
दैलेख। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा फोर्स गाडी कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी कार्य भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आइतबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय नागरिकको संयुक्त टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ। कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीका अनुसार हालसम्म प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, यात्रु सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको खुलेको छ।
दुर्घटनामा परी कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी जेखे तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परिवारलाई जिम्मा लगाइएको छ।
सवारी साधनमा यीबाहेक अन्य यात्रु पनि सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिएका छन्। सम्भावित स्थान, नदी किनार तथा अन्य जिल्लाका क्षेत्रमा समेत संयुक्त टोलीद्वारा खोजतलास कार्य निरन्तर भइरहेकाे रहेको प्रहरीले जनाएको छ।



