दुर्घटनाबाट झापामा दुईजनाको मृत्यु


झापाको कनकाई र भद्रपुरमा दुर्घटनाबाट २ जनको मृत्यु भएको छ। बुधबार राति कनकाई-३ सुरुङ्गा पुलस्थित बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक बिर्तामोड-७ का ३८ वर्षीय तेजमणि खरेल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल लिईसक्दा उनलाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । सोही मोटरसाइकलमा पछाडि बसेका मेचीनगर-१० का २९ वर्षीय प्रसन्न दनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति नै भद्रपुर नगरपालिका-८ नमूना टोलस्थित चन्द्रगढी-भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा ८० बर्षिया महिला घाईते भएकी थिईन् । बृद्धाको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । मोटरसाइकल चालक भद्रपुर- ८ का ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थप विवरणको अनुसन्धान भईरहेको छ ।