
सुर्खेत, २० श्रावण — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटला चोक नजिक भित्री सडकमा दुई अटो एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
सोमबार राति करिब ११ बजे पिपिराबाट नेवारेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १२२४ नम्बरको अटो ठोक्किएका हुन्।
दुर्घटनामा वीरेन्द्रनगर–१३ का करिब २० वर्षीय गगन ठाडा घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्को अटोमा सवार दुई जना सामान्य घाइते भए पनि उपचार नगराई गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ।
प्रहरीले एक अटो चालक धनवीर गाहामगरसहित दुवै अटोलाई नियन्त्रणमा लिएको छ। अर्को अटोका चालक भने दुर्घटनापछि फरार रहेकाले खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।



