
असोज १५ गते विहान १० बजेको समयमा सुर्मा गाउँपालिका–०२ दोगडीस्थित सडकमा दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा परी जिप चालक सुर्मा गाउँपालिका–०४ का अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) तेजबहादुर रावलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुरुन्तै उद्धार कार्य गरेको थियो। दुर्घटना भएका बेला जिपमा चालकसहित जम्मा ३ जना सवार थिए।
दुर्घटनामा परि गम्भीर घाइते भएका अन्य दुई जनाको हालसम्म नाम, थर र ठेगाना खुलेको छैन। उनीहरू दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

