
काठमाडौं, भारतको उत्तराखण्डस्थित हरिद्वारको जगजीतपुर क्षेत्रमा रहेको एक घरको खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा फेला परेका छन्। सोमबार ट्याङ्की सफा गर्ने क्रममा घरधनीले सर्पका बच्चा देखेपछि वन विभाग र सर्प उद्धार टोलीलाई खबर गरेका थिए। त्यसपछि पुगेको टोलीले करिब एक घण्टाको प्रयासपछि सबै सर्पलाई सकुशल उद्धार गरेको जनाएको छ। उद्धार गरिएका सर्पहरू ‘चेकर्ड कीलब्याक’ अर्थात् पानी सर्प प्रजातिका रहेको र ती विषालु नभएको विशेषज्ञहरूले बताएका छन्। गर्मी मौसममा सुरक्षित तथा ओसिलो स्थान खोज्दै माउ सर्पले ट्याङ्कीमा फुल पारेको हुनसक्ने अनुमान गरिएको छ। उद्धारपछि सबै सर्पका बच्चालाई बस्तीभन्दा टाढाको प्राकृतिक वन क्षेत्रमा सुरक्षित रूपमा छाडिएको जनाइएको छ। घटना पछि स्थानीयमा केही समय त्रास फैलिएको थियो।

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो। अनुगमन टोलीमा चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा प्रमुख बर्षा घर्तीमगर ,राजश्व शाखा प्रमुख कृष्ण गिरी, स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय, वडा नं. ९ का वडा अध्यक्ष कविराम खनाल , वडा न १० का वडा अध्यक्ष नन्दराम खनाल तथा प्रहरी चौकी घाटगाउँका प्रहरी सहायक निरीक्षक मान बहादुर शाहीको सहभागिता रहेको थियो। अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ९ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ९ का वडा अध्यक्ष कबिराम खनाल . र वडा न १० का वडा अध्यक्ष नन्दराम खनाल का साथै प्रहरी चौकी घाटगाउँका प्रहरी सहायक निरीक्षक मान बहादुर शाहीको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो । अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाले जनाएको छ।

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो। अनुगमन टोलीमा चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा उधम बिकास सहजकर्ता योगेन्द्र कुमार सापकोटा ,राजश्व शाखा प्रमुख कृष्ण गिरी, स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय, वडा नं. ४ का वडा अध्यक्ष टोपबहादुर बुढाक्षेत्री , महिला वडा सदस्य राधिका बि क तथा प्रहरी चौकी बिजौराका प्रहरी सहायक निरीक्षक जयलाल वुढा को सहभागिता रहेको थियो। अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ९ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ४ का वडा अध्यक्ष टोपबहादुर बुढाक्षेत्री . र प्रहरी चौकी बिजौराको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो । अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

वीरेन्द्रनगर, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुरस्थित पिपल चौतारी शिव मन्दिर प्राङ्गणमा “दौलतपुर वीरेन्द्रनगर श्रृङ्गारिक महाआरती धर्म जागरण सप्ताह महा महोत्सव–२०८३” भव्य रूपमा उद्घाटन गरिएको छ। महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री सुरेश अधिकारीले गरेका हुन्। दौलतपुरस्थित शिव मन्दिरको पुनर्निर्माण तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा आयोजक समितिका महानिर्देशक गोपालराज सुनार, वडा नं. २ का सदस्य मोहन सुनार, पूर्व वडा अध्यक्ष बलबहादुर रोकाया, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशील शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। महोत्सवको पहिलो दिन बिहानैदेखि वीरेन्द्रनगरमा विशेष धार्मिक उत्साह देखिएको थियो। विभिन्न धार्मिक संघ–संस्थाको सहभागितामा निकालिएको भव्य र्याली तथा सयौँ महिला भक्तजनहरूको कलश यात्राले नगर क्षेत्र भक्तिमय बनेको थियो। परम्परागत भेषभूषामा सजिएका श्रद्धालुहरूले नगर परिक्रमा गरेका थिए। उद्घाटन सत्रमै दानवीरहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ। मूल आयोजक समितिका संयोजक प्रेमबहादुर थापाले मन्दिर निर्माण अभियानका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। आयोजक समितिले दाताहरूलाई दानको प्रकृतिअनुसार ‘रुद्राक्ष माला’, ‘शिलालेखमा नाम’ तथा ‘दैनिक महानायक’ जस्ता विशेष सम्मान प्रदान गर्ने व्यवस्था गरिएको जनाएको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको थियो। आजदेखि सुरु भएको महोत्सव जेठ २ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २० गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। कर्णाली क्षेत्रका युवाहरूको प्रतिभा पहिचान, क्षमता विकास तथा नेतृत्व निर्माण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा युवा केन्द्रित विविध कार्यक्रमहरू समावेश गरिनेछन्। प्रतिभा प्रस्फुटन अन्तर्गत कर्णालीका विभिन्न स्थानीय तहबाट आएका युवाहरूबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। साथै, कर्णालीको समृद्धिमा राज्यको भूमिका, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासजस्ता विषयमा जनप्रतिनिधि र युवाहरूबीच नीतिगत बहस हुने कार्यक्रम तय गरिएको छ। महोत्सवमा पुस्तक वार्ता पनि समावेश गरिएको छ, जसअन्तर्गत क्षितिज समर्पणको ‘तोरी’ र ओम रिजालको ‘पैकेलो’ पुस्तकमाथि छलफल गरिनेछ। त्यस्तै, देउडा खेल, सांगीतिक तथा साहित्यिक प्रस्तुति लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि आकर्षणका रूपमा रहनेछन्। कार्यक्रमकै अवसरमा ‘कर्णाली युथ अवार्ड’ प्रदान गरिनेछ, जसअन्तर्गत विभिन्न क्षेत्रमा उदाहरणीय योगदान पुर्याउने १० जना उत्कृष्ट युवाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ। महोत्सवको मूल आयोजक समितिका संयोजक विनोदकुमार शाही रहेका छन्। कार्यक्रमलाई ‘परिवर्तनका लागि युवा’, ‘राष्ट्रिय युवा परिषद्’, ‘राष्ट्र निर्माण मञ्च नेपाल’, ‘प्लेयिङ फर चेन्ज’ र ‘कर्णाली युथ फाउन्डेसन’ लगायतका ।रर्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ। यसअघि महोत्सवको पहिलो संस्करण २०८१ माघ ११ र १२ गते वीरेन्द्रनगरमै सम्पन्न भएको थियो। यस वर्षको कार्यक्रम वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा आयोजना गरिनेछ।

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा गुटुको बिशाल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो। अनुगमन टोलीमा चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा प्रमुख बर्षा घर्ती मगर, राजश्व शाखा प्रमुख कृष्ण गिरी, स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय, वडा नं. ८ का वडा अध्यक्ष एवं चौकुने गाउँपालिका सामाजिक बिकास संयोजक कमल जी.सी., वडा न ८ का वडासचिव दुर्गा प्रसाद भट्टराई तथा ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायब निरीक्षक बुद्ध सागर चौधरीको सहभागिता रहेको थियो। अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ८ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ८ का वडा अध्यक्ष कमल जी.सी. र ईलाका प्रहरी कार्यालय गुटुको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो । अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

काठमाडौं — शेर्पा समुदायले आज विविध कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ। नेपालका हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायसहित महायान बौद्ध परम्परामा चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ यो पर्व मनाइन्छ। पर्वको अवसरमा गाउँघर, टोल तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने ‘गुथुक’ र ‘खाप्से’ जस्ता विशेष परिकार खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन छ। ग्याल्पो ल्होसारका अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले पर्वलाई अझ आकर्षक बनाउँछ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, परिवार र आफन्तसँग भेटघाट गर्ने परम्पराले सामाजिक तथा पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास गरिन्छ। नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। परिवार, मित्रता र समुदायबीच सहकार्य र समझदारीको वातावरण सृजना गर्न ल्होसारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ। ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

काठमाडौं — प्रेम सम्बन्धलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा धेरैजसो पुरुष अन्योलमा पर्ने गरेका छन्। सम्बन्ध सुमधुर बनाउन विभिन्न व्यक्तिसँग सल्लाह लिने क्रम पनि बढ्दो छ। तर सम्बन्धलाई सफल र खुसी बनाउन साना–साना व्यवहारिक परिवर्तन र सकारात्मक सोच नै पर्याप्त हुने सम्बन्ध विज्ञहरू बताउँछन्। सम्बन्धलाई सुदृढ बनाउन ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण पक्ष यस्ता छन्: १. फरकपन स्वीकार गर्नुहोस्हरेक व्यक्ति सोच, व्यवहार र जीवनशैलीका हिसाबले फरक हुन्छ। पार्टनरलाई आफूजस्तै बनाउने प्रयास गर्नुको सट्टा उनीहरूको फरकपन बुझ्ने र सम्मान गर्ने बानी बसाल्नुपर्छ। फरक सोच र दृष्टिकोण स्वीकार गर्न सके सम्बन्धमा अनावश्यक विवाद कम हुन्छ। २. कहिलेकाहीँ झुक्नु कमजोरी होइनसम्बन्धमा कहिलेकाहीँ समायोजन गर्नु वा पार्टनरको कुरा मान्नु हार होइन। सम्बन्धलाई दीर्घकालीन र सुदृढ बनाउन लचिलोपन आवश्यक हुन्छ। यसले आपसी विश्वास र सम्मान बढाउँछ। ३. संवादको महत्त्व बुझ्नुहोस्सम्बन्धमा स्पष्ट र सकारात्मक संवाद अत्यन्त आवश्यक हुन्छ। आमनेसामने कुरा गर्न अप्ठ्यारो लागे सन्देशमार्फत पनि आफ्ना भावना व्यक्त गर्न सकिन्छ। नियमित संवादले गलतफहमी हटाउन मद्दत गर्छ र भावनात्मक नजिकता बढाउँछ। ४. नयाँ रुचि र विषयमा चासो राख्नुहोस्सम्बन्धलाई रोचक बनाउन नयाँ विषयमा चासो राख्नु उपयोगी हुन्छ। कामकाज वा दैनिक गतिविधिबाहेक अन्य विषयमा पनि छलफल गर्न सकिने वातावरण बने सम्बन्ध नीरस हुँदैन। नयाँ कुरा सिक्ने र अनुभव बाँड्ने बानीले सम्बन्धमा ताजगी ल्याउँछ। ५. अनुमान होइन, खुला प्रश्नसम्बन्धमा धेरै समस्या अनुमानका कारण उत्पन्न हुन्छन्। पार्टनर के सोचिरहनुभएको छ भनेर आफैं निष्कर्ष निकाल्नुको सट्टा सिधै सोधेर स्पष्टता लिनु उपयुक्त हुन्छ। खुला संवादले समस्या समाधान गर्न सजिलो बनाउँछ। विशेषज्ञहरूका अनुसार सम्बन्धमा उतार–चढाव स्वाभाविक प्रक्रिया हो। धैर्य, समझदारी र सम्मानका साथ अघि बढेमा प्रेम सम्बन्ध अझ सुदृढ र खुसीमय बन्न सक्छ।

काठमाडौं । स्वस्थ जीवनका लागि नियमित दिनचर्या महत्वपूर्ण मानिन्छ। परम्परागत मान्यता र शास्त्रीय विश्वासअनुसार बिहान उठ्ने बित्तिकै केही काम नगर्न सुझाव दिइँदै आएको छ। यस्ता अभ्यासहरू वैज्ञानिक रूपमा पूर्ण प्रमाणित नभए पनि समाजमा लामो समयदेखि प्रचलनमा छन्। १. घर फोहोर नराख्ने सुझावविहानको समयलाई शुभ मान्दै उठ्ने बित्तिकै घर वा कोठा सफा राख्नुपर्ने विश्वास छ। सफा वातावरणले मानसिक शान्ति र सकारात्मक सोच बढाउने धारणा राखिन्छ। २. सहवास नगर्ने मान्यताशास्त्रीय विश्वासअनुसार बिहानै सहवास गर्दा शरीरमा सञ्चित सकारात्मक ऊर्जा कम हुने भनाइ छ। यद्यपि यसबारे वैज्ञानिक धारणा फरक–फरक छन्। ३. ऐना नहेर्ने परम्पराविहान उठ्ने बित्तिकै ऐना हेर्दा आलस्यपूर्ण अनुहारले दिनभर नकारात्मक प्रभाव पार्ने विश्वास छ। केहीले ऐना हेर्नुभन्दा पहिले आफ्ना हत्केला हेर्नु शुभ मान्छन्। ४. केही शब्द उच्चारण नगर्ने विश्वासकतिपय परम्परागत मान्यतामा बिहानै केही जनावरको नाम नलिनु राम्रो मानिन्छ। यसले दिनभर समस्या निम्त्याउने विश्वास गरिन्छ। ५. तेलको भाँडो र सियो–धागो नहेर्ने भनाइउठ्ने बित्तिकै तेलको भाँडो वा सियो–धागो नहेर्नु पर्ने शास्त्रीय धारणा पनि समाजमा प्रचलित छ। यस्ता वस्तु बिहानै नदेखिने ठाउँमा राख्ने सल्लाह दिइन्छ। विशेषज्ञहरूका अनुसार बिहानको समयलाई सकारात्मक बनाउन ध्यान, हल्का व्यायाम, मनतातो पानी पिउने, सन्तुलित आहार लिने जस्ता बानी अपनाउनु बढी लाभदायी हुन्छ। परम्परागत विश्वासहरूलाई सम्मान गर्दै वैज्ञानिक सोच र स्वस्थ जीवनशैली अपनाउनु नै दीर्घकालीन स्वास्थ्यका लागि उपयुक्त हुने स्वास्थ्यकर्मीहरूको सुझाव छ।

चौकुने। चौकुने गाउँपालिकामा मदिराजन्य तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगबाट उत्पन्न स्वास्थ्य, सामाजिक तथा आर्थिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने रहनुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेयले सहजीकरण तथा प्रस्तुतिकरण गर्दै मदिरा र सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर, दीर्घकालीन रोगको जोखिम, परिवार र समाजमा पर्ने प्रभाव तथा यससम्बन्धी प्रचलित कानुनी व्यवस्था र स्थानीय तहको भूमिकाबारे स्पष्ट पार्नुभयो। उहाँले मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सामाजिक विकास संयोजक कमल जि.सी. ले बोल्दै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोगले सामाजिक विकृति, घरेलु हिंसा, गरिबी र बालबालिकाको भविष्यमा प्रत्यक्ष असर पारिरहेको बताउनुभयो। यस किसिमका कार्यक्रमले समुदायलाई सचेत बनाउँदै व्यवहार परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खडक बिवस वासपाने ले मदिराजन्य तथा सुर्तीजन्य पदार्थको नियन्त्रण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मदिरा र सुर्तीजन्य पदार्थले व्यक्ति मात्र होइन, सिंगो समाजलाई असर पारिरहेको छ। यसको नियन्त्रणका लागि नीति, नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुका साथै जनचेतना अभिवृद्धि आवश्यक छ।” अध्यक्ष वासपानेले स्वास्थ्य शाखाले सञ्चालन गरेका यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य उपस्थित व्यक्तिहरूले मदिरा तथा सुर्तीजन्य पदार्थको दुरुपयोगले स्थानीय तहमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आ–आफ्नो धारणा राखेका थिए। सहभागीहरूले विद्यालय, टोलस्तर र समुदायमा यस्ता कार्यक्रम अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। अन्तरक्रिया कार्यक्रममा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्थानीय तह, समुदाय, परिवार र व्यक्तिको संयुक्त भूमिकाबारे छलफल गरिएको थियो। साथै, नियन्त्रणका लागि निगरानी, सचेतना र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमले मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सुर्खेत। चाैकुने गाउँपालिकामा उपभोक्ताको स्वास्थ्यलाई जोखिममा पार्ने अखाद्य तथा म्याद गुज्रेका खाद्य सामग्रीविरुद्ध कडा बजार अनुगमन गरिएको छ। गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा संयुक्त अनुगमन टोलीले व्यापक निरीक्षण गर्दै गुणस्तरहीन सामग्री जफत गरी नष्ट गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीको संयोजकत्वमा गरिएको अनुगमन चाैकुने गाउँपालिका वडा नं. ४ स्थित जगन्नाथ बजार (बिजौरा) तथा वडा नं. ८ को मिलनचोक–विशाल बजार (गुटु) क्षेत्रमा केन्द्रित थियो। अनुगमन कार्यमा चाैकुने गाउँपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गरेको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका कार्यालय प्रमुख सन्तोष दाहाल, चाैकुने गाउँपालिका गुटुका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाही, खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदी, नायब सुब्बा छविराज कडेल, प्रा.स. सन्तोष घिमिरे, उद्यम विकास सहजकर्ता वर्षा घर्ती, इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायब निरीक्षक बुद्ध सागर चौधरी तथा प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक डिल बहादुर बस्नेतलगायतको सहभागिता रहेको थियो। अनुगमनका क्रममा म्याद गुज्रेका चाउचाउ, बिस्कुट, कोल्ड ड्रिङ्क्स, चिउरा, दालमोठ, चकलेट लगायतका खाद्य सामग्री फेला परेका थिए। साथै, लेबलिङ नगरिएका हजमेला क्यान्डी, चाउमिन, भुजा, उपहारको लोभ देखाई बिक्री बढाउने उद्देश्यले झुठा विवरण राखिएका चाइनिज रोल जस्ता अखाद्य तथा गुणस्तरहीन सामग्रीसमेत जफत गरिएको छ। टोलीले सम्बन्धित व्यवसायीलाई अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिँदै पसलमा राखिएका मालसामान नियमित रूपमा जाँच गर्न कडाइका साथ सचेत गराएको छ। अनुगमनका क्रममा जम्मा १४ वटा खाद्यान्न तथा किराना पसल निरीक्षण गरिएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जफत गरिएका सम्पूर्ण अखाद्य सामग्रीहरू चाैकुने गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष कमल बहादुर जि.सी.को रोहवरमा नष्ट गरिएको हो। सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई अझ प्रभावकारी र निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुर्खेत। सुर्खेतकाे चाैकुने गाउँपालिका वडा नं. ८ कोल्गाडमा नमुना गाउँ निर्माण कार्यक्रम विभिन्न विकास गतिविधिहरूको अनुगमन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नमुना गाउँ अध्यक्ष कस्तुरी कामीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चाैकुने गाउँपालिका अध्यक्ष खडक बि.क. (बिबश) प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। विशेष अतिथिका रूपमा उपाध्यक्ष नर बहादुर बान्तोला रहनु भएको थियो। भने कार्यक्रममा चाैकुने गाउँपालिका वडा नं. ६,७ र ८ का वडाध्यक्षज्यूहरू, सहयोगी संस्था स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य, चाैकुने गाउँपालिका शिक्षा शाखा प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत आशा बुढा मगर लगायत अन्य अतिथिहरू तथा नमुना गाउँका स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अनुगमनका क्रममा नमुना गाउँमा सञ्चालनमा रहेका करेसाबारी व्यवस्थापन, कुखुरा पालन, बाख्रा पालन, शुद्द पिउने पानीको पहुच बढाउन प्रत्यक घरमा फिल्टर बितरण,३५ घरमा बिधुतिय चुलो बितरण,विभिन्न क्षमता बिकासका तालिमहरु,सरसफाइ कार्यक्रम तथा सामुदायिक भवन निर्माण जस्ता कार्यहरूको स्थलगत अवलोकन गरिएको थियो। सो अवसरमा नमुना गाउँका स्थानीयवासीहरूले कार्यक्रममा उपस्थित अतिथिहरूलाई माला तथा टीका लगाई सम्मानपूर्वक स्वागत गरेका थिए। नमुना गाउँ निर्माण कार्यक्रमको कार्यान्वयन तथा सफलतामा सहयोगी संस्था स्याक नेपाल (SAC Nepal) को महत्वपूर्ण भूमिका रहेको छ। कार्यक्रमले स्थानीय स्तरमा आत्मनिर्भरता, आयआर्जन, स्वच्छता तथा समग्र सामुदायिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ

मुक्तिनाथ — धार्मिक मर्यादा विपरीतको पोशाक र गतिविधि बढ्दै गएपछि मुक्तिनाथ मन्दिर परिसरमा कडाइ लागू गरिएको छ। अब मन्दिरको १०८ धारामा छाता, प्लास्टिक, रेनकोट ओढेर तथा दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन नपाइने भएको हो। हिन्दू–बौद्ध श्रद्धालुहरूको प्रमुख तीर्थस्थल मानिने मुक्तिनाथमा हरेक वर्ष नेपाल, भारत तथा अन्य मुलुकबाट आठ लाखभन्दा बढी भक्तजन दर्शनका लागि आउने गर्छन्। तीमध्ये केहीले स्नानका क्रममा धार्मिक परम्परा विपरीत पोशाक र व्यवहार देखाउन थालेपछि नियमन कडा पारिएको मुक्तिनाथ विकास समितिले जनाएको छ। समितिका कोषाध्यक्ष तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई नयाँ नियमबारे जानकारी गराइँदै छ। भक्तजन तथा पर्यटकलाई सहज सेवा प्रदान गर्न पूर्वाधार विस्तार भइरहेको र दर्शन व्यवस्थापनमा स्वयंसेवकले पनि सहयोग तथा निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए।

माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरु मलाई नै पर्खेर बसेको जस्तो लाग्यो । हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँ बायाँका सवै स्थानहरु हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो । ज्योति कटुवाल हर कसैलाई कहिँ कतै अचानक जान सम्भव हुँदैन र सकिँदैन पनि । घुम्न जानलाई जति धेरै योजना बनाए पनि सफल भने कमै हुन्छन् । म मनले बोलाएको बाटो हिँडिरहने भएर होला मौका पाउन बित्तिकै यात्रामा निस्किहाल्छु । त्यसैले मैले आफूलाई अचानक यात्री भन्न रुचाउँछु । फेरि यात्रा भन्नासाथ केवल स्थान परिवर्तन मात्र हैन आत्माको चहलपहल हो । जहाँ हरेक पाइलामा नयाँ अनुभूति, हरेक मोडमा नयाँ दृष्य र नयाँ मानिसहरु भेटिन्छन् । यस्तै अचानक यात्राहरु मैले थुप्रै पटक गर्न पाएको छु । भदौ महिना यता मैले बिर्सन नसक्ने यात्रा गरेँ । हुम्लाको हिल्सा नाका र पोखराको अन्नपूर्ण बेस क्याम्प । जहाँ म एक्लै यात्रा गर्न सक्दैनथें । बेस क्याम्प जान पाउने कुराले मनमा अनेकौं प्रश्न उठेका थिए । त्यो हिउँको घुम्टो ओढेर आकाशमुनी चम्किरहेको हिमालको स्पर्श यति सहजै गर्न पाउँला भन्ने लागेको पनि थिएन । म यहाँ आउने मौका अचानक पाएँ र निस्किहालें पनि । सुर्खेतमा अन्य कामहरु थाती राखेर अफिसमा खबर गरेर पोखरातर्फ निस्किएँ । मैले घुमेका अधिकांश स्थानहरु सम्झने हो भने प्राय योजना बनाएर गएका स्थानहरु कमै छन् । त्यसमध्येको एक हो अन्नपूर्ण बेस क्याम्प । सुर्खेतदेखि हेलिकोप्टरमा पोखरा पुग्न एक घण्टा लाग्यो । हेलिकोप्टरको मेरो यो यात्रा पहिलो थिएन । त्यसैले मलाई सहज लाग्छ जता जाँदा पनि । सुर्खेत एयरपोर्टबाट छुट्टिनासाथ बाटोमा निकै रमणीय स्थानहरु देख्न सुरु भयो । सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, म्यादी र बाग्लुङ हुँदै पोखरा पुगियो । सुर्खेतबाट निस्कँदा मध्यपहाडी र भेरी करिडोरले फेरो हालेका गाउँबस्तीहरु हेर्दा यस्तो लाग्छ यहाँ यतै झरेर बसौं झै लाग्ने । तकसेराका सुन्दर बस्तीहरुले मनै लोभ्यायो । ढोरपाटन आरक्षमा विभिन्न प्रजातिका वन्यजन्तुका बथान आकाशबाटै देख्न पाउँदा जंगल सफारी गरेजस्तै अनुभूति भयो ।नजिकै आकाश मूनिबाट वनजंगल, चरिरहेका वन्यजन्तु सजिलै देख्न सकिन्थ्यो । मैले एक घण्टामा आकाशबाट जमिन मूनि देखेका कुराहरु मेरा मानसपटलमा अहिले पनि ताजै छन् । फोटो भिडियो गर्दागर्दै पोखरामा अवतरण भएको थाहै भएन । १ घण्टामा मैले आँखाले भ्याउने जति ठाउँहरु हेरे पनि र मोबाइलमा कैद पनि गरें । पोखराको पुरानो विमानस्थलबाट बेस क्याम्पमा पर्यटकहरु पुर्याउन जाने र छोड्न जाने हेलिकप्टरलाई भ्याईनभ्याई थियो । ४ बजे पोखरा पुगेपछि कान्तिपुरकर्मी प्रतिक्षा काफ्ले, फूपु रन्जना, बहिनी मनिषा र साथमा सुर्खेतबाटै गएका पत्रकार भाई जगत सापकोटा भएपछि हामी खाजा खाँदै अर्कोदिन अन्नपूर्ण जाने तयारी गर्यौं । बेलुका पोखरामै बास बस्यौं । बिहान ७ बजे एयरपोर्ट जानुपर्ने थियो । बिहान होटलमा गाडी लिन आएपछि तयारी अवस्थामा रहेका हामी एयरपोर्ट पुग्यौं र टिकट र तौल जाँचपछि हामी अन्नपूर्णको लागि उड्यौं । हेलिकप्टर चढेर १५ मिनेटमै बेस क्याम्पमा पुगिन्छ भन्ने कल्पना त मैले गरेको थिएन । तर म आफैं कल्पना गरेको भन्दा धेरै फरक यात्रा थिएँ । अन्नपूर्णलाई नियाल्न मानिसहरु ७ देखि १० दिनको ट्रेक प्याकेज बनाएर जाँदा रहेछन् । तर हामी भने दुई दिनको यात्रामा थियौं । पोखराबाट हेर्ने हो भने शीरमै माछापुच्छ्रे बिहानको घामले निकै रापिलो देखिने रहेछ । माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरु मलाई नै पर्खेर बसेको जस्तो लाग्यो । हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँ बायाँका सवै स्थानहरु हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो । अझै पाइलटले आफूले जाने बुझेका ठाउँ र हिमालका बारेमा मजाले जानकारी गराउँदै लगे । माछापुच्छ्रेलाई नजिकबाट दर्शन गरियो । नदीको स्पर्श गर्न किनारै किनार जानुपर्छ भने झै अन्नपूर्णको स्पर्श गर्न पनि हिमालको काखबाटै जानुपर्ने रहेछ । बिहानको तातो घामले निस्किएको बाफ स्पर्श गर्दै बेस क्याम्प पुगियो । हेलिकप्टरमा जाँदा अर्को फाइदा के रहेछ भने एक फन्को घुमाउँदा चारैतिरका हिमाल नजिकबाट निहाल्न पाइने रहेछ । बेस क्याम्पबाट पनि हिमाल देख्न नसकिने हैन तर, उचाईका हिसाबले नजिक गएको जस्तो महसुस हुने रहेछ । बेस क्याम्पमा भने विदेशी र स्वदेशी पर्यटकहरुको घुइँचो थियो । म ४ हजार १३० मिटर उचाईमा रहेको हिमालमा पुगेको थिएँ । तर उचाईमा लेक लाग्ला भन्ने डर कता कता मनमा उत्पन्न भइरहेको थियो त्यो भन्दा पनि म पनि अन्नपूर्ण पुगें भन्ने कुराले दंग थिएँ । पर्यटकहरु बिहानको खाजा खाने लाइनमा थिए । कोही हेलिकप्टरबाट पोखरा फर्कने पालो कुर्दै थिए भने कोही हतार हतारमा हेलिकोप्टरको नजिक पुगेर फोटो भिडियो बनाउँदै थिए । कोही ट्रेकिङबाटै फर्कने लाइनमा हिउँ पन्छाउँदै धारिला ट्रेक्रर लठ्ठी टेकेर फर्कँदै थिए । बिहान त यस्तो लाग्दै थियो कि एउटा बस्तीमा हिउँपानी परेर चिसो छल्न मानिसहरु माथि डाँडामा निस्केर लस्करै बसेका जस्ता देखिन्थे । सबैजना फोटो भिडियो पालैपालो खिचिरहेका थिए ।कोही चुपचाप बसेर हिमाल नियालिरहेका थिए भने कोही ध्यानमा बसिरहेका थिए । कोहीलाई टिकटक बनाउन भ्याईनभ्याई थिए त कोही कफी चिया बोकेर चारैतिर हिमाल हेर्दै बसेका थिए । तर म भने आफ्नो फोटो भिडियो र हिमालका राम्रा तस्बिर लिन व्यस्त थिए । अन्नपूर्णमा मैले देखेका पर्यटकहरु १५ वर्षदेखि ८० वर्ष उमेर समूहका मानिसहरु पुगेका थिए । यहाँ ९० प्रतिशत मानिसहरु ट्रेकमा आउने रहेछन् ।म पनि करिब दुईघण्टा हिउँमा लुटपुटिएर अन्नपूर्णको आभास सकेर पोखरा लागेँ । त्यो मनोहर दृश्य मेरो मस्तिष्कमा अहिले पनि ताजै छ । जतिसुकै जस्तासुकै रमाइला ठाउँ भए पनि छाडेर अघि बढ्नैपर्छ । यो ठाउँ छाड्ने मन पटक्कै थिएन तर छाडेर अघि बढ्नै पर्यो । दुई दिनको यात्रमा मलाई अन्नपूर्ण यस्तो लाग्यो ‘अन्नपूर्ण केवल ट्रेक हैन अनुभूतिको पुस्तक हो ।’ आहा यस्तो पो ‘एबीसी’ यहाँजस्तो पर्यटक र अद्भूत दृश्य मैले कहिल्यै देखेकी थिइनँ । अन्नपूर्ण आधार शिविर क्षेत्र यस्तो राम्रो प्रवर्द्धन भएको छ भनेर मैले कल्पनासमेत गरेको थिएनँ । समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईमा रहेको यो स्थान जता हेर्दा पनि चाँदी जस्तै झलल टल्केको हिमाल । सुन जस्तै टल्कने माछापुच्छे । यहाँ त हिमालले घेरिएको समथर फाँटबाट दर्जनौं हिमशृंखला हेर्न पाइने रहेछ ।उचाईको हिसाबले र हिउँ परेका स्थानहरु अन्य ठाउँमा पनि छन् तर यहाँको जस्तो व्यवस्थापन र पर्यटकहरुलाई गर्ने रेस्पोन्स मैले अन्य स्थानमा पाएको थिएनँ । दैनिक हजारौं मानिसहरु हिमाल उक्लिएका छन्, ओर्लिएका छन् । तर न कसैले कसैको गुनासो गरेका छन् न पानी बत्तिको कुरा गरेका छन् न सडक शौचालयको । यहाँ हरेक एक घण्टाको फरकमा होटल र रेस्टुरेन्ट र वाइफाईको राम्रो व्यवस्थापन रहेछ । कति सफा होटलहरु । खाना पनि कुनै कमी नहुने रहेछ । जस्तो खान मन लाग्यो उस्तै पाइने । यहाँको पदमार्गले त मोहनी नै लगाउँछ । बिहान ७ बजेदेखि हिमाल उक्लने र पोखरा झर्ने विदेशी र नेपाली पर्यटकहरु लस्करै देखिन्छन् ।अहिले यस क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरूको आगमन बढ्दो छ । हिमाल आरोहणका लागि विदेशी पर्यटक यस आधार शिविर पुग्ने धेरै पुग्ने गर्दछन् । अन्नपूर्ण गाउँपालिकाले पदमार्गलाई निकै राम्रो व्यवस्थापन गरेको रहेछ । नेपालमा रहेका अधिकांश ट्रेकमध्ये निकै रोमाञ्चक र सहज पद मार्गका रहेछ । मलाई अन्नपूर्ण यस्तो लाग्यो ‘प्रकृतिले बनाएको एउटा विशाल रंगमञ्च’ । हिमालहरु यति नजिक देखिने गन्तव्य कमै हुन्छन् । मलाई त यस्तो यात्रा गर्दा ‘यात्रा केवल यात्रा हैन, आत्मालाई शान्त पार्ने गहिरो अनुभूति हो’ जस्तो लाग्छ ।

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को साझा हलमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेको प्रमुख अतिथिमा सम्पन्न भएको छ् । बालिकाहरुको उत्थानशीलता अभिवृद्धि तथा उनीहरुलाई जलवायु जोखिमबाट जोगाउने उद्देश्यका साथ सोसेक नेपालको आयोजना चौकुने गाउँपालिकाको सहजिकरण र युनिसेफ नेपालको आर्थिक सहयोगमा चौकुने गाउँपालिकाका लक्षित बालमैत्री पूर्वसूचना प्रणाली क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । युनिसेफ नेपालका पूर्वसूचना प्रणाली विशेषज्ञ मधुसुदन गौतमले कार्यक्रम चौकुने गाउँपालिका र सम्बन्धित सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले यस किसिमका कार्यक्रमहरुले स्थानीय निकायलाई बालमैत्री दृष्टिकोणबाट पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने र समुदायस्तरमा जलवायु जोखिम व्यवस्थापनमा बालबालिकाको सहभागिता बढाउने विश्वास व्यक्त गर्नुभयो । बिपद् ब्यबस्थापन र खानेपानी सरफाईका सहजकर्ता नरबिर ऐडीले संस्थाले विगत लामो समय देखि पूर्वसूचना प्रणालीमा सक्रिय रुपमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई पूर्वसूचना प्रणालीमा जोडेर जोखिम न्यूनिकरणमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिदै, यस्ता पहलहरुले समुदाय स्तरमा जोखिम व्यवस्थापन सुदृढ गर्ने र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका तर्क गर्नुभयो । कार्यक्रममा पूर्वसूचना प्रणालीका चार वटा स्तम्भहरुमा आधारित चौकुने गाउँपालिकाको वर्तमान अवस्थाको विश्लेषण गरिएको थियो । साथै, बालबालिका जलवायु जोखिम सूचकांकको आधारमा वडागत स्तरमा जोखिमको अवस्था मूल्यांकन गरिएको छ् । चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले स्थानीय तहमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । चौकुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले बिपद् सम्बन्धि पाठ्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमले स्थानीय पाठ्यक्रममा समेटिएका पूर्वसूचना सम्बन्धी विषयवस्तुहरु बारे छलफल र अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरेको थियो । सहभागीहरुले जल तथा मौसम विज्ञान विभाग सुर्खेतकि ईन्दिरा कडेलसँग पूर्वसूचना कसरी बालमैत्री बनाउने भन्ने विषयमा समूह अभ्यास र छलफल पनि गरेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका शाखा अधिकृत गोमा ढकाल ( पौडेल)ले पूर्वसूचना प्रणालीमा बालबालिकालाई संलग्न गरेर विपद् जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस कार्यका लागि प्राधिकरण सधैं तत्पर रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले बालबालिकालाई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सचेत गराउने र पालिकास्तरमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ् ।