
कञ्चनपुर– महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्काएको छ। बुधबार बिहान करिब ८ बजे आएको बाढीले पुलको बीच भागमा रहेको पिलर बगाएपछि पुलको ठूलो हिस्सा नदीमा खसेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फको छैटौँ र दोधारा–चाँदनीतर्फको तेस्रो नम्बरको पिलरमा क्षति पुगेको छ। पिलर भत्किएसँगै पुलको संरचनामा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
पुल भत्किएपछि दोधारा–चाँदनी र भीमदत्त क्षेत्रबीचको आवतजावत प्रभावित भएको छ। सुरक्षाकर्मीले घटनास्थलको निरीक्षण गरी अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।



