
काठमाडौँ– सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने कर्णालीका ६ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कर्णाली राजमार्ग, नाग्म–गमगडी तथा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिका लागि विभिन्न आर्थिक वर्षमा सम्झौता गरेका निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सडक डिभिजन कार्यालय जुम्लाले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
सडक डिभिजन कार्यालयका अनुसार विनम्र निर्माण सेवा, सुर्खेतलाई ३ वर्ष, ध्रुव निर्माण सेवा, वीरेन्द्रनगरलाई २ वर्ष र अविनाश निर्माण सेवा, छायानाथ रारा, मुगुलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यस्तै, शङ्करमाली निर्माण सेवा, काठमाडौँ र मान शाही निर्माण सेवा, कालीकोटलाई ३/३ वर्ष तथा कश्यप निर्माण सेवा, काठमाडौँलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।
शङ्करमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला–मनाङ–मुस्ताङ सडकको सम्झौताअनुसार काम नगरेको जनाइएको छ। अन्य निर्माण कम्पनी कर्णाली राजमार्गअन्तर्गत कालीकोट क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगरेका कारण कारबाहीमा परेका हुन्।
कालोसूचीमा परेका निर्माण कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।



