
बाराको जितपुर-सिमरा उपमहानगरपालिका-८, इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित एक कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज १६ गते बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याएको थियो।
कार चेकजाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न कार चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङ पक्राउ परेका छन्।
नियन्त्रणमा लिइएको कार, बरामद गाँजा र चालकलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


