
जाजरकोट। जाजरकोटमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ। साउनदेखि असोजसम्म तीन महिनामा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गरिएको परीक्षणबाट १२२ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उक्त अवधिमा ४०४ जना शङ्कास्पद बिरामीको परीक्षण गरिएको थियो। साउनमा १९, भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
सबैभन्दा धेरै संक्रमित नलगाड नगरपालिकामा भेटिएका छन्। त्यहाँ २०३ जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, जिल्ला अस्पताल जाजरकोटमा १९३ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ।
छेडागाड नगरपालिकामा आठ जनाको परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा हाल दुई जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेको जनाइएको छ। संक्रमण बढेपछि स्वास्थ्य संस्थालाई परीक्षण तथा उपचारका लागि तयारी अवस्थामा राखिएको छ।



