
विराटनगर– तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–६ सरोचियास्थित एक घरमा सोमबार राति प्रहरी पुगेपछि भाग्ने क्रममा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला सामान्य घाइते भएका थिए।
प्रहरीले कोइरालासहित आठ जनालाई नियन्त्रणमा लिएको थियो। हिरासतमा रहेका कोइराला मंगलबार बिहान अचेत अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेका हुन्।
भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाले घरको दोस्रो तलाबाट हामफाल्दा दाहिने खुट्टा भाँचिएको छ। उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



