
जनकपुर, साउन १७ — गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच भएको वार्तापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ।
जनकपुरधाममा करिब डेढ घण्टा चलेको वार्तामा हिन्दू सम्राट सेनाले आफ्नो १३ बुँदे मागमा थप ६ बुँदा समेटेर १९ बुँदे प्रस्ताव सरकारलाई बुझाएको जनाएको छ। सरकारका तर्फबाट ती मागहरूलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने समझदारी भएको बताइएको छ।
वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा गोली चलेको घटनाको छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको हिन्दू सम्राट सेनाले जनाएको छ।
सरकारबाट माग सम्बोधन हुने आश्वासन पाएपछि हिन्दू सम्राट सेनाले सबै आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको छ। सहमतिको विस्तृत विवरण र कार्यान्वयनको समयसीमाबारे भने सरकारको औपचारिक जानकारी आउन बाँकी छ।



