
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको अर्गानिक स्याउ बाँडेर सुरु भएको छ। बिहीबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई स्याउ वितरण गर्दै बैठकको सुरुवात गरेका हुन्।
सभापति लामिछानेको अध्यक्षतामा बसेको बैठकमा आगामी राजनीतिक अभियान, स्थानीय तहको निर्वाचन, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने, विभिन्न विभागलाई पूर्णता दिन विभागीय प्रमुख तथा उपप्रमुख नियुक्त गर्ने विषय एजेन्डामा छन्।
त्यस्तै, रास्वपाले देशव्यापी रूपमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियानको मोडालिटीबारे पनि बैठकमा छलफल हुँदैछ। बैठकमा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट प्रस्तुत गर्नुका साथै समसामयिक राजनीतिक घटनाक्रम र विविध विषयमा समेत छलफल भइरहेको जनाइएको छ।



