा ४ जना तथा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मदन शाहीको नेतृत्वमा ९ जनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार २२ वर्षिय सुष्मा कार्की , २६ वर्षिय तिल्सरा सिरिस , ७० वर्षिय अमृता कार्की र अन्दाजी ७० वर्षिय खगिसरा बि.क. गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि माया नर्सिङ होम, सुर्खेत पठाइएको छ। यस्तै, दर्शन बि.क., जुना सुनार, उमा राना तथा चालक दिपेश पुनसहित अन्य चार जना स्थानीय मेडिकल दशरथपुरमा उपचाररत छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको रात्रिबस मकवानपुरको मनहरी–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा गएराति दुर्घटनामा परेको छ। बसमा १६ जना यात्रु सवार रहेकामा पाँच जना गम्भीर घाइते भएका छन्। दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि मनहरी अस्पताल लगिएको र थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर बिक, चितवनका ३० वर्षीय संजय तामाङ, पर्साका ५४ वर्षीय मोहम्मद आजाद, बाराका २३ वर्षीय राजकुमार राम र भारतीय नागरिक २५ वर्षीय सुदिर कुमार रहेका छन्। पछिल्लो समय सो क्षेत्रमा सडक दुर्घटनाका घटनाहरू बढ्दै गएकाले सवारी चालक र यात्रुहरूलाई थप सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

श्रीमतीको हत्या गरेको गम्भीर अभियोगमा एक नेपाली पुरुष र उनकी प्रेमिकालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट यो हत्या कुनै आकस्मिक घटना नभई योजनाबद्ध रूपमा गरिएको हुन सक्ने बलियो आशंका उब्जिएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले अहिले पक्राउ परेका दुवै जनामाथि विस्तृत बयान लिने र घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गर्ने कार्यलाई तीव्र बनाएको छ। कानुनतः अदालतबाट दोषी प्रमाणित नभएसम्म उनीहरूलाई आरोपीका रूपमा मात्रै लिइने भए पनि, यो घटनाले समाजमा ठूलो तरंग पैदा गरेको छ। प्रहरीले सत्यतथ्य पत्ता लगाउन वैज्ञानिक अनुसन्धान गरिरहेको जनाएको छ भने दोषी ठहरिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने निश्चित छ।

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा गएराति एउटा दर्दनाक घटना भएको छ। जङ्गली हात्तीको आक्रमणबाट २५ वर्षीया आमा आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै ज्यान गएको हो। रातिको समयमा घरभित्रै सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा यो दुखद घटना घटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हात्तीलाई धपाउने प्रयासमा आशिकाका श्रीमान् पूर्णले बालेको आगोका कारण उनीहरूको कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीय बासिन्दा र प्रहरीको तत्परतामा आगो नियन्त्रणमा लिइए पनि आमाछोरालाई बचाउन सकिएन। पछिल्लो समय चितवनका विभिन्न क्षेत्रमा जङ्गली जनावरको त्रास बढ्दै जाँदा स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।

दैलेख। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा फोर्स गाडी कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी कार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आइतबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय नागरिकको संयुक्त टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ। कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारिएको छ। प्रहरीका अनुसार हालसम्म प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, यात्रु सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको खुलेको छ। दुर्घटनामा परी कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी जेखे तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परिवारलाई जिम्मा लगाइएको छ। सवारी साधनमा यीबाहेक अन्य यात्रु पनि सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिएका छन्। सम्भावित स्थान, नदी किनार तथा अन्य जिल्लाका क्षेत्रमा समेत संयुक्त टोलीद्वारा खोजतलास कार्य निरन्तर भइरहेकाे रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ- काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। बलुचिस्तानका अधिकारीहरूका अनुसार सेरानी जिल्लामा बस दुर्घटना भएको हो। क्वेटास्थित रेस्क्यु ११२२ का प्रवक्ताका अनुसार बस क्वेटाबाट पेसावर जाँदै थियो। बलुचिस्तानका मुख्यमन्त्रीका सहायक साहिद रिन्दले ४० जनाको मृत्यु भएको पुष्टि गर्दै आठ जना घाइते भएको बताएका छन्। उनले भने, ‘प्रारम्भिक जानकारीअनुसार बसले आफ्नै यात्रुबाहेक अर्को बिग्रेको बसबाट पनि यात्रु बोकेको थियो।’ स्थानीय अधिकारीहरूका अनुसार बस गहिरो खोचमा खसेको हो। जसले गर्दा यात्रुहरूलाई उद्धार गर्न गाह्रो भएको थियो। दुर्घटनास्थलबाट प्राप्त तस्बिरमा बस पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ।