
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको लापरबाहीका कारण पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान सडकपेटीमै सुत्केरी भएकी छन्। मंगलबार राति सुत्केरी बेथा लागेर आएकी बबितालाई रगत परीक्षणका लागि ३२ सय रुपैयाँ लाग्ने भनिएको थियो। तर, श्रीमान् हरेरामसँग दुई हजार मात्र भएकाले पैसा जोहो गर्न बाहिरिँदा बबिताले सडकपेटीमै शिशुलाई जन्म दिइन्।
सार्वजनिक सञ्जालमा भिडियो भाइरल भएपछि आमा र शिशुलाई अस्पताल ल्याएर स्वास्थ्य परीक्षण गराइएको छ। यो हृदयविदारक घटनाले सरकारी अस्पतालको सेवा प्रणाली, संवेदनहीनता र विपन्न नागरिकप्रतिको विभेदपूर्ण व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ। पैसाको अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने बाध्यताले निःशुल्क स्वास्थ्य सेवाको सरकारी दाबीलाई समेत व्यङ्ग्य गरेको छ।



