
काठमाडौं। काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा भएको करिब २ करोड ९१ लाख रुपैयाँ बराबरको औषधि हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा कदम चालेको छ। अस्पतालको औषधि व्यवस्थापनमा चरम लापरबाही गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा आयोगले फार्मेसीका चार युनिट इन्चार्जसहित आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अनुसन्धानबाट उनीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा नआएको औषधिको नक्कली बिल पास गराउने, म्याद गुज्रिएका औषधि व्यवस्थापन गर्न आलटाल गर्ने र कम्प्युटर प्रणालीमा गलत विवरण राखी राज्यको ढुकुटीमा नोक्सानी पुर्याएको तथ्य बाहिरिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको अनियमितता र अस्पतालको आन्तरिक समितिले गरेको छानबिनका आधारमा उनीहरूलाई बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ। अस्पताल प्रशासनको फार्मेसी सेवा निर्देशिकालाई समेत बेवास्ता गर्दै गरिएको यो आर्थिक अनियमितताले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमाथिको विश्वासमा गम्भीर प्रश्न खडा गरेको छ। स्टोरमा म्याद नाघेका औषधि थन्क्याएर आपूर्तिकर्ताको धरौटी रकमसमेत फिर्ता गराउने कार्यमा संलग्न यी कर्मचारीहरूविरुद्धको मुद्दाले सार्वजनिक संस्थामा हुने भ्रष्टाचारप्रति अख्तियारको शून्य सहनशीलतालाई पुनः पुष्टि गरेको छ।

नेपालमा रासायनिक मलको चरम अभावका कारण सीमावर्ती क्षेत्रका किसानहरू मारमा परेका छन्। हालै भारतीय बजार सोनवर्षाबाट आफ्नो खेतमा प्रयोग गर्नका लागि थोरै परिमाणमा मल लिएर घर फर्किँदै गरेका सर्लाहीको बलरा नगरपालिका–५ का दुई स्थानीय बासिन्दा नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी तस्करीको आरोपमा मुद्दा चलाएको छ। यद्यपि, स्थानीय वडाध्यक्ष मनोजमोहन कुमार सिंहका अनुसार पक्राउ परेका दुवै व्यक्ति तस्कर नभई मलको हाहाकारले गर्दा बाध्य भएर घरायसी प्रयोजनका लागि मल ल्याइरहेका साधारण किसान हुन्। सरकारी निकायबाट किसानले समयमै मल नपाउँदा उनीहरू कानुनी झमेलामा फस्नुपरेको भन्दै स्थानीय स्तरमा आक्रोश बढेको छ। हाल उनीहरूविरुद्धको अदालती प्रक्रिया जारी रहेको र उनीहरू छिट्टै धरौटीमा छुट्ने सम्भावना रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले जानकारी दिएका छन्।

दिलिप कंडेल, चौकुने । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा शनिबार चौकुने गाउँपालिका–८ स्थित गुटु बिशाल बजारक्षेत्र र धामिडाँडा सहिद स्मृति पार्क क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बिरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उप- समितिका संयोजक मानबहादुर श्रेष्ठको संयोजन तथा बिरेन्द्रनगर सहकारी संस्थाका कर्मचारी, सञ्चालक, शेयर सदस्य, वडा न .७ का वडा अध्यक्ष धनिराम धमाला , जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली ,ईलाका प्रहरी कार्यलय गुटका प्रमुख ,सशस्त्र प्रहरी वेस नेपालका कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूले धामिडाँडा सहिद स्मृति पार्क तथा आसपासको क्षेत्रको सरसफाइ गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, स्वच्छ वातावरण निर्माण र सामाजिक उत्तरदायित्वप्रति सबैलाई जागरुक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए। बिरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था गुटु केन्द्रका शाखा प्रमुख पुश्कल धमालाले २५औँ स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजप्रति उत्तरदायी संस्थाको रूपमा सरसफाइजस्ता सामाजिक अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनहरूमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी सहकारीका शाखा प्रमुख पुश्कल धमालाले जानकारी दिनुभएको छ ।

दुर्गम जुम्लाको एकान्तमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. आशिष प्याकुरेलले देखेको एउटा दृश्यले नेपाली स्वास्थ्य क्षेत्रको वास्तविक तस्बिर उदाङ्गो पारेको छ। कक्षा ९ मा पढ्ने एक किशोरीले आफू गर्भवती भएको भन्दै आइरन चक्की माग्दा डाक्टर स्तब्ध भए। समाजमा व्याप्त बालविवाह र चेतनाको अभावले कसरी भविष्यका कर्णधारहरू नै किशोरावस्थामै आमा बन्न बाध्य छन् भन्ने यो एउटा प्रतिनिधि घटना मात्र हो। जुम्लाजस्ता दुर्गम भेगमा स्वास्थ्य सेवाको पहुँच मात्र होइन, शिक्षा, सामाजिक कुरीति र गरिबीको दुष्चक्रले मानिसहरूको जीवनलाई निकै कठिन बनाइदिएको छ। डा. प्याकुरेलका अनुसार अस्पतालमा बिरामी आउँदा सामान्य सिटामोल र मलमसमेत नहुने अवस्थाले स्वास्थ्य प्रणालीको कमजोर धरातललाई झल्काउँछ। केही समयअघि मात्रै सुत्केरी महिलालाई सामाजिक मान्यताका कारण घरभित्र पस्न नदिई गोठमा राख्ने र घाउ निको पार्न तेल तताएर पोल्ने जस्ता अन्धविश्वासले अझै पनि समाजको गहिरो जरो गाडेर बसेको छ। आधुनिक युगमा विश्व अन्तरिक्षसम्म पुगिसक्दा पनि हाम्रा गाउँघरका भुइँमान्छेहरू भने अझै पनि आधारभूत स्वास्थ्य अधिकार र मानवीय व्यवहारबाट वञ्चित हुनु विडम्बनापूर्ण छ। दुर्गमका यी पीडाहरू केवल कागजी तथ्यांकमा मात्र सीमित नभई समाजमै रहेका यथार्थ हुन्, जसलाई अब केवल भाषणले होइन, व्यावहारिक परिवर्तनले मात्र सुधार्न सकिन्छ।

काठमाडौं । सुकुमबासी बस्तीबाट विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरेको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरूले बताएका छन्। परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई अस्पताल लगिएको थियो। वीर अस्पतालका अनुसार सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेका दर्जीको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो। दर्जी सुकुमबासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। उनको निधनपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६ का वडा अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खडक विवस बास्पाने प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। यस्तै स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डे, रोजगार शाखा संयोजक कमल कृष्ण जैसी तथा स्वास्थ्य सेवा व्यवस्थापन समिति सदस्य ललित जंग बिष्ट विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खडक विवस बास्पानेले चौकुने गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै स्थानीय नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। “स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता हो, त्यसैले गाउँपालिकाले स्वास्थ्य संस्थाको पूर्वाधार विकाससँगै सेवा विस्तारमा पनि निरन्तर ध्यान दिइरहेको ,” उहाँले बताउनुभयो। उहाँले आगामी दिनमा स्वास्थ्यकर्मी व्यवस्थापन, आवश्यक औषधि तथा उपकरणको उपलब्धतामा समेत गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।कार्यक्रममा उपस्थित वक्ताहरूले नवनिर्मित भवनले स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन सहज हुने विश्वास व्यक्त गरेका थिए। भने कार्यक्रम सञ्चालन आधारभुत स्वास्थ्य केन्द्र साल्मका संस्था प्रमुख बिरेन्द्र बयकले गर्नुभएको थियो।

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो। कार्यक्रम याम बहादुर बी.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा लालबिर भण्डारीको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरी, वडा नं. ३ का वडा अध्यक्ष बल बहादुर रोकाय, वडा नं. १० का वडा अध्यक्ष हरि प्रसाद ढकाल, प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका कार्यालय प्रमुख डा. आभासचन्द्र कटुवाल तथा प्रहरी चौकी सालकोटका इन्चार्ज तीर्थ अधिकारी लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. आभासचन्द्र कटुवालले स्वास्थ्य केन्द्रले प्रदान गर्दै आएका सेवाहरूको बारेमा जानकारी गराउँदै नयाँ सुरु गरिएको आँखा उपचार सेवाले स्थानीयवासीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, प्रमुख अतिथि लालबिर भण्डारीले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको विस्तार हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले विगतमा सामान्य आँखा समस्या उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब स्थानीय स्तरमै सेवा उपलब्ध हुनुले समय र खर्च दुवैको बचत हुने बताउनुभयो। साथै, यस्तो सेवा निरन्तर, गुणस्तरीय र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य भएमा यस्ता सेवाहरू अझै सुदृढ र दीगो बनाउन सकिने धारणा राख्नुभयो। अन्त्यमा, यस सेवाबाट अधिकतम लाभ लिन स्थानीयवासीलाई समयमै स्वास्थ्य जाँच गराउन आग्रह समेत गर्नुभयो। कार्यक्रमको सञ्चालन वरिष्ठ जनस्वास्थ्य निरीक्षक राजेन्द्र अधिकारीले गर्नुभएको थियो।

बाजुरा — बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिला र उनका नवजात शिशुको उपचारका क्रममा निधन भएको छ। बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनका शिशुको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। परिवारका अनुसार, मुटु रोगबाट पीडित सुरतालाई चिकित्सकले दोस्रो सन्तान नजन्माउन सुझाव दिएका थिए। तर पुनः गर्भवती बनेपछि गर्भावस्थाको अन्तिम चरणमा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। गाउँमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले आमा र शिशु दुवैलाई बचाउन प्रयास गरे पनि सफल हुन सकेनन्। दुर्गम क्षेत्रमा समयमै स्वास्थ्य सेवा नपुग्दा यस्ता दुःखद घटना दोहोरिने गरेको भन्दै स्थानीयले स्वास्थ्य सेवामा सुधारको आवश्यकता औंल्याएका छन्।

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा निधन भएको हो। सुत्केरी भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि विभिन्न प्रयास गरिएको थियो। परिवारका अनुसार अस्मिताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बच्चा जन्माएकी थिइन्। सुत्केरीपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचार आवश्यक परेको थियो। अवस्था जटिल भएपछि बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई सुर्खेत लगिएको थियो। प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेका बेला उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्य अवस्था गम्भीर बनेपछि तत्काल उद्धार गरी उपचारका लागि ल्याइएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन नसकेको अस्पतालले जनाएको छ।

सुर्खेत — कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा सञ्चालनमा आएको छ। बुधवार यस अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले हार्दिक स्वागत व्यक्त गर्दै उक्त सेवाले कर्णाली प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरेको छ। अस्पतालको उद्घाटन समारोहमा सुर्खेत उद्योग वाणिज्य संघको संस्थागत सहभागिता समेत रहेको थियो।

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । कार्यक्रमका सभाअध्यक्ष चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले अपाङ्गता भएका व्यक्तिहरूको समयमै स्वास्थ्य परीक्षण र आवश्यक सेवा पहिचान गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस प्रकारका शिविरले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, पुनःस्थापना र समावेशी विकासका लागि गाउँपालिका निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो। उहाँले आई.एन.एफ. नेपालसँगको सहकार्य आगामी दिनमा अझ प्रभावकारी बनाइने पनि बताउनुभयो। त्यसैगरी विशेष अतिथिहरू प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क र चौकुने गाउँपालिका सामाजिक विकास संयोजक कमल जी.सी.ले अपाङ्गता भएक नागरिकहरूको आवश्यकता पहिचान गरी उचित सेवा तथा सहयोग उपलब्ध गराउन यस्तो कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो। शिविरमार्फत स्थानीय अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक सहयोग, परामर्श तथा सेवा पहिचान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन आई.एन.एफ. सुर्खेतका कर्मचारी उदय हमालले गर्नुभएको थियो।

पञ्चपुरी। सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हिजाेदेखि पोस्टमार्टम सेवा औपचारिक रूपमा सुरु भएको छ। पश्चिम क्षेत्रका नागरिकहरूका लागि महत्वपूर्ण मानिने यस सेवाको उद्घाटन पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबिर भण्डारीले गर्नुभएको हो। लामो समयदेखि पोस्टमार्टम सेवाका लागि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर वा अन्य ठूला अस्पताल धाउनुपर्ने बाध्यता अब अन्त्य भएको नगरप्रमुख भण्डारीले बताउनुभयो। उहाँका अनुसार सालकोटमै सेवा सुरु भएसँगै समय, खर्च र मानसिक तनाव कम हुने विश्वास गरिएको छ। यसअघि पोस्टमार्टमका लागि टाढा जानुपर्दा सेवाग्राही तथा मृतकका आफन्तले ठूलो समस्या भोग्दै आएका थिए। अब पञ्चपुरी नगरपालिकासहित आसपासका स्थानीय तहका नागरिकले सहज रूपमा सेवा लिन सक्ने स्वास्थ्य केन्द्रले जनाएको छ ।स्थानीयवासीहरूले पोस्टमार्टम सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले न्यायिक प्रक्रिया, स्वास्थ्य सेवा तथा प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने बताएका छन्।

डोल्पा — डोल्पाकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आइतबार डोल्पोबुद्ध–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्याइएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो। दुर्गम क्षेत्रका गर्भवती महिलालाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले मातृ तथा नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको सेनाले जनाएको छ।

सुर्खेत। चौकुने गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अ न मि दिपा खत्रीको अचानक मृत्यु भएपछि सुर्खेतको चौकुने गाउँपालिकाले एक दिन शोक बिदा दिएको छ । पालिका अन्तर्गतका कार्यालय तथा संघसंस्थामा मौनधारणसहित शोक मनाउन पुस ३ गते ( बिहिवार ) शोक बिदा दिने पालिकाले जनाएको छ । ‘कुशल, कर्तव्यनिष्ट, होनहार राष्ट्रसेवक स्वास्थ्यकर्मी गुमाउँदा चौकुने गाउँ पालिकालाई अपूरणीय क्षति भएको छ,’ पालिकाले सूचना जारी गर्दै भनेको छ, ‘दुःखद् घडीमा सिंगो पालिका परिवार स्वर्गीय खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार, आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

मुगु। मुगु जिल्लाको सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरीपछिको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान घरमै छोरा जन्माएकी बुढाको सालनाल नझरेपछि उनलाई सीप प्रसूति केन्द्र लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल पुर्याइएका बुढाको बिहीबार बिहान ३ बजे उपचारका क्रममा निधन भएको हो। जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा तत्काल रगत अभाव भएकाले जटिलता बढेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। पछि युवाहरूले रगत उपलब्ध गराए पनि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारीमै उनको मृत्यु भएको हो।