अमेरिका पलायन भएकी नन्दिता काठमाडौंमा, बिहेको लागि राखिन् यस्ता सर्त

काठमाडौं । लामो समय अमेरिका बसेर गुमनाम भएकी अभिनेत्री नन्दिता केसी अहिले बहिनीको विवाहको लागि स्वदेश फर्किएकी छन् ।

आइतबार बेलुका अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीको विवाहको रिसेप्सन पार्टीमा उनी आकर्षण बनिन् । सारीमा सजिएकी उनको मुहारमा पहिलेजस्तो चमक चाहिं देखिएन ।

अहिलेसम्म अविवाहित नन्दितालाई बिहे समारोहमा आफ्नै बिहेको प्रश्नले पछ्याउनु स्वभाविक नै थियो । उनलाई बिहे कहिले गर्ने भन्ने प्रश्न सोधियो र उनले यसको जिम्मा ‘समय’लाई छाडिदिइन् ।

‘लगन नजुरेको भएकाले होला । बिहेको कुरा आइरहेको पनि छ,’ उनी भन्छिन्, ‘पहिल्यै बिहे भएको भए हुने रैछ । यो समयमा आएर अलि व्यावहारिक भइसकियो । धेरै कुराहरु चित्त नबुझ्ने कस्तो कस्तो हुँदो रहेछ ।’

बिहेको लागि नन्दिताको लागि आधारभूत सर्त के हो ? उनलाई लाग्छ, ‘धन-सम्पत्तिभन्दा एकअर्कामा मनको कनेक्सन हुनु जरुरी छ । विश्वास र कनेक्स धेरै महत्वपूणर् हो जस्तो लाग्छ ।’

अनि बिहे कहिले त ? उनको कूटनीतिक उत्तर छ, ‘म लगन अर्थात् समयलाई पनि विश्वास गर्छु ।’

बहिनीको बिहे गराउन नेपाल आएकी नन्दिता विवाह समारोह हेरेर आफू आत्तिएको बताइन् । ‘म त बहिनीको बिहे देखेर त भागेर बिहे गर्छु जस्तो लाग्न थाल्यो । निकै हेक्टिक हुने रैछ । सानो सानो कुरामा ध्यान दिनुपर्ने । यो नै गर्छु भन्ने थाहा छैन । समयले कस्तो परिस्थिति ल्याउँछ । त्यसलाई नै फलो गर्छु होला,’ उनले सुनाइन् ।

नन्दिता अभिनित पछिल्लो फिल्म ‘चंखे शंखे पंखे’ सन् २०१५ मा रिलिज भएको थियो ।