
सुर्खेत — आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुरु भएको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित निकायका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता छ।
बैठकमा प्रतियोगिताको समग्र तयारी, खेल पूर्वाधार, खेलस्थल, खेलाडी तथा खेल पदाधिकारीको आवास र व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ। प्रतियोगिता सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि खेलस्थल र आवास व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएका छन्। यसअघि प्रतियोगिताको मिति पटक–पटक सर्दै आएको भए पनि पछिल्लो तयारीअनुसार मंसिरमा प्रतियोगिता सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ।
राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनको तयारी अघि बढाइरहेका छन्।



