
डोटी, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मंगलबार बिहान ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको हो। ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए। दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेहरू: १. अमर सिजाली मगर (३३ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी २. डम्बर थापा (४६ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी ३. भरत थापा मगर (१८ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी ४. विवस थापा मगर (१८ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी ५. जितबहादुर विक (५२ वर्ष) – जोरायल गा.पा.–१, गोगनपानी ६. रुपलाल विक (३२ वर्ष) – जोरायल गा.पा.–१, धानाकोट ७. अनिषा विक (३२ वर्ष) – जोरायल गा.पा.–१, धानाकोट ८. हर्कबहादुर थापा मगर (३५ वर्ष) – जोरायल गा.पा.–१, सपुरसानी ९. करिश्मा विक (३ वर्ष) – जोरायल गा.पा.–१, भानाकोट (अनिषा विककी छोरी) दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बाँके — बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी २२ वर्षीया युवतीमाथि संवेदनशील अङ्गमा दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापाविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ। ६३ वर्षीय थापालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित पोलिक्लिनिकमा असोज १७ गते स्वास्थ्य परीक्षणका क्रममा जबर्जस्ती संवेदनशील अङ्गमा हात हालेको आरोपमा पीडित पक्षले असोज १८ गते प्रहरीमा किटानी जाहेरी दिएको थियो। घटनापछि पीडितका आफन्त तथा स्थानीयले पोलिक्लिनिकमै पुगेर थापामाथि हातपात गरेका थिए। सो क्रममा भएको कुटपिटको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पीडितको जाहेरी तथा सामाजिक सञ्जालमा सार्वजनिक भिडिओका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार घटनासँगै थापाको उपचारसम्बन्धी योग्यता तथा महिला बिरामीको संवेदनशील परीक्षण गर्दा पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी आचारसंहिताको विषयमा समेत अनुसन्धान भइरहेको छ। जाहेरीमा थापासँग उपचारको इजाजत नभएको र महिला बिरामीको परीक्षण गर्दा आवश्यक महिला संरक्षक वा कुरुवाको उपस्थिति नगराइएको उल्लेख छ। पीडित युवती पेट दुख्ने र सेतो पानी बग्ने समस्या भएपछि उपचारका लागि पोलिक्लिनिक पुगेकी थिइन्। उपचारपछि घर फर्किएकी उनी करिब आधा घण्टापछि अभिभावकसहित पुनः क्लिनिक पुगेकी थिइन्। यसैबीच, पीडित युवतीकी रोजगारदाताले आफूलाई पनि चार वर्षअघि थापाले यस्तै किसिमको दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। आरोपित थापाले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। बिरामीले तल्लो पेट दुख्ने, गानोगोला र सेतो पानी बग्ने समस्या बताएपछि उनकै आग्रहमा शारीरिक परीक्षण मात्र गरेको र आफ्नो कुनै खराब नियत नरहेको उनको दाबी छ। प्रहरीले दुवै पक्षको बयान, सार्वजनिक भिडिओ तथा अन्य प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेका छन्। मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पठाएको छ। घाइतेमध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, ललितपुर, बाँके र सल्यानका यात्रु रहेका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न उक्त सामुदायिक वनमा गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाबारे शुक्रबार बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त भएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थलतर्फ पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। उक्त घटनाबारे हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बसलाई ठक्कर दिएको हो। दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। दुर्घटनामा सल्यान, बाँके, दाङ, मुगु र जाजरकोटका गरी ११ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १५ गते विहान १० बजेको समयमा सुर्मा गाउँपालिका–०२ दोगडीस्थित सडकमा दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परी जिप चालक सुर्मा गाउँपालिका–०४ का अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) तेजबहादुर रावलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुरुन्तै उद्धार कार्य गरेको थियो। दुर्घटना भएका बेला जिपमा चालकसहित जम्मा ३ जना सवार थिए। दुर्घटनामा परि गम्भीर घाइते भएका अन्य दुई जनाको हालसम्म नाम, थर र ठेगाना खुलेको छैन। उनीहरू दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

रौतहटको गढीमाई नगरपालिका-७ धरमपुरस्थित भित्री सडकमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक रितिक यादवको मृत्यु भएको छ । घटना २०८३ साल असोज १४ गते बिहान ९:१५ बजेको हो । घरअगाडि खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरालाई धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना ६ त ८४९२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका बालकलाई गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अस्पतालबाट खबर पाएसँगै प्रहरी चौकी धरमपुरबाट असई कृष्णमोहनप्रसाद गुप्ताको नेतृत्वमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटना गराउने ट्याक्टर घटनास्थलमै छाडेर चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको छ । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा विशेष (SOCO) टोली खटिएको छ । यसैबीच, प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको ट्याक्टर प्रहरी चौकीमा ल्याउने तयारी भइरहेको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। बसोहलीस्थित पावर प्रोजेक्टको सुरक्षामा खटिएका अभिदेश कुमार सिंहले सरकारी एके–४७ राइफलबाट गोली चलाउँदा सहायक कमान्डेन्ट अंकित कुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफिक अहमद र सन्दीप कुमारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पत्नी र बच्चालाई क्वार्टर गार्डमा प्रवेश गराउने विषयमा भएको विवादपछि अभिदेश मेस सेक्सनमा पुगेका थिए। त्यसपछि उनले त्यहाँ रहेका चार सहकर्मीमाथि गोली चलाएको बताइएको छ। प्रहरीले अभिदेशलाई नियन्त्रणमा लिएर पक्राउ गरेको छ भने घटनाबारे छानबिन अघि बढाइएको छ।

बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई पक्राउ गरिएको छ । मिति २०८३ असोज १२ गते राति १०:३० बजे जिल्ला इलाम, रोङ गाउँपालिका–०३ घर भई हाल झापा, बिर्तामोड नगरपालिका–०५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा देश भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–०५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए । रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए । उक्त घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई निज रायलाई नियन्त्रणमा लिइएको हो । घटनामा घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगि उपचार भइरहेको छ । उक्त घटनामा संलग्न दिलिप चन्द्र रायलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

डडेलधुरा– जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत एक प्रहरी जवान अमरगढी नगरपालिका–५ स्थित जंगलमा मृत फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। प्रहरीका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर श्रीमतीलाई पठाएका थिए। श्रीमतीले प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा बोहरा मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।