
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउने प्रलोभन देखाइ ठगी गरेको अभियोगमा ‘न्यु सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भइ हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने २८ वर्षीय गणेश पाण्डे रहेका छन्। कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भन्दै रकम लिएर २ वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोमार्फत उनले कारबाहीका लागि प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष माग गरेकी थिइन्।
भिडियो सार्वजनिक भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले पाण्डेलाई २०८३ असोज २० गते काठमाडौँको रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेका पाण्डेमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ।



