
कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बसलाई ठक्कर दिएको हो।
दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
दुर्घटनामा सल्यान, बाँके, दाङ, मुगु र जाजरकोटका गरी ११ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

