
काठमाडौँ । रसुवामा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गरेको जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगले रसुवाका बाढीपहिरो प्रभावितका लागि सञ्चालन भइरहेका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
भायानेटले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



