
सल्यान — हावाहुरीले ढालेका बिजुलीका पोल र चुडिएका तार समयमै मर्मत हुन नसक्दा सल्यानका दुई पालिकाका तीन वडाका दर्जनौँ बस्ती १० दिनदेखि अन्धकारमा छन्।
गत असोज १० गते साँझ आएको भीषण हावाहुरीले कपुरकोट गाउँपालिका–५ र ६ तथा शारदा नगरपालिका–१० का विभिन्न ठाउँमा विद्युत्का पोल ढाल्नुका साथै तार चुँडाएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा १ हजार १ सय ७० घरधुरी प्रभावित भएका छन्।
विद्युत् नहुँदा खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षा तथा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित भएका छन्। मोबाइल चार्ज गर्नसमेत समस्या भएपछि स्थानीय राति सौर्य टुकी, लालटिन र झर्रोको भर पर्न बाध्य छन्।
कपुरकोट–५ का करिब ३ सय, वडा नम्बर ६ का ७ सय ५० र शारदा–१० का १ सय २० घरधुरी विद्युत् सेवाबाट वञ्चित रहेको जनाइएको छ।



