
काठमाडौं, साउन १९ — राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा दुर्गम क्षेत्रका १०३ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नेपाली सेनामार्फत उद्धार गरिएको हो। मन्त्रालयले हवाई उद्धारलाई व्यवस्थित गर्न हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ।
लामो समयसम्म प्रसव व्यथा लाग्ने, अत्यधिक रक्तश्राव हुने, पाठेघर फुट्ने, गर्भमा शिशुको मृत्यु हुनेलगायत जटिल अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई उक्त कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गरिने व्यवस्था रहेको छ।



