
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (ISPAN) ले आगामी असोज १९ गते सोमबारदेखि बजारमा उपलब्ध गराउँदै आएका सुपथ मूल्यका तथा कम स्पिडका इन्टरनेट प्याकेजहरू बिक्री-वितरण गर्न नसकिने जनाएको छ।
सङ्घका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विश्वव्यापी रूपमा चुलिएको इन्धनको मूल्य, फाइबर तथा इलेक्ट्रोनिक चिपसेटको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण सेवा प्रदायकहरूको सञ्चालन खर्च धान्न धौ-धौ परेकाले यस्तो निर्णय लिनुपरेको हो। विगत १२ वर्षमा फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा नेपाल दक्षिण एसियामै अगाडि रहन सफल भएको उल्लेख गर्दै ISPAN ले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।
साथै, सम्पूर्ण सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेटअनुसारका प्याकेज मात्र वेबसाइटमा राख्न र ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन समेत अनुरोध गरिएको छ।



