
दिलिप कडेंल, सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिका–३ स्थित श्री शोभानचौर सामुदायिक वन उपभोक्ता समूहले स्थानीय बासिन्दाको जीवनस्तर सुधार तथा विद्युत् सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले ८६ घरधुरीलाई घरभित्र विद्युत् वायरिङका लागि आर्थिक सहयोग वितरण गरेको छ। सामुदायिक वन उपभोक्ता समूहले प्रत्येक घरधुरीलाई रु. ८ हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको हो। जस अनुसार कुल ८६ घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरेका छन्। वितरण गरिएको रकम घरभित्र सुरक्षित विद्युत् वायरिङ गर्न प्रयोग गरिने बताइएको छ। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशर बहादुर नाम्जाली मगरले वनबाट प्राप्त आम्दानीलाई उपभोक्ताको प्रत्यक्ष हितमा उपयोग गर्ने उद्देश्यअनुसार विद्युत् वायरिङका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ । अध्यक्ष नाम्जालीले सामुदायिक वन केवल वन संरक्षणमा सीमित नरही सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा समेत सक्रिय रूपमा योगदान दिँदै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि वनको आम्दानीलाई पारदर्शी, प्रभावकारी र उपभोक्तामैत्री ढंगले परिचालन गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास तथा विपन्न परिवारको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकता दिइने बताउनु भएको छ। स्थानीय उपभोक्ताहरूले सामुदायिक वनबाट प्राप्त आर्थिक सहयोगले घरमा वायरिङ गर्न ठूलो राहत पुगेको बताएका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो सहयोग निकै उपयोगी भएको पनि उनीहरूको प्रतिक्रिया रहेको छ। सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै उपभोक्ताको प्रत्यक्ष हितमा कार्यक्रम सञ्चालन गरिरहेको छ। यस प्रकारका कार्यक्रमले वन संरक्षणप्रति स्थानीयको अपनत्व बढ्नुका साथै सामुदायिक वनप्रतिको विश्वास अझ मजबुत बन्ने अपेक्षा गरिएको छ।

दिलिप कडेंल, सुर्खेत। विश्व स्तनपान सप्ताह २०८३ को अवसरमा चौकुने गाउँपालिका स्वास्थ्य शाखाले प्रभावकारी स्तनपान प्रवर्द्धनका लागि सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको जनाएको छ। "दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ" भन्ने मूल नारासहित साउन १६ देखि २२ (१–७ अगस्ट) सम्म विश्व स्तनपान सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेयका अनुसार नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको दूध चुसाउन सुरु गर्नुपर्ने, पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने तथा त्यसपछि दुई वर्ष वा सोभन्दा बढी समयसम्म पोषिलो थप आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्ने सन्देश समुदायसम्म पुर्याइनेछ। प्रमुख पाण्डेयले प्रभावकारी स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै संक्रमणबाट जोगाउने, कुपोषण घटाउने र आमाको स्वास्थ्य संरक्षणमा समेत टेवा पुग्ने भएकाले परिवार, समुदाय तथा सबै सरोकारवालाले स्तनपानमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। विश्व स्तनपान सप्ताहको अवसरमा चौकुने गाउँपालिका स्वास्थ्य शाखाले सम्पूर्ण आमा, परिवार तथा समुदायलाई स्तनपानसम्बन्धी सही अभ्यास अपनाई स्वस्थ र समृद्ध समाज निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जङ्गली च्याउ खाँदा एक महिला बिरामी परेकी छन्। वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलकी ४० वर्षीया कोशिला पौडेल जङ्गली च्याउ सेवन गरेपछि बिरामी परेकी हुन्। प्रहरीका अनुसार साेमबार अपराह्न करिब १:३० बजे घरमै पकाएको जङ्गली च्याउ खाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। अवस्था बिग्रिएपछि साँझ करिब ५ बजे उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो। अस्पतालमा उपचाररत पौडेलको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अस्पतालमा खटिएका प्रहरी हवल्दार दिनेश पौडेलका अनुसार उनको उपचार भइरहेको छ भने उपचार प्रक्रियामा उनका छोरा राजन पौडेल संलग्न रहेका छन्। प्रहरी तथा स्वास्थ्यकर्मीले जङ्गलमा उम्रिएका अपरिचित च्याउ विषालु हुन सक्ने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

हेटौंडा । गर्मी तथा वर्षायाममा छालासम्बन्धी समस्या बढ्ने भएकाले छालाको उचित स्याहारमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। उनीहरूका अनुसार शरीरका अङ्गहरूमध्ये छाला सबैभन्दा संवेदनशील भएकाले घाम, संक्रमण तथा अस्वस्थ जीवनशैलीबाट यसलाई जोगाउन आवश्यक छ। चिकित्सकका अनुसार घाममा बढी पर्ने शरीरका खुला भागहरूमा छिटो असर देखिने भएकाले बच्चादेखि वृद्धसम्म सबैले घामबाट जोगिने उपाय अपनाउनुपर्छ। एक दिनको अत्यधिक घामले पनि छालामा क्षति पुर्याउन सक्ने उनीहरूको भनाइ छ। वर्षायाममा भने ब्याक्टेरिया, भाइरस तथा फंगसजन्य संक्रमणको जोखिम बढ्ने गर्दछ। यस समयमा धाउ पाक्ने, पिलो आउने, शरीरका काप–कापमा संक्रमण हुने तथा गोडाका औँलामा छालाका पत्र छुट्टिने समस्या देखिन सक्छन्। लामो समयसम्म शरीरका भागहरू चिसो र ढाकिएको अवस्थामा रहँदा फंगसको संक्रमण बढ्ने चिकित्सकहरू बताउँछन्। विशेषज्ञहरूका अनुसार फेसवास तथा क्रिम प्रयोग गर्नुअघि आफ्नो छालाको प्रकृति पहिचान गर्नु आवश्यक हुन्छ। सामान्य, सुख्खा, चिल्लो, मिश्रित वा संवेदनशील छालाअनुसार फरक–फरक उत्पादन प्रयोग गर्नुपर्ने हुन्छ। यसका लागि छालारोग विशेषज्ञसँग परामर्श गरी छालाको प्रकृति थाहा पाएपछि मात्रै उपयुक्त फेसवास, मोइस्चराइजर तथा क्रिम छनोट गर्न सुझाव दिइएको छ। गर्मी र जाडो मौसममा पनि फरक प्रकारका क्रिम प्रयोग गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ। चिकित्सकहरूका अनुसार छाला शरीरको समग्र स्वास्थ्यको ऐना हो। शरीरका अन्य अंगमा समस्या हुँदा पनि त्यसको असर छालामा देखिन सक्छ। पेटसम्बन्धी रोग, थाइराइड, मधुमेहलगायतका स्वास्थ्य समस्याले पनि छालामा असर पुर्याउन सक्छन्। राति अबेरसम्म जाग्राम बस्ने, धूम्रपान तथा मद्यपान गर्ने बानीले छालाको स्वास्थ्य बिगार्न सक्ने बताइएको छ। हरियो सागसब्जी, फलफूल तथा प्रशस्त पानीको सेवनले छालालाई स्वस्थ राख्न सहयोग पुग्ने चिकित्सकहरूको सुझाव छ। त्यस्तै नियमित शारीरिक व्यायाम पनि छालाको स्वास्थ्यका लागि आवश्यक मानिएको छ। मोटोपन बढ्दै जाँदा डन्डीफोर आउने, हार्मोनल परिवर्तन हुने, घाँटीको पछाडिपट्टि तथा काखीमा कालोपन देखिने समस्या हुन सक्ने चिकित्सकहरूले बताएका छन्। लामो समय मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल स्क्रिनको प्रयोग गर्दा छालामा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरू बताउँछन्। यस्ता उपकरणबाट निस्कने निलो प्रकाश (ब्लु लाइट) ले छालामा विभिन्न समस्या निम्त्याउन सक्छ। विगतमा गर्भवती महिलामा बढी देखिने चाया–पोतोको समस्या अहिले लामो समय स्क्रिनमा काम गर्ने पुरुषहरूमा समेत देखिन थालेको चिकित्सकहरूको भनाइ छ। अत्यधिक स्क्रिन प्रयोग गर्ने व्यक्तिहरूमा कम उमेरमै छालामा बुढ्यौलीका लक्षण देखिन सक्ने बताइएको छ। चिकित्सकहरूका अनुसार बिहानको समयमा फेसवास प्रयोग अनिवार्य नभए पनि साँझमा अनुहार सफा गर्न फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ। सनस्क्रिन भने छालाको प्रकृतिअनुसार चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ। अधिकांश सनस्क्रिनको प्रभाव तीनदेखि चार घण्टासम्म रहने भएकाले आवश्यकताअनुसार पुनः प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। घरमै दही, कागतीलगायतका सामग्री प्रयोग गरेर फेसप्याक बनाउने चलन वैज्ञानिक रूपमा उपयुक्त नभएको भन्दै चिकित्सकहरूले त्यस्ता उपाय अपनाउन नहुने सुझाव दिएका छन्। छालाको स्याहारका लागि के गर्ने? बिहान अनुहार सफा गर्ने। छालाको प्रकृतिअनुसार मोइस्चराइजर प्रयोग गर्ने। नियमित रूपमा सनस्क्रिन लगाउने। प्रशस्त पानी पिउने र सन्तुलित आहार खाने। नियमित व्यायाम गर्ने। राति सुत्नुअघि फेसवास गरी आवश्यक क्रिम प्रयोग गर्ने। विशेषज्ञहरूका अनुसार छालाको सही स्याहार र स्वस्थ जीवनशैली अपनाएमा गर्मी तथा वर्षायाममा देखिने अधिकांश छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ।

काठमाडौं । महिनावारीका बेला हुने पेट तथा कम्मर दुखाइ कम गर्न प्रयोग गरिने पेन किलरले बाँझोपन निम्त्याउँछ भन्ने धारणा गलत भएको चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार यस्तो औषधिको प्रयोग सुरक्षित हुने र यसले महिलाको प्रजनन क्षमतामा कुनै असर नगर्ने बताएका हुन्। चिकित्सकहरूका अनुसार महिनावारीका बेला हुने दुखाइ पाठेघरको प्राकृतिक खुम्चिने प्रक्रियाका कारण हुन्छ। प्रत्येक महिना गर्भधारणको तयारीस्वरूप पाठेघरको भित्री भागमा बन्ने पत्र गर्भ नरहेपछि शरीरबाट बाहिर निकाल्ने क्रममा पाठेघर खुम्चिने गर्छ। यही प्रक्रियालाई सक्रिय बनाउन शरीरले ‘प्रोस्टाग्ल्यान्डिन्स’ नामक रसायन उत्पादन गर्ने भएकाले दुखाइ महसुस हुने गर्दछ। महिनावारी सुरु हुनुअघि शरीरमा प्रोस्टाग्ल्यान्डिन्सको मात्रा बढ्ने र यसको स्तर बढी भएका महिलाहरूमा दुखाइ पनि बढी हुने चिकित्सकहरूको भनाइ छ। पाठेघर खुम्चिने क्रममा केही समयका लागि अक्सिजनको आपूर्ति कम हुँदा पनि पेट तथा कम्मर दुख्ने समस्या देखिने बताइएको छ। दुखाइ कम गर्न प्रयोग गरिने ‘आइबुप्रोफेन’ र ‘मेफेनामिक एसिड’ जस्ता औषधिहरूले प्रोस्टाग्ल्यान्डिन्सको उत्पादन घटाएर पाठेघरको अत्यधिक खुम्चिने प्रक्रिया कम गर्छन्। यसले दुखाइमा राहत दिनुका साथै अत्यधिक रक्तस्रावलाई पनि केही हदसम्म नियन्त्रण गर्न सहयोग पुर्याउँछ। चिकित्सकहरूले महिनावारीको समयमा पेन किलर सेवन गर्दा पाठेघर बिग्रिने वा भविष्यमा सन्तान जन्माउन समस्या हुने भन्ने धारणा वैज्ञानिक रूपमा प्रमाणित नभएको बताएका छन्। यस्ता औषधिले केवल अस्थायी रूपमा दुखाइ र सूजन कम गर्ने काम मात्र गर्ने उनीहरूको भनाइ छ। यद्यपि औषधि सेवन गर्दा खाली पेटमा नखान र चिकित्सकको सल्लाहअनुसार सही मात्रा मात्र प्रयोग गर्न सुझाव दिइएको छ। यदि औषधि सेवन गर्दा पनि अत्यधिक दुखाइ कायम रहन्छ भने अन्य स्वास्थ्य समस्या हुन सक्ने भएकाले विशेषज्ञसँग परामर्श लिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

काठमाडौं, जेठ १९ — गर्मीयामसँगै बजारमा लिच्ची प्रशस्त मात्रामा उपलब्ध हुन थालेको छ। स्वादिलो र रसिलो फलका रूपमा परिचित लिच्ची बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा पर्ने गर्दछ। तर, विज्ञहरूले यसको सेवन सीमित मात्रामा गर्न सुझाव दिएका छन्। लिच्चीमा भिटामिन सी, भिटामिन बी–६, नियासिन, फोलेट, पोटासियमलगायत विभिन्न पोषक तत्व पाइन्छन्। साथै, यसमा करिब ८३ प्रतिशत पानी र १६.५ प्रतिशत कार्बोहाइड्रेट रहने भएकाले शरीरलाई ऊर्जा र आवश्यक पोषण प्रदान गर्न मद्दत गर्छ। स्वास्थ्य विज्ञहरूका अनुसार लिच्ची बिहानको नास्ता वा दिउँसोको समयमा खानु उपयुक्त मानिन्छ। रातिको समयमा यसको सेवन नगर्न सुझाव दिइएको छ। एक स्वस्थ व्यक्तिले दैनिक १० देखि १२ वटा लिच्ची सेवन गर्दा स्वास्थ्यमा फाइदा पुग्न सक्छ। तर, अत्यधिक मात्रामा लिच्ची खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने विज्ञहरूको भनाइ छ। लिच्चीमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले मधुमेहका बिरामीले पनि सीमित मात्रामा सेवन गर्न सक्छन्। साथै, नियमित रूपमा उचित मात्रामा लिच्ची खाँदा कलेजोको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने र कलेजोसम्बन्धी रोगको जोखिम कम गर्न सहयोग पुग्ने बताइएको छ। विज्ञहरूले कुनै पनि फलफूलको अत्यधिक सेवन नगरी सन्तुलित आहारको हिस्सा बनाउँदै खान सुझाव दिएका छन्।

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने समस्या देखिन थालेको छ। विशेषज्ञहरूका अनुसार यस्तो समस्या मुख्यतः धुलो, धुवाँ र वायुमण्डलमा रहेका सूक्ष्म कणका कारण हुने गर्छ। छाती रोग विशेषज्ञ डा. अर्पणा न्यौपानेका अनुसार प्रदूषणका कारण श्वासप्रश्वास प्रणालीमा असर पर्दा शरीरले बाहिरी फोहोर तथा हानिकारक कणलाई खकारमार्फत बाहिर निकाल्ने प्रयास गर्छ। “घाँटी चिलाउने, खसखस हुने, औषधि खाँदा केही समय कम भए पनि पूर्ण रूपमा निको नहुने र खकार नआए पनि निकाल्न खोजिरहने जस्ता समस्या अहिले धुलो–धुवाँका कारण बढेका छन्,” उनले बताइन्। उनका अनुसार कतिपय व्यक्तिमा खकार नहुँदा पनि निकाल्न खोजिरहने बानी विकसित हुन्छ, जसले घाँटीमा केही अड्किएको जस्तो अनुभूति गराउँछ। यो अवस्था प्रदूषणसँग सम्बन्धित मानसिक तथा शारीरिक प्रतिक्रियाको परिणाम हुन सक्छ। प्रदूषणले कसरी बढाउँछ खकार? शरीरको प्रतिरक्षा प्रणालीले घाँटीभन्दा तल पुगेका धुलो तथा फोहोरका कणलाई खकारमार्फत बाहिर निकाल्ने काम गर्छ। खकारले श्वासनलीलाई चिस्यानयुक्त राख्नुका साथै हानिकारक तत्व बाहिर निकाल्न सहयोग पुर्याउँछ। तर प्रदूषणका कारण अत्यधिक कण शरीरभित्र प्रवेश गर्दा खकार उत्पादन गर्ने प्रणाली बढी सक्रिय हुन्छ र खकारको मात्रा बढ्न थाल्छ। चिकित्सकका अनुसार लगातार खकार आउने अवस्थालाई ‘एक्युट ब्रोन्काइटिस’ भनिन्छ। लामो समयसम्म समस्या निरन्तर रहिरहेमा यो ‘क्रोनिक ब्रोन्काइटिस’मा परिणत हुन सक्छ, जसले श्वासनलीमा स्थायी परिवर्तन ल्याउन सक्छ। काठमाडौंको हावा स्वास्थ्यका लागि जोखिमपूर्ण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पीएम २.५ सूचकांकमा ४० सम्मको स्तरलाई अपेक्षाकृत सुरक्षित मानिन्छ। तर हाल काठमाडौं उपत्यकामा यो स्तर करिब १९० सम्म पुगेको तथ्यांकले देखाएको छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। विशेषज्ञहरूका अनुसार यस्तो अवस्थामा औषधिले शरीरभित्र पसेका हानिकारक कण हटाउन सहयोग गरे पनि प्रदूषित वातावरणमा निरन्तर बसिरहँदा उपचारको प्रभाव सीमित हुन सक्छ। जोगिन के गर्ने? चिकित्सकहरूले सकेसम्म गुणस्तरीय तथा सुरक्षित मास्क प्रयोग गर्न सुझाव दिएका छन्। बजारमा पाइने सबै मास्कले सूक्ष्म धुलोका कण रोक्न नसक्ने भएकाले एन–९५ जस्ता प्रभावकारी मास्क प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू प्रदूषणबाट बढी प्रभावित हुने भएकाले बिहान र बेलुकीको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिइएको छ। यी समयमा हावा स्थिर रहने भएकाले प्रदूषणका कण जमिन नजिकै बढी रहने र श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै प्रवेश गर्ने सम्भावना हुन्छ। लामो समयसम्म खोकी लागिरहने, घाँटी खसखस हुने वा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिन विशेषज्ञहरूले आग्रह गरेका छन्। विशेषगरी बालबालिकाको श्वासप्रश्वास प्रणाली विकासकै क्रममा हुने भएकाले उनीहरूमा यस्ता लक्षण देखिएमा तत्काल उपचार गराउनु आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ।

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही मानिसलाई आँप खाएपछि पेट दुख्ने, ग्यास हुने, पेट भारी हुने तथा पखाला लाग्ने समस्या देखिने गरेको छ। स्वास्थ्य विज्ञहरूका अनुसार आँप आफैंमा हानिकारक फल होइन। तर यसको सेवन गर्ने तरिका, मात्रा तथा व्यक्तिको पाचन क्षमताले स्वास्थ्यमा असर पार्ने गर्दछ। सीके बिर्ला अस्पताल की क्लिनिकल पोषणविद् दीपाली शर्मा का अनुसार स्वस्थ व्यक्तिलाई सामान्य अवस्थामा आँपले समस्या गर्दैन, तर अत्यधिक वा गलत तरिकाले खाँदा पेट सम्बन्धी समस्या निम्तिन सक्छ। विशेषज्ञहरूका अनुसार आँपमा प्रशस्त फाइबर हुने भएकाले धेरै मात्रामा सेवन गर्दा पेटमा दबाब बढ्न सक्छ। एकै पटक धेरै आँप खाँदा पाचन प्रणाली प्रभावित भई पखाला लाग्ने सम्भावना बढ्ने बताइएको छ। साथै आँपमा पाइने फ्रुक्टोज केही व्यक्तिको शरीरले सजिलै पचाउन नसक्दा ग्यास, पेट फुल्ने तथा पेट दुख्ने समस्या हुन सक्छ। धेरै पाकेको आँप, खाली पेटमा आँप सेवन तथा रासायनिक रूपमा पकाइएका आँपले पनि पेटमा असर गर्न सक्ने चिकित्सकहरूको भनाइ छ। गर्मी मौसममा काटेको आँप लामो समय खुला राख्दा ब्याक्टेरिया उत्पन्न हुने भएकाले त्यसले बान्ता र पखालासमेत गराउन सक्छ। स्वास्थ्य विज्ञहरूले आँप खानुअघि राम्ररी धुने, एकै पटक धेरै नखाने, काटेको आँप लामो समय बाहिर नराख्ने तथा सन्तुलित मात्रामा सेवन गर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार सावधानी अपनाएर खाएमा आँप स्वास्थ्यका लागि लाभदायक फल नै हो।

आजभोलि तन्दुरुस्त देखिने व्यक्तिको समेत अचानक हृदयाघातका कारण मृत्यु हुने घटनाहरू बढ्दै गएका छन्। चिकित्सकहरूका अनुसार मुटु रोग विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ। मुटुको कार्यप्रणालीमा अवरोध आउँदा हृदयाघात हुने गर्दछ, जसले ज्यानै जोखिममा पार्न सक्छ। विशेषज्ञहरू भन्छन्, अस्वस्थ जीवनशैली, अत्यधिक तनाव, धुमपान, मद्यपान तथा पर्याप्त निद्रा नहुनु मुटुरोगका मुख्य कारण हुन्। तनाव कम गर्ने बहानामा गरिने खराब बानीहरूले मुटुमा झन् गम्भीर असर पुर्याउने गरेको चिकित्सकहरूको भनाइ छ। मुटुरोगका प्रारम्भिक लक्षणमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक थकान महसुस हुने, चक्कर लाग्ने, हात–काँध दुख्ने, खुट्टा सुन्निने तथा वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छन्। यस्ता लक्षणलाई बेवास्ता नगरी समयमै परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। त्यस्तै, लामो समयसम्म रुघाखोकी लागिरहनु, सेतो वा गुलाबी थुक आउनु तथा बिना मेहनत धेरै पसिना आउनु पनि मुटु रोगका संकेत हुन सक्ने बताइएको छ। मुटुरोगबाट बच्न तनाव नियन्त्रण गर्नु, नियमित व्यायाम गर्नु, स्वस्थ खानपान अपनाउनु तथा स्वच्छ वातावरणमा गहिरो सास फेर्ने बानी बसाल्न चिकित्सकहरूले आग्रह गरेका छन्। साथै, नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहअनुसार जीवनशैली सुधार गर्न सके मुटुरोगको जोखिम कम गर्न सकिने बताइएको छ।

नेपालमा टाउको दुख्ने समस्या बढ्दो रूपमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार करिब ६० प्रतिशत टाउको दुखाइको मुख्य कारण मानसिक तनाव हो। तर यो समस्या केवल सामान्य कारणले मात्र नभई विभिन्न रोग र स्वास्थ्य अवस्थासँग पनि सम्बन्धित हुन सक्छ। तनावका कारण हुने टाउको दुखाइलाई ‘टेन्सन हेड्याक’ भनिन्छ। यसमा टाउको वरिपरि कसिएको जस्तो महसुस हुने, हल्का तर लामो समयसम्म दुख्ने, निन्द्रा नलाग्ने र आलस्य हुने लक्षण देखिन्छन्। यस्ता अवस्थामा ध्यान, योग, मनोवैज्ञानिक परामर्श तथा सामाजिक अन्तरक्रियाले राहत दिन सक्छ। त्यस्तै, माइग्रेन पनि टाउको दुख्ने प्रमुख कारणमध्ये एक हो। माइग्रेन हुँदा टाउकोको एक भागमा मात्र तीव्र दुखाइ हुने र २–३ दिनसम्म रहन सक्ने हुन्छ। कतिपय अवस्थामा आँखा वरिपरि अत्यधिक पीडा हुने र दैनिक कामकाज प्रभावित हुने देखिन्छ। खानपानमा सावधानी अपनाउँदा र चिकित्सकीय उपचारले यसलाई नियन्त्रण गर्न सकिन्छ। चिकित्सकहरूले टाउको दुख्ने अन्य कारणहरू पनि औंल्याएका छन्। क्लस्टर हेड्याक हुँदा आँखाको एकातिर मात्र कडा दुखाइ हुन्छ भने उच्च रक्तचापका बिरामीमा टाउको भारी हुने समस्या देखिन्छ। त्यसैगरी गर्मी मौसममा पानीको कमी हुँदा पनि टाउको दुख्न सक्छ। पिनास (साइनोसाइटिस) का कारण अनुहार वरिपरि दुखाइ र ज्वरो आउन सक्छ भने संक्रमणका कारण टाउको दुखाइसँगै वान्ता र ज्वरो देखिन सक्छ। अझ गम्भीर अवस्थामा नसा फुट्ने जोखिम, विशेषगरी ४०–५० वर्ष उमेर समूहमा, अचानक टाउको दुखाइ र बेहोस हुने लक्षण देखा पर्न सक्छ। मस्तिष्क ट्युमर जस्तो गम्भीर कारणले पनि टाउको दुखाइ हुन सक्छ, जसमा कहिले दुख्ने र कहिले नदुख्ने, वान्ता हुने तथा अन्य न्युरोलोजिकल लक्षण देखिन सक्छन्। विशेषज्ञहरूका अनुसार टाउको दुखाइलाई सामान्य ठानेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ। लगातार दुखाइ वा अन्य लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनु र आवश्यक परे एमआरआई जस्ता परीक्षण गर्नु उपयुक्त हुन्छ। टाउको दुखाइबाट बच्न तनाव व्यवस्थापन, नियमित व्यायाम, पर्याप्त पानी सेवन र स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ। (इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)

गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम र ताजा खानाको उपलब्धताले जीवनशैली सुधार्ने राम्रो अवसर दिन्छ। यहाँ गर्मीमा स्वस्थ रहन अपनाउन सकिने ९ प्रभावकारी उपाय प्रस्तुत गरिएको छ: १. प्रशस्त पानी पिउनुहोस्गर्मीमा शरीरबाट धेरै पसिना निस्कने भएकाले डिहाइड्रेसन हुन सक्छ। त्यसैले दिनभरि पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक छ। चिसो पेयको सट्टा प्राकृतिक फलफूलको रस रोज्नु अझ राम्रो हुन्छ। २. पोषिलो खाना खानुहोस्यो मौसममा ताजा फलफूल र हरियो तरकारी प्रशस्त पाइन्छ। यस्ता खानेकुराले शरीरलाई आवश्यक भिटामिन र मिनरल्स दिन्छन्। नट्स, सलाद र हल्का खाजा रोज्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ३. नियमित हिँडडुल गर्नुहोस्बिहान वा साँझको चिसो समयमा हिँड्नु शरीरका लागि राम्रो व्यायाम हो। छोटो दूरीको पैदल यात्रा वा पार्कमा घुम्दा पनि शरीर ताजा महसुस हुन्छ। ४. सामाजिक सम्बन्ध बलियो बनाउनुहोस्साथीभाइ र परिवारसँग समय बिताउँदा मानसिक स्वास्थ्य राम्रो रहन्छ। पिकनिक, भेटघाट वा रमाइला गतिविधिले तनाव कम गर्न मद्दत गर्छ। ५. सूर्योदयको आनन्द लिनुहोस्बिहान चाँडै उठेर सूर्योदय हेर्नु शारीरिक र मानसिक दुवै हिसाबले लाभदायक हुन्छ। यसले दिनभर ऊर्जावान बनाउँछ र गर्मीबाट पनि बचाउँछ। ६. नियमित व्यायाम गर्नुहोस्व्यायामले शरीरलाई सक्रिय राख्छ र आलस्य हटाउँछ। हल्का योग, स्ट्रेचिङ वा आउटडोर एक्टिभिटी उपयुक्त हुन्छ। ७. छालाको सुरक्षा गर्नुहोस्गर्मीमा घामको असर छालामा बढी पर्छ। त्यसैले सनस्क्रिन, टोपी र लिप बाम प्रयोग गर्नु जरुरी हुन्छ। बाहिरबाट आएपछि छाला सफा राख्नु पनि आवश्यक छ। ८. पर्याप्त निद्रा लिनुहोस्लामो दिनका कारण निद्रामा असर पर्न सक्छ। तर दैनिक कम्तीमा ७–८ घण्टा सुत्नुपर्छ। नियमित सुत्ने र उठ्ने समय बनाउँदा शरीर स्वस्थ रहन्छ। ९. मौसमको मजा लिनुहोस्गर्मी भनेको बाहिरी गतिविधिको समय हो। आफूलाई मनपर्ने काम गर्नुहोस्—जस्तै यात्रा, क्याम्पिङ वा खेलकुद—यसले जीवनमा सन्तुलन ल्याउँछ। साना तर नियमित बानीहरूले गर्मी मौसमलाई स्वस्थ र रमाइलो बनाउन सक्छ। पानी पिउनेदेखि लिएर आराम र व्यायामसम्म ध्यान दिएमा तपाईंले यो मौसमलाई पूर्ण रूपमा उपयोग गर्न सक्नुहुन्छ।

काठमाडौं — बिहान खाली पेटमा लसुन सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिए पनि यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने विज्ञहरूले बताएका छन्। परम्परागत रूपमा घरेलु उपचारमा प्रयोग हुँदै आएको लसुनलाई औषधीय गुणयुक्त खाद्य पदार्थका रूपमा लिइन्छ। विशेषगरी पेट दुख्दा मनतातो पानीसँग लसुन सेवन गर्ने चलन रहँदै आएको छ। प्राचीन समयदेखि नै लसुनले शरीरलाई बलियो बनाउने, ऊर्जा दिने र समग्र स्वास्थ्य सुधार गर्ने विश्वास गरिँदै आएको पाइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार लसुनमा एन्टिबायोटिक तथा एन्टिअक्सिडेन्ट गुण हुन्छ। यसमा भिटामिन ए, बी र सीका साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियमजस्ता खनिज तत्व पाइन्छन्। नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा घटाउन, रक्तसञ्चार सुधार गर्न र मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सहयोग पुर्याउने बताइएको छ। त्यसैगरी, लसुनले पाचन प्रणाली सुधार गर्ने, कब्जियत र डायरियाजस्ता समस्यामा राहत दिने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। दम, खोकी तथा जोर्नी दुखाइमा समेत यसको उपयोगी प्रभाव देखिएको चिकित्सकहरू बताउँछन्। यद्यपि, लसुनको अत्यधिक वा असावधानीपूर्वक सेवनले केही समस्या निम्त्याउन सक्छ। दैनिक धेरै मात्रामा सेवन गर्दा मुख गन्हाउने, पेट पोल्ने, ग्यास बढ्ने तथा छाती जल्ने जस्ता समस्या देखिन सक्छन्। विशेषगरी ग्यास्ट्रिक वा एसिडिटी भएका, लसुनप्रति एलर्जी हुने तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिले लसुन सेवन नगर्न सुझाव दिइएको छ। साथै केही मुटु तथा श्वासप्रश्वाससम्बन्धी बिरामीले पनि चिकित्सकको सल्लाहबिना लसुन सेवन नगर्नु उपयुक्त हुन्छ। तसर्थ, लसुनमा धेरै स्वास्थ्य लाभ भए पनि व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार सन्तुलित रूपमा सेवन गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

काठमाडौँ — हाम्रो भान्सामा दैनिक प्रयोग हुने प्याज केवल स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै उपयोगी खाद्यपदार्थ हो। विभिन्न पोषक तत्त्वले भरिपूर्ण प्याजमा भिटामिन बी, भिटामिन सी, फोलिक एसिड तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ , जसले शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यद्यपि प्याज खाएपछि केही समय मुखबाट गन्ध आउने कारणले कतिपयले यसलाई रुचाउँदैनन्, तर यसको स्वास्थ्य लाभहरूलाई बेवास्ता गर्न सकिँदैन। प्याजमा पाइने औषधीय गुणहरूले विभिन्न रोगहरूबाट बच्न र शरीरको समग्र स्वास्थ्य सुधार गर्न सहयोग गर्छ। १. रुघाखोकीमा राहत रुघाखोकी वा कफ जमेको अवस्थामा प्याज निकै लाभदायक मानिन्छ। प्याजको रसमा मिश्री मिसाएर सेवन गर्दा कफ कम गर्न सहयोग पुग्छ। २. कपालको संरक्षण कपाल झर्ने समस्या भएकाहरूका लागि प्याज उपयोगी हुन सक्छ। यसको रस प्रयोग गर्दा कपाल झर्न कम हुन्छ र जरा बलियो बन्न मद्दत गर्छ। ३. छालाको सौन्दर्य प्याजमा एन्टिइन्फ्लामेट्री, एन्टिअक्सिडेन्ट तथा एन्टिकार्सिनोजेनिक गुण हुन्छन्। नियमित सेवनले छालाको चमक बढाउने र चाउरीपन कम गर्न सहयोग गर्छ। ४. प्रजनन स्वास्थ्यमा सहयोग प्याजको रस र मह मिसाएर सेवन गर्दा प्रजनन स्वास्थ्यमा सुधार आउने विश्वास गरिन्छ। यसले शारीरिक कमजोरी कम गर्न सहयोग पुर्याउन सक्छ। ५. मधुमेह नियन्त्रणमा सहयोगी मधुमेह भएका व्यक्तिहरूका लागि काँचो प्याज लाभदायक हुन सक्छ। यसले शरीरमा इन्सुलिनको कार्यक्षमता सुधार गरी रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ। ६. रोग प्रतिरोधात्मक क्षमता वृद्धि प्याजको नियमित सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ, जसले विभिन्न संक्रमणबाट जोगाउन सहयोग गर्छ। ७. पाचन प्रणाली सुधार अपच वा पाचन समस्याबाट ग्रस्त व्यक्तिहरूका लागि प्याज उपयोगी हुन्छ। यसले पाचक रसको उत्पादन बढाएर खाना सजिलै पचाउन मद्दत गर्छ। ८. क्यान्सर जोखिम घटाउन सहयोग प्याजमा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले शरीरलाई हानिकारक तत्त्वबाट जोगाउँदै केही प्रकारका क्यान्सरको जोखिम कम गर्न सहयोग गर्न सक्छ। ९. कान दुखाइमा घरेलु उपाय परम्परागत रूपमा, हल्का तताएको प्याजको रस प्रयोग गर्दा कान दुखाइ कम हुन सक्छ भन्ने विश्वास गरिन्छ। (यस्ता उपाय अपनाउँदा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।) १०. महिनावारीसम्बन्धी समस्या कम गर्न सहयोग महिलाहरूमा महिनावारीको समयमा हुने असहजता कम गर्न प्याजको रस र मह उपयोगी मानिन्छ। प्याज सस्तो, सजिलै उपलब्ध र बहुउपयोगी खाद्यपदार्थ हो। यसको नियमित तथा सन्तुलित सेवनले शरीरलाई विभिन्न तरिकाले फाइदा पुर्याउन सक्छ। यद्यपि, कुनै पनि स्वास्थ्य समस्या गम्भीर अवस्थामा पुगेमा चिकित्सकको सल्लाह लिनु अत्यावश्यक हुन्छ।

काठमाडौँ — अङ्गुर प्रायः वर्षभरि बजारमा पाइने लोकप्रिय फल हो। कालो, रातो र हरियो विभिन्न रङमा उपलब्ध अङ्गुर स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। सबै उमेर समूहका मानिसले रुचाउने यस फलमा शरीरलाई आवश्यक पोषक तत्व पाइन्छ। तर, अङ्गुरको व्यावसायिक खेतीमा व्यापक रूपमा किटनाशक (विषादी) प्रयोग गरिने भएकाले यसलाई सिधै पानीले मात्रै धोएर खानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ। सामान्य पानीले धोएर मात्र अङ्गुरमा रहेको विषादी पूर्ण रूपमा हट्दैन। त्यसैले अङ्गुर सेवन गर्नुअघि राम्रोसँग सफा गर्नु अत्यन्त जरुरी हुन्छ। विशेषज्ञहरूका अनुसार, सही तरिकाले सफा गरेमा विषादीको असरबाट बच्न सकिन्छ। अङ्गुर सफा गर्ने केही प्रभावकारी उपायहरू यसप्रकार छन्: १. भिनेगर प्रयोग गर्ने तरिका एउटा ठूलो भाँडामा अङ्गुर राखेर पानी हाल्नुहोस्। त्यसपछि २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर मिसाउनुहोस्। अङ्गुरलाई यो घोलमा हल्का चलाउँदै करिब १० मिनेटसम्म भिजाएर राख्नुहोस्। त्यसपछि पानी फ्याँकेर चिसो सफा पानीले राम्ररी धुनुहोस्। यसरी सफा गरिएको अङ्गुर सुरक्षित रूपमा खान सकिन्छ। २. नुन र बेकिङ सोडा प्रयोग गर्ने तरिका एउटा कचौरामा पानी भरेर त्यसमा २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा मिसाउनुहोस्। यी सामग्री पूर्ण रूपमा घुलिसकेपछि अङ्गुरलाई उक्त घोलमा डुबाएर करिब ५ मिनेटसम्म राख्नुहोस्। त्यसपछि घोल फ्याँकेर सफा पानीले राम्ररी पखाल्नुहोस्। स्वास्थ्य सुरक्षित राख्न सधैँ अङ्गुरलाई राम्रोसँग सफा गरेर मात्र सेवन गर्न सुझाव दिइएको छ।

स्वस्थ रहन खानुस् यी ७ खानेकुरा अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं। कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन्। फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार र्पुयाएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ। तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ। १. स्याउः दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ। २. देशी बदाम र ओखरः नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउँछ। ३. अंगुरः तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउँछ। ४. गेडागुडीः प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ। ५. केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन। ६. ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ। ७. दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग र्पुयाउँछ। माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ। स्वास्थ्य खबरबाट