
काठमाडौं । आज देशका विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ।
हाल देशभर अधिकांश भू–भागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुनसक्ने जनाइएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थान तथा कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।



