
काठमाडौँ । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकमा बहुविवाह गर्ने तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) वा ग्रिन कार्ड लिएका व्यक्तिलाई निजामती सेवामा प्रवेश गर्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ।
विधेयकको दफा १८ मा बहुविवाह गर्ने र विदेशी पीआर वा ग्रिन कार्ड लिएका व्यक्तिलाई निजामती सेवाका लागि अयोग्य मानिने व्यवस्था गरिएको हो। त्यस्तै, भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राष्ट्रहितविरुद्धको कसुर, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, जबर्जस्ती करणी तथा जातीय छुवाछूत र भेदभावलगायत कसुरमा अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पनि निजामती सेवामा प्रवेश नदिने प्रस्ताव गरिएको छ।
सरकारी सेवाबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त भएका व्यक्ति तथा नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत निजामती सेवामा प्रवेशमा रोक लगाउने व्यवस्था विधेयकमा राखिएको छ।
विधेयकले राजपत्र अनङ्कित पदका लागि १८ वर्ष र राजपत्राङ्कित पदका लागि २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। सामान्यतः पुरुषका लागि ३५ र महिलाका लागि ४० वर्ष उमेर हद तोकिएको छ भने पूर्वसैनिक तथा प्रहरी, निश्चित तहका अधिकृत र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै उमेर हद प्रस्ताव गरिएको छ।



