
न्युयोर्क । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाए। पेनाल्टी क्षेत्रभित्र बाउन्स भएको बललाई उनले देब्रे खुट्टाले शक्तिशाली प्रहार गर्दै जाली चुमाएका थिए।
खेलको निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै अतिरिक्त समयको दोस्रो हाफको सुरुआतमै गोल निकाल्न सफल भयो।
स्पेनले खेलभर बलमा पकड कायम राख्दै अर्जेन्टिनामाथि निरन्तर दबाब सिर्जना गरेको थियो। सन् २०१० पछि पहिलो पटक विश्वकप जितेको स्पेनका लागि यो दोस्रो विश्वकप उपाधि हो।
यस संस्करणमा स्पेनले आठ खेलमा केवल एक गोल मात्र व्यहोर्दै विश्वकप इतिहासमा च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ कीर्तिमान पनि बनाएको छ।
त्यस्तै, स्पेनको अपराजित यात्राले पनि नयाँ इतिहास रचेको छ। टोली अहिले लगातार ३८ खेल अपराजित रहेको छ, जसमा २९ जित र ९ बराबरी समावेश छन्। यो कुनै पनि युरोपेली राष्ट्रले बनाएको सबैभन्दा लामो अपराजित यात्रा हो। यसअघि इटालीको ३७ खेलको कीर्तिमान स्पेनले नै तोडेको हो।
यता, फाइनलमा पराजित भएसँगै सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै बनेको छ।



