
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुर्वनारायण मानन्धरसँग सोधपुछ गरेको छ । ठगी कसुरमा सिआइबीले उनीसँग अघिल्लो साताको बिहिबार सोधपुछ गरेको हो ।
स्रोतका अनुसार उनलाई वडा कार्यालयबाट सिआइबीको टोलीले लगेको थियो । ‘सिआइबीको टोली बिहिबार कार्यालय आएको थियो । अनि उहाँलाई सोधपुछको लागि भन्दै लिएर गयो’,स्रोतले भन्यो ।
वडाका छैठौं तहका अधिकृत सुजनकुमार झाका अनुसार वडाध्यक्ष कार्यालय आएका छैनन् । ‘उहाँ बिरामी हुनुहुन्छ,त्यसैले वडा आउनुभएको छैन’,उनले भने ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपसमशेर जबराले उनलाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ठगी कसुरमा सोधपुछ गरिएको र त्यसपछि परिवारको जिम्मा लगाइएको उनले बताए । जनआस्थासँग भने,‘उहाँलाई ठगी कसुरमा सोधपुछ गर्न ल्याइएको थियो । सोधपुछ गरेर परिवारको जिम्मा लगाइसकेका छौं ।’
जनआस्थाले सोबारे बुझ्नका निम्ति वडाध्यक्ष मानन्धरलाई पनि सम्पर्क गरेकोमा हुन सकेन । वडाका छैठौं तहका अधिकृत सुजनकुमार झाका अनुसार वडाध्यक्ष कार्यालय आएका छैनन् । ‘उहाँ बिरामी हुनुहुन्छ,त्यसैले वडा आउनुभएको छैन’,उनले भने ।
वडाध्यक्षलाई सिआइबीले लगेकोबारे आफूलाई जानकारी नरहेको उनले बताए ।



