
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार आज बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
यस्तै, बिहीबार र शुक्रबार पनि लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी तथा तराई भू–भाग र बागमती, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षाका कारण पहाडी तथा नदी तटीय क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



