
काठमाडौँ। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावका कारण देशका विभिन्न भागमा अहिले मिश्रित मौसम देखिएको छ।
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ।
यसैबीच, पहाडमा पानी परिरहँदा तराईका क्षेत्रमा भने अत्यधिक गर्मी बढ्ने देखिएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो हावा (लू) चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ।
आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली भए पनि बाँकी तराईका भूभागहरूमा भने मौसम मुख्यतया सफा रहनेछ।



