
सुर्खेत, साउन १८— सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
वीरेन्द्रनगर नगरपालिका–२ स्थित उत्तरगंगा मन्दिर नजिक सोमबार बिहान करिब ५:४५ बजे मूलपानी चोकबाट फलाटेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४८७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक कालिकोटको महावै गाउँपालिका–४ घर भई हाल वीरेन्द्रनगर–१० रहलपुर बस्ने २४ वर्षीय समीर सिंह गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारपछि कर्णाली प्रदेश अस्पताल, कालागाउँमा रेफर गरिएको छ। अस्पतालमा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी सहायक निरीक्षक शिव मैनालीको नेतृत्वमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



