
सुर्खेत। सुर्खेतको गोठीकाँडास्थित प्रतिमा होटलमा अन्दाजी २२ वर्षीय विशाल रावल मृत अवस्थामा फेला परेका छन्। प्रहरी चौकी छेडाका इन्चार्ज यज्ञराज शाहीका अनुसार प्रहरी घटनास्थलतर्फ जाँदै गर्दा मृतकसँगै अर्को कोठामा बसेका साथीले उनको सास बाँकी रहेको भन्दै एम्बुलेन्समा राखेर वीरेन्द्रनगरतर्फ लैजाँदै थिए। घटनाबारे जानकारी पाएपछि प्रहरीले होटलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा होटलको शौचालयभित्र रहेको सेतो पाइपमा सल बाँधिएको अवस्थामा रावल फेला परेको बताइएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकसँगै होटल गएको भनिएकी एक युवती र उनका साथी रहेका छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भएका छन्। उनले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा विजयी भएका हुन्। शाहीका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिस्पर्धामा रहेका नारायणप्रसाद भट्टराईले ७३१, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका उम्मेदवार बनेका थिए। निर्वाचनमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उक्त पदमा निर्वाचित भएका हुन्।

कञ्चनपुर। कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उनीहरूले गत असोज २३ गते साँझ स्थानीय खजुवा जंगलमा किशोरलाई लगेर खुकुरी देखाउँदै धम्की दिनुका साथै कुटपिट गरेका थिए। घटनामा संलग्न पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विभिन्न जिल्लामा स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको प्रधानमन्त्री वालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको हो । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ । भूमि समस्या समाधान समितिमार्फत देशभरका तथ्यांक एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको र अहिलेसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेका छन् । ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ । सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त ठाउँमा बसेका भूमिहीनलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । काठमाण्डौ उपत्यकाबाट विस्थापित परिवारलाई उनीहरूको स्थायी ठेगाना भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने तयारी गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । भूमिहीन भएको झुटो विवरण दिनेहरूको अभिलेख हेरेर आवश्यक कानुनी कारबाही अघि बढाइएको समेत सरकारले जनाएको छ । भूमि सम्बन्धी ऐन, वन ऐनलगायत कानुनमा आवश्यक सुधार गरी प्रक्रिया थप सहज बनाउने तयारीसमेत भइरहेको छ । सरकारले चुनावअघि गरेको प्रतिबद्धताअनुसार १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्य लिएको जनाएको छ। जिल्ला–जिल्लामा समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने कार्यदिशा रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।

सल्यान — हावाहुरीले ढालेका बिजुलीका पोल र चुडिएका तार समयमै मर्मत हुन नसक्दा सल्यानका दुई पालिकाका तीन वडाका दर्जनौँ बस्ती १० दिनदेखि अन्धकारमा छन्। गत असोज १० गते साँझ आएको भीषण हावाहुरीले कपुरकोट गाउँपालिका–५ र ६ तथा शारदा नगरपालिका–१० का विभिन्न ठाउँमा विद्युत्का पोल ढाल्नुका साथै तार चुँडाएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा १ हजार १ सय ७० घरधुरी प्रभावित भएका छन्। विद्युत् नहुँदा खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षा तथा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित भएका छन्। मोबाइल चार्ज गर्नसमेत समस्या भएपछि स्थानीय राति सौर्य टुकी, लालटिन र झर्रोको भर पर्न बाध्य छन्। कपुरकोट–५ का करिब ३ सय, वडा नम्बर ६ का ७ सय ५० र शारदा–१० का १ सय २० घरधुरी विद्युत् सेवाबाट वञ्चित रहेको जनाइएको छ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (ISPAN) ले आगामी असोज १९ गते सोमबारदेखि बजारमा उपलब्ध गराउँदै आएका सुपथ मूल्यका तथा कम स्पिडका इन्टरनेट प्याकेजहरू बिक्री-वितरण गर्न नसकिने जनाएको छ। सङ्घका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विश्वव्यापी रूपमा चुलिएको इन्धनको मूल्य, फाइबर तथा इलेक्ट्रोनिक चिपसेटको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण सेवा प्रदायकहरूको सञ्चालन खर्च धान्न धौ-धौ परेकाले यस्तो निर्णय लिनुपरेको हो। विगत १२ वर्षमा फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा नेपाल दक्षिण एसियामै अगाडि रहन सफल भएको उल्लेख गर्दै ISPAN ले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। साथै, सम्पूर्ण सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेटअनुसारका प्याकेज मात्र वेबसाइटमा राख्न र ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन समेत अनुरोध गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अभियानमा आफ्नो दलको पूर्ण साथ रहने घोषणा गरेका छन्र । प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्दै नेता शाहीले सुशासनको पक्षमा संसद्, सडक वा प्रधानमन्त्री कार्यालय अगाडि जहाँ उभिनुपर्छ, त्यहीँ उभिन तयार रहेको बताएका छन्र । आवश्यकता परे सरकारलाई समर्थनका लागि हस्ताक्षर, ल्याप्चे वा औँठाछापसमेत दिन तयार रहेको उनकाे भनाइ छ। तर, शाहीले सरकारको ६ महिनाको अवधिमा ठूला भ्रष्टाचार काण्डका मुख्य नाइकेहरूमाथि प्रभावकारी कारबाही हुन नसकेकोमा प्रश्न उठाएका छन्र । उनका अनुसार, अहिलेसम्म ठूला भ्रष्टाचार प्रकरणका एक जना पनि मुख्य नायक पक्राउ परेका छैनन्।

जाजरकोटको नलगाड नगरपालिका-१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। असोज १६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले सो ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका भरुवा बन्दुकहरू फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएका बन्दुकहरूमध्ये २ थान साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ। फेला परेका ती बन्दुकहरू रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। यस घटना, बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।