
कैलालीको लम्की चुहा नगरपालिका–४, अमरपुरकी ६ वर्षीया मनिषा बिकको रहस्यमय निधन भएको छ। विद्यालय गएकी बालिका बेपत्ता भएको भोलिपल्ट मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्र शोकमा डुबेको छ। मंगलबार बिहान घरबाट जनचेतना आधारभूत विद्यालयका लागि निस्किएकी मनिषा बिहान १० बजेपछि सम्पर्कविहीन भएकी थिइन्। विद्यालय र परिवारबाट खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएपछि बुधबार बिहान पुनः सुरु गरिएको खोजी कार्यका क्रममा पौने ११ बजे लम्की चुहा–५ को रोरा खोला किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो। घटनाको प्रारम्भिक अनुसन्धानले बालिका खोलामा बगेको हुन सक्ने अनुमान गरिए पनि प्रहरीले शव पोष्टमर्टमका लागि पठाएर थप अनुसन्धान अघि बढाएको छ। कलिलो उमेरमै बालिकाको यसरी दुःखद निधन हुनुले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ।

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र Rastriya Beema Company Limited बीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेत र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच यसअघि २०७६ असोज १ गते भएको सम्झौताकै आधारमा नयाँ समझदारी गरिएको जनाइएको छ। २०८३ वैशाख ३० गतेदेखि लागू हुने गरी एक वर्षका लागि सम्झौता नवीकरण गरिएको हो। सम्झौतामा मुख्यमन्त्री कार्यालयका तर्फबाट उपसचिव उक्तम गौतम र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट सह–व्यवस्थापक डम्बरदेव अधिकारीले हस्ताक्षर गरेका छन्। कार्यविधिअनुसार सञ्चालन हुने बीमा कार्यक्रममा कर्णाली प्रदेशका १६ लाख ८८ हजार ४ सय १२ जना नागरिक समेटिएका छन्। प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको बीमाङ्क कायम गरिएको छ। प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक ९ रुपैयाँ ३३ पैसाका दरले बीमाशुल्क तिर्नेछ। यसअनुसार कुल एक करोड ५७ लाख ५२ हजार ९ सय ४ रुपैयाँ बीमाशुल्क लाग्नेछ, जुन रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भुक्तानी गर्नेछ। सम्झौताअनुसार प्राकृतिक विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दाबी गर्न पाउनेछन्। बीमा दाबीका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र दाबी गर्न नसके ढिलाइको कारण खुलाएर सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिससहित १८० दिनभित्र दाबी गर्न सकिने प्रावधान राखिएको छ। बीमा सुविधा पाउन कर्णाली प्रदेशका स्थायी बासिन्दा हुनुपर्नेछ। साथै, देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका स्थायी नागरिक पनि यस योजनाअन्तर्गत समेटिने जनाइएको छ। अन्य प्रदेशका नागरिक भए पनि कर्णाली प्रदेशभित्र सरकारी, गैरसरकारी वा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत कार्यक्रममा समावेश गरिएको छ। बीमाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी, पहिरो, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जंगली जनावरको आक्रमण, भिरबाट लड्ने, ढुंगा खस्ने तथा खोला वा नदीमा डुबेर वा बगेर हुने मृत्युका घटनालाई समेट्नेछ। यसअघि समावेश नभएका जंगली जनावरको आक्रमण, भिरबाट लडेर, ढुंगा खसेर तथा नदी वा खोलामा डुबेर मृत्यु हुने घटनालाई यसपटकदेखि बीमाको दायरामा ल्याइएको जनाइएको छ। बीमा दाबी प्रक्रियालाई सहज बनाउन कम्पनीले कर्णालीका सबै जिल्लामा प्रतिनिधि खटाउने व्यवस्था गर्नेछ। ती प्रतिनिधिले घटनास्थलबाट आवश्यक कागजात संकलन गर्ने जिम्मेवारी पाउनेछन्। साथै, बीमा कार्यक्रमबारे जनस्तरसम्म जानकारी पुर्याउन कम्पनीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले प्रचार–प्रसारलाई प्राथमिकता दिने जनाएको छ। सम्झौताअनुसार पूर्ण कागजात पेश भएको मितिले बढीमा १५ दिनभित्र हकवालाको बैंक खातामा सिधै बीमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। भुक्तानीसम्बन्धी जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनुपर्नेछ। साथै, कम्पनीले प्रत्येक महिना बीमा दाबी तथा भुक्तानीसम्बन्धी प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान पनि सम्झौतामा समावेश गरिएको छ।

काठमाडौँ। सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ (स्थानीय मापन अनुसार ४.१ आसपास) रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको भए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन। सम्बन्धित निकायले सम्भावित क्षतिको मूल्यांकन गरिरहेको जनाएको छ। यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना–ठूला भूकम्पहरू समय–समयमा जाने गर्दछन्। विज्ञहरूले भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन र सुरक्षित संरचना निर्माणमा ध्यान दिन आग्रह गर्दै आएका छन्।

दैलेख — दैलेख जिल्लाको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्थानीय ७७ वर्षिय प्रदीप सिंहमाथि बँदेलले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ। आक्रमणमा भैरबी गाउँपालिका–६ का दीप बहादुर सिजाली र निकेश सिजाली घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। स्थानीयवासीहरूका अनुसार पछिल्लो समय जंगली जनावरको आतंक बढ्दै गएको छ र यसअघि पनि यस्ता घटनाहरू दोहोरिँदै आएका छन्।

जिम्बाब्वे — दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक रहेको त्शाङ्गामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगेको हो। नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा ७ जना वयस्क र दुई जना बालबालिकासहित ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि सुरु गरिएको खोज तथा उद्धार कार्यमा स्थानीय बासिन्दाले सक्रिय सहयोग गरेका थिए। लामो प्रयासपछि शुक्रबार सबै शव फेला पारिएको र मृतकहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नदी तथा खोलामा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्ला महिनाहरूमा निरन्तर परेको मुसलधारे वर्षाका कारण जिम्बाब्वेका धेरै क्षेत्र प्रभावित भएका छन्। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म देशभर ७० भन्दा बढीको ज्यान गइसकेको छ भने सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। सरकारले प्रभावित क्षेत्रमा निगरानी बढाउँदै आपतकालीन तयारी तीव्र बनाएको जनाएको छ।

सिड्नी, ७ माघ — पश्चिमी अस्ट्रेलियामा फैलिएको भीषण ‘बुशफायर’ का कारण एक सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आदेश दिइएको छ। आगलागीले मानव जीवन र आवासीय क्षेत्रलाई गम्भीर जोखिममा पारेपछि आपतकालीन चेतावनी जारी गरिएको हो। पश्चिमी अस्ट्रेलिया डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (DFES) ले बुधबार जारी गरेको आपतकालीन सूचनामा पर्थबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको कोली सहरको दक्षिणी भाग उच्च जोखिममा रहेको जनाएको छ। उक्त क्षेत्रमा रहेका बासिन्दालाई ज्यान जोगाउन तुरुन्तै स्थानान्तरण गर्न आग्रह गरिएको छ। बुधबार पहिलो पटक रिपोर्ट गरिएको आगलागी तीव्र गतिमा फैलिँदै गएको र घर तथा पूर्वाधारमा क्षति पुग्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। सुरक्षित भएमा उत्तरतर्फ सर्न तथा बाहिर निस्कन नसक्नेहरूलाई पानीको स्रोत र बाहिर निस्कने बाटो भएको कोठामा शरण लिन निर्देशन दिइएको छ। मौसम विभाग (BOM) का अनुसार पूर्वी कोली क्षेत्रमा बुधबार अधिकतम तापक्रम ३६.८ डिग्री सेल्सियस पुगेको थियो, जसले आगलागी नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ। सन् २०२१ को राष्ट्रिय जनगणनाअनुसार कोली सहरको जनसंख्या ८,८१२ रहेको छ। आगलागी नियन्त्रणका लागि दमकल र आपतकालीन टोलीहरू परिचालित गरिएको जनाइएको छ।

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष त्रिशूली नदीको किनारमा फेला परेको छ। प्रहरीका अनुसार बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो। दुर्घटनास्थलबाट करिब ३०० मिटर तल अवशेष देखेपछि स्थानीय रोशन भुजेलले तीन दिनअघि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि सुरक्षाकर्मीको टोलीले उक्त स्थानमा पुगेर अवशेष पुष्टि गरेको हो। २०८१ साल असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा पहिरो खस्दा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेका दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। ती बसमा चालक तथा सहचालकसहित ६२ जना यात्रु सवार थिए। दुर्घटनामा तीन जना मात्र ज्यान जोगाउन सफल भएका थिए। घटनापछि खोज तथा उद्धारका क्रममा हालसम्म २४ जनाको शव फेला परेको छ, जसमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको छ। बाँकी ३५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। प्रहरी र सम्बन्धित निकायले थप अवशेष तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

बाजुरा — आज मध्यान्ह १२:०९ बजे बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सैपाल हिमाल क्षेत्र केन्द्रविन्दु रहेको भूकम्पका धक्का बाजुरा सहित आसपासका जिल्लामा समेत गरिएको छ। हालैदेखि पश्चिम नेपालमा भूकम्पका क्रम बढ्दै गएपछि स्थानीय त्रसित बनेका छन्। भूकम्पको धक्का महसुस भएसँगै जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। “विपद् कहिल्यै चेतावनी दिएर नआउने भएकाले भूकम्पलगायत अन्य प्राकृतिक विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दछौँ,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

कालिकोट – कालिकोटमा सुख्खा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु भएको छ। पचालझरना–६ घाटाचौर क्षेत्रमा कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका २७ वर्षीय पृथ्वी बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय कालिकोटलेका अनुसार स्थायी ठेगाना पचालझरना गाउँपालिका–७, नुवाघर निवासी बाेहाेरा बिहीबार दिउँसो डेराबाट निर्माण स्थलतर्फ तेल बोकेर जाँदै गर्दा माथिबाट अचानक खसेको सुख्खा पहिरोले बोहोरा पुरिएका थिए। घटनापछि गरिएको खोजतलासमा शुक्रबार उनको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाइएको छ।

हानोई — केही दिनदेखि निरन्तर परिरहेको मुसलधारे वर्षा र पहिरोका कारण भियतनाममा कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्। बाढीले १ लाख ८६ हजार घरमा क्षति पुर्याएको छ र ३ लाखभन्दा बढी पशु–वस्तुभाउ बगाएको सरकारी स्रोतले जनाएको छ। नोभेम्बर १६ यता बढ्दै गएको बाढी र पहिरो विशेषगरी पहाडी प्रान्त डाक लाकमा विनाशकारी बनेको छ, जहाँ मात्रै ६० भन्दा बढीले ज्यान गुमाएका छन्। कालमेगी र बुआलोई नामक दुई समुद्री आँधीपछि आएको भारी वर्षाले देशभरको भौतिक संरचना ठूलो रूपमा प्रभावित बनाएको अधिकारीहरूको भनाइ छ। आइतबार बिहान करिब २ लाख ५८ हजार नागरिक बिजुलीविहीन बनेका थिए। राजमार्ग तथा रेलमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ। सबैभन्दा प्रभावित पाँच प्रान्तहरू—क्वाङ न्गाई, गिया लाइ, डाक लाक, खान होआ र लाम डोङमा सैन्य तथा प्रहरी बल परिचालन गरिएको छ। जी–२० शिखर सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री फाम मिन्ह चिनले त्यहीँबाट भर्चुअल आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए। केही प्रदेशमा वर्षा १.५ मिटर नाघेको तथा कतिपय स्थानमा १९९३ यताकै उच्च वर्षा मापन गरिएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी जोखिममा झनै परिरहेको छ। आगामी दिनहरूमा वर्षा केही कम हुने पूर्वानुमान गरिएको छ।

मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा छ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ नागरिक घाइते भएका छन्। शुक्रबार राजधानी ढाकामा भवनहरू हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएको जनाइएको छ। स्थानीय समयानुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा पर्ने नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा भूकम्प गएको हो। यूएस जियोलोजिकल सर्वे (यूएसजीएस) का अनुसार यसको केन्द्रमुनि करिब १० किलोमिटर गहिराइमा रहेको थियो। ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको मृत्यु भएको र अर्को तीन जना पैदलयात्री भवनको रेलिङ खस्दा मरणासन्न भयकाले ज्यान गएको बताइएको छ। यूएसजीएसका विज्ञहरूले भारत र युरेशिया प्लेटको निरन्तर सक्रियताका कारण बङ्गलादेशको उत्तर तथा दक्षिणपूर्वी भूभाग भूकम्पीय रूपमा संवेदनशील मानिने भए पनि देशको मध्य भाग तुलनात्मक रूपमा कम सक्रिय क्षेत्रमा पर्ने बताए। यसअघि कम जोखिम मानिएको क्षेत्रमै भूकम्प महसुस भएकाले यसपटकको कम्पन अझ अप्रत्याशित रूपमा अनुभव गरिएको जनाइएको छ। बङ्गलादेशी अधिकारीहरूले उद्धार तथा क्षति मूल्याङ्कनका कार्य जारी राखेका छन्। नागरिकलाई सतर्क रहन तथा सम्भावित परकम्पनप्रति सचेत हुन आग्रह गरिएको छ।

काठमाडौँ । इन्डोनेशियाको सुलावेसी द्वीपमा बुधबार बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। इन्डोनेशियाको मौसम, विज्ञान, जलवायु र भू–भौतिकी एजेन्सी (BMKG) ले भूकम्पको पुष्टि गरेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। अधिकारीहरूले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको पनि बताएका छन्। यो भूकम्प हालैका दिनमा इन्डोनेशियामा गएको दोस्रो ठूलो भूकम्प भएको बताइएको छ। इन्डोनेशिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प आउने गर्छ। गत साता मात्रै मालुकु द्वीपसमूह नजिक बान्दा सागरमा १३७ किलोमिटर गहिराइमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस भूकम्पबाट पनि ठूलो क्षति भने भएको थिएन। भूकम्पपछि स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।

दोलखा, कात्तिक १७ — दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रस्थित यलुङरी हिमालको आधार शिविर नजिक आज बिहान गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्। मृतकमध्ये एक जना विदेशी नागरिक र दुई जना नेपाली पथप्रदर्शक रहेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार आरोहणका लागि गएका १५ जना विदेशीसहित स्वदेशी पथप्रदर्शकको टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको थियो। उद्धार कार्य जारी रहेकाले बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने जनाइएको छ। गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमगेली शेर्पाले बिहानैदेखि उद्धारका लागि आग्रह गरे पनि प्रशासनबाट ढिलाइ भएको गुनासो गरेका छन्। उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्र भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धारमा समस्या भएको हो। प्रहरीका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि घटनास्थलतर्फ गइरहेका छन्। हेलिकप्टरमार्फत उद्धार प्रयास भइरहेको भए पनि प्रतिकूल मौसमका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको जनाइएको छ।

२०६४ साल चैत २६ गते त्यतिबेलाको राजनीतिक अस्थिरता र आन्दोलनको परिवेशबीच निर्मम रूपमा गरिएको ऋषि प्रसाद शर्माको हत्या आज पनि न्यायको प्रतीक्षामा छ । परिवारले सत्य र न्याय खोज्दै बिताएका १८ वर्षपछि पनि घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक हुन नसक्नुले धेरै प्रश्नहरू उब्जाएको छ । छानबिन आयोग गठन, तर प्रतिवेदन कहिल्यै सार्वजनिक भएन । २०६५ साल जेष्ठ २३ गते सरकारले घटना छानबिनका लागि विशेष आयोग गठन गरेको थियो । तर आयोगले प्रतिवेदन बुझाएको बताइए पनि आजसम्म सरकारले सो प्रतिवेदन सार्वजनिक गरेको छैन । यसले पीडित परिवार र सरोकारवालाहरूको शंका झनै प्रगाढ बनाएको छ । डन्डी प्रसाद शर्मा, जो पीडित परिवारका सदस्य तथा न्याय खोजिरहेको आवाजबाहकका रुपमा सक्रिय छन्, भन्छन् “प्रतिवेदन लुकाएर क्षतिपूर्तिका नाममा राज्यकोष लुट्ने काम भयो । मानविय क्षतिलाई बेवास्ता गरियो।” उनका अनुसार भौतिक क्षति देखाएर राहत रकम वितरण गरिएको भए पनि हत्या पीडित परिवारले भोगिरहेको मानसिक, सामाजिक र नैतिक पीडालाई राज्यले कहिल्यै प्राथमिकतामा राखेन । राजनीतिक शक्ति र ‘न्याय’ को दावी शर्माले आरोप लगाएका छन् कि घटनाका प्रत्यक्ष/अप्रत्यक्ष जिम्मेवारहरू आज पनि राज्यसत्तामा शक्तिशाली भूमिकामा छन् । “जसले हामीलाई घाउ दियो, त्यहीहरू अहिले देशलाई न्याय दिने अगुवा भनेर हिँडिरहेका छन्” उनी भन्छन् “जब सरकार परिवर्तन हुन्थ्यो, न्याय आउँछ कि? भन्ने आशा हुन्थ्यो। तर सरकार बदलिँदा पनि हाम्रो पीडा र घाउ यथावत् रह्यो ।” न्याय नपाएको परिवार, अझै पनि पीडामा परिवारले १८ वर्षदेखि न्यायिक मान्यता र सत्य उद्घाटनको प्रतीक्षा गरिरहेको छ। हत्याको कारण अझै स्पष्ट छैन । दोषी पहिचान र कारबाही प्रारम्भ भएको छैन । परिवारलाई नैतिक रूपमा सम्मानित न्याय प्राप्त भएको छैन । पीडित पक्षको प्रश्न हो— “पद-प्रतिष्ठा ठुलो? कि न्याय ठूलो?” डन्डी प्रसाद शर्माले फेसबुकमा याे प्रश्न उठाएका छन् । प्रतिवेदन सार्वजनिक गर्न माग सार्वजनिक भावनाको प्रतिनिधित्व गर्दै शर्माले सबै तहका पत्रकार, न्यायप्रेमी र सचेत नागरिकहरूलाई आवाज उठाउन आव्हान गरेका छन् । उनी भन्छन् “सत्य लुकाएर कसैलाई उच्च बनाउने होइन, पीडितलाई न्याय दिलाउनु नै राष्ट्रको कर्तव्य हो । प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्, कानुनी कारवाही सुरु होस् ।”

काठमाडौँ। देशका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिनसहितका मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग आपतकालीन बैठक डाकेका हुन्। मन्त्री घिसिङले दसैँ र तिहारका अवसरमा यातायात व्यवस्थापन सहज बनाउन र अवरुद्ध सडक तत्काल खोल्ने उद्देश्यले कार्यदल गठन गर्ने तयारी गरेको जनाइएको छ। हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर पहिरो खस्दा सडक रातभर बन्द भएको थियो। आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेपछि आवागमन थप अवरुद्ध भएको हो। हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। सम्बन्धित प्राधिकरणका अनुसार थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालनमा आउने सम्भावना रहेको छ।