
भोजपुर, २० असोज । भोजपुरको हतुवागढी गाउँपालिकाबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट २४४ किलो ७७० ग्राम (६ बोरा) गाँजासहित आमचोक गाउँपालिका–७ बस्ने १९ वर्षीय एकराज मगर पक्राउ परेका हुन्।
मंगलबार बिहान ३:३० बजेको समयमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट गाँजाका साथै को. प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र एक थान मोबाइल समेत बरामद गरेको छ।
बरामद गरिएको गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।



