
चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा गएराति एउटा दर्दनाक घटना भएको छ। जङ्गली हात्तीको आक्रमणबाट २५ वर्षीया आमा आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै ज्यान गएको हो। रातिको समयमा घरभित्रै सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा यो दुखद घटना घटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हात्तीलाई धपाउने प्रयासमा आशिकाका श्रीमान् पूर्णले बालेको आगोका कारण उनीहरूको कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीय बासिन्दा र प्रहरीको तत्परतामा आगो नियन्त्रणमा लिइए पनि आमाछोरालाई बचाउन सकिएन। पछिल्लो समय चितवनका विभिन्न क्षेत्रमा जङ्गली जनावरको त्रास बढ्दै जाँदा स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्।



