
काठमाडौं । सरकारले गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण गर्न ७५ हजार रुपैयाँसम्म आवास अनुदान दिने प्रस्ताव गरेको छ।
पूर्वाधार विकास मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको भवन ऐन, २०८३ को विधेयकमा संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्डअनुसार घर बनाउन आवश्यक नदीजन्य तथा प्राकृतिक निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि समेत आवश्यक प्राकृतिक सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। मध्यम आय भएका नागरिकका लागि भूकम्पप्रतिरोधी तथा आधारभूत मापदण्ड पूरा भएका घर निर्माण गरी सहुलियतपूर्ण ऋणमार्फत उपलब्ध गराउने योजना विधेयकमा समेटिएको छ।
विधेयकमा २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागतका ९ सयदेखि १ हजार ३ सय वर्गफिटसम्मका घर निर्माण गर्ने योजना उल्लेख छ।



